• ८ मंसिर २०८१, शनिबार

महँगियो आँटा, चामल

blog

काठमाडौँ, माघ १८ गते । पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपियाँ र मैदा प्रतिकेजी २० रुपियाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपियाँदेखि १८ रुपियाँसम्म बढेको छ । 

सङ्घका अध्यक्ष पवित्र वज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ मनपरी तरिकाले वृद्धि गरेका छन् । “गहँुको त सिजन होइन, चामलको त अहिले सिजन हो नि, यसरी मूल्य बढ्दा सरकारका नियमनकारी निकाय कहाँ छन ?,” अध्यक्ष वज्राचार्यले प्रतिप्रश्न गर्नुभयो । यस्ता निकायले खाध्यन्न आयातकर्ता, मिल तथा उद्योगहरूमा अनुगमन नगरी साना खुद्रा पसलमा सीमित हुँदा बजार भाउ नियन्त्रण बाहिर पुगेको उहाँको भनाइ छ । 

खुद्रा व्यापारी विनोद अधिकारीले पछिल्लो डेढ महिनामा चामल, आँटा, मैदा र चामलको भाउ अस्वाभाविक बढेकाले बिक्री गर्न नै समस्या भएको अनुभव सुनाउनुभयो । खाद्यवस्तुको मूल्य बढ्दा आफूजस्ता साना तथा खुद्रा व्यापारी दोहोरो मारमा पर्नेगरेको गुनासो उहाँको छ । 

“ठूलो परिणाममा लिने पुँजी हुँदैन, थोरै थोरै किन्दा थोक व्यापारीले पटकैपिच्छे भाउ बढाउँछन्, यता उपभोक्ताले भाउ बढाइस् भनेर हामीलाई नै गाली गर्नुहुन्छ,” उहाँले भन्नुभयो । 

थोक व्यापारीको संस्था नेपाल किराना व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार भारतबाट यसअघि धेरै मात्रामा नेपाल भित्रिने जिरा मसिनो चामलको मूल्य बोरामै चार सयदेखि ५०० रुपियाँ बढेको छ । यस्तै मैदा र आँटाको मूल्य पनि व्यापारीअनुसार बढेको छ । 

भारतबाट बङ्गलादेशमा चामल निर्यात बढेकाले भारतमै मूल्य बढेको र त्यसमा ढुवानी भाडामा भएको वृद्धिले थप महँगी निम्त्याएको श्रेष्ठको दाबी छ । यस्तै गहुँ आयातमा लागेको प्रतिबन्धका कारण मैदा र आँटाको मूल्य पनि बढेको उहाँको भनाइ छ । 

त्यसो त कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्याङ्कले भने यो वर्ष धान उत्पादन गत वर्षभन्दा सुधार भएको तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यो वर्ष देशभर ५४ लाख मेट्रिकटन धान उत्पादन भएको छ । जब कि नेपालको माग पूरा गर्न प्रत्येक वर्ष ६८ लाख मेट्रिकटन धान आवश्यक हुन्छ । धान उत्पादनको तथ्याङ्क हेर्दा नेपाललाई १४ लाख मेट्रिकटन मात्रै अपुग भए पनि भन्सार विभागको तथ्याङ्कले भने हरेक तीन महिनामा चार अर्बको चामल नेपालमा आयात भएको देखाएको छ । 

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको असक्षमताको प्रत्यक्ष प्रभाव बजारमा परेको बताउनुभयो । उपभोक्ता संरक्षण ऐनअनुसार सरकारले बजारको तह र समर्थन मूल्य तोक्ने काम नभएसम्म बजार भाउमा सीमित व्यापारीको चलखेल भइरहने उहाँको भनाइ छ । “बजारमा मूल्य मात्रै होइन, वस्तु, सेवा र गुणस्तरमा झन् ठूलो समस्या छ तर यसमा कसैको पनि ध्यान गएको छैन,” उहाँले भन्नुभयो ।  भन्सार विभागका अनुसार धान, चामल र कनिका आयात भने घटेको छ । साउनदेखि मङ्सिरसम्म नेपालमा १२ अर्ब ६५ करोड रुपियाँको दुई लाख ८२ हजार मेट्रिकटन धान, चामल र कनिका आयात भएको छ । 

विभागका महानिर्देशक महेश भट्टराईले नेपालले चामल आयात गर्ने स्रोत देशले नै भन्सार महसुल २० प्रतिशत बढाएकाले उपभोक्ताको भान्सासम्म पुग्दा मूल्य बढ्नुलाई स्वाभाविक रहेको बताउनुभयो । “विभागले चामल, आँटा र मैदाको मूल्य अनुगमन गरेको छ तर अहिलेसम्म अस्वभाविक मूल्य देखिएको छैन, त्यस्तो भेटिएका व्यापारिक फर्मलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही वा जरिवाना गरेका छौँ,” उहाँले भन्नुभयो । 

सङ्घका अनुसार जिरा मसिनो चामलको खुद्रा बिक्री मूल्य ८५ रुपियाँबाट  प्रतिकेजी ९५ देखि १०० रुपियाँसम्म पुगेको छ । यस्तै प्रतिकेजी ८० रुपियाँमा पाइने साधारणखाले मैदाको मूल्य अहिले ९५ देखि १०० रुपियाँ पुगेको छ ।