• १४ असार २०८१, शुक्रबार

वृद्धबवृद्धाको सारथि बन्दै तिलागुफा नगरपालिका

blog

गाउँमै पुगेर वृद्धवृद्धालाई सुरक्षा भत्ता प्रदान गर्दै तिलागुफा नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्याय र उपप्रमुख महेन्द्रबहादुर शाही । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, माघ १८ गते । कालीकोटको तिलागुफा नगरपालिकाले वृद्धवृद्धाको सारथि बनेको छ । नगरपालिका प्रमुख र उपप्रमुख आफै बस्तीमा पुगेर वृद्धवृद्धा तथा अपाङ्गता भएका ब्यक्तिका समस्याबारेमा जानकारी लिनेगरेका छन् । नगरपालिकाले ७० वर्ष पुगेका वृद्धवृद्धालाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । 

७० वर्ष नाघेका वृद्धवृद्धा बैंकसम्म पुग्न नसक्ने भएकाले उनीहरुलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले नगरप्रमुखसहित नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी, वडासचिव र केही नगरपालिकामा कार्यरत कर्मचारीले एक वडामा एक दिनको समय लगाएर ७० वर्षमाथिका वृद्धवृद्धाका साथै (क) र (ख) वर्गका अपाङ्गता भएका ब्यक्तिलाई भत्ता वितरण गर्न थालिएको बताउनुभयो । नगरको वडा ७ बाट एकीकृत सेवा सुरु गरेको उहाँले सुनाउनुभयो । 

साविकको कर्णालीका वृद्धवृद्धाले ६० वर्षको उमेरदेखि सामाजिक सुरक्षा भत्ता पाउँदैआएका छन् । ६० बर्षदेखि ६९ वर्ष उमेर समूहका नागरिक भने नगरपालिकाभित्र रहेको बैंकमा पुगेर भत्ता लिनेगरेका छन् । ७० वर्ष नाघेका वृद्धवृद्धालाई आउजाउ गर्न समस्या भएकाले गाउँमै आएर सेवा दिन थालिएकोे नागरपालिकाले जनाएको छ । उपप्रमुख शाहीले सरकारले आर्थिक पारदर्शिताका लागि सबै सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्तिको बैंकखाता खोलेको र उहाँहरुकै खातामा भत्ता जम्मा हुनेगरेको सुनाउनुभयो । समस्यामा परेका वृद्धवृद्धा र अपाङ्गता भएका ब्यक्तिका हकमा भने नगरपालिका र बैक केही हदसम्म व्यावहारिक भएर गाउँमै पुगेर नगद प्रदान गर्न थालेको सुनाउनुभयो । 

नगरपालिका प्रमुख शङ्कर उपाध्यायले नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार ७० वर्षमाथिका नागरिकलाई बैंक जान नपर्ने गरी गाउँमै पुगेर सेवा दिनेगरेको सुनाउनुभयो । नगरप्रमुख उपाध्यायले सेवाग्राहीसँग भएको चेक बैंकका कर्मचारीले लिने त्यही वराबरको नगद वितरण गर्नेगरेको सुनाउनुभयो । भत्ताका लागि एक दिनको पैदलयात्रा गरेर बैंक जानुपर्ने बाध्यता टरेको भन्दै खुशी व्यक्त गरेका छन् ।