• ९ मंसिर २०८१, आइतबार

जबजका तीन दशक

blog

२०४९ माघ १४–२० सम्म चलेको नेकपा (एमाले)को पाँचौँ महाधिवेशनबाट पारित भएको एक राजनीतिक सैद्धान्तिक दस्ताबेज हो– जबज। आरम्भमा कार्यक्रमका रूपमा अघि सारिएको जबज आज नवीन माक्र्सवादी सिद्धान्तका रूपमा स्थापित भएको छ। तत्कालीन एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको मथिङ्गलको उपज थियो– जबज, जसको आज तीन दशक पूरा भएको छ। जबजका प्रणेता मदनकुमार भण्डारीको कथन राजनीतिक सन्दर्भमा के थियो भने – शासन चलाउनेहरूले जनताको अभिमत लिएर मात्रै शासन चलाउने अधिकार राख्छन्।

यस कथनबाट के पुष्टि हुन्छ भने कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणको सैद्धान्तिक आधार भनेको जननेता मदनकुमार भण्डारी प्रतिपादित जबज नै हो। एकातर्फ जबज यस्तो वैचारिक हतियार हो, जसले परिवर्तन र प्रगतिलाई मूल सूत्र मान्ने विज्ञानसम्मत माक्र्सवादी विचारलाई नवीन ऊर्जा दियो। अर्कोतर्फ क्रान्ति बन्दुकको नालबाट निस्कन्छ भन्ने शस्त्र र रक्तको नीति अनुसरण गर्दै आएको कथाकथित पुरातन माक्र्सवादी आन्दोलन/कार्यशैलीलाई चुनौती दिँदै बुलेटबाट ब्यालेटको शान्तिपूर्ण प्रजातान्त्रिक परिपाटीबाट सत्ता–सोपानको मार्ग प्रशस्त गरेको छ। विश्व कम्युनिस्ट आन्दोलन तथा माक्र्सवादी दर्शन, राजनीति र साहित्यमा नयाँ विचारका बीजारोपण गर्न यसको अहम् भूमिका छ। यथार्थमै जबज वाम जगत्का लागि एउटा अकण्टक सूत्र साबित भएको छ; जसबाट बामपन्थले रूपान्तरणसहितको वरदान पाएको छ।

यसकै सैद्धान्तिक धरातलमा उभिएर २०५१ सालमा मनमोहन अधिकारीको सरकार (दक्षिण एसियाकै पहिलो एकल बामपन्थी सरकार), प्रचण्डको २०६५, २०७३ र हालको वर्तमान सरकार (२०७९ पुसबाट), २०६६ मा माधवकुमार नेपालको सरकार, २०६७ मा झलनाथ खनालको सरकार, २०७२ र २०७४ मा के.पी. ओलीको सरकार। जनमतबाट बहुदलीय व्यवस्थाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट सरकार बन्ने परिपाटीबाट गठित सरकार र तिनका प्रधानमन्त्रीहरू हुन्। मूर्धन्य राजनीतिज्ञ वा राजनीतिशास्त्रीहरूले जुनसुकै तर्क गरे पनि संसदीय व्यवस्था रहुञ्जेल सबै वामपन्थी सरकारको गठनको सैद्धान्तिक आधार भनेको जबज नै थियो, छ र हुनेछ। हुन त विश्व कम्युनिस्ट आन्दोलन तथा दर्शनका मसिहा कार्ल माक्र्सले नै शान्तिपूर्ण तथा प्रजातान्त्रिक परिपाटीको परिवर्तन उल्लेख नगरेको पनि होइनन्। 

माक्र्सभन्दा पृथक् दृष्टिकोण राख्दै लेनिन सर्वहाराहरूलाई वर्गको रूपमा परिणतपश्चात् क्रान्ति हुने भन्ने कुरासम्म धैर्यता राख्न चाहेको देखिँदैन। उनी त ‘भेनगार्ड’ (क्रान्तिकारी दस्ता)को नेतृत्वमा क्रान्ति सफल गरिनुपर्छ र क्रान्तिपश्चात् भेनगार्डले ‘सर्वहारा वर्गको अधिनायकत्व’ स्थापित गर्छ भन्नेका पक्षपाती देखिन्छन्। लेनिनले सर्वहारा वर्गलाई अन्तर्राष्ट्रिय शक्ति मान्छन्; जसले गर्दा क्रान्तिको विश्वव्यापीकरण सम्भव छ। उनले ‘वान स्टेप फर्वाड, टु स्टेप व्याक’मा क्रान्ति र सिद्धान्तका बीच सम्बन्ध स्थापित गरेका छन्। उनको कथन छ– सर्वहारा वर्गले निश्चित रूपले एक अपराजित शक्तिका रूपमा विश्व विजय गर्न सक्छ; जब माक्र्सवादी सिद्धान्तमा उनीहरू आबद्ध हुन्छन्। कम्युनिस्टहरू जहिले पनि यथास्थितिवादका विरुद्ध क्रान्ति गर्न तयार अवस्थामा रहन्छन्। लेनिनले क्रान्तिका निमित्त सबैभन्दा कनिष्ठ औद्योगिक श्रमिक (प्रोल्याटेरिएट) र ज्येष्ठ कृषि मजदुरबीच अन्तर्राष्ट्रिय गठबन्धन हुन आवश्यक छ भन्ने ठहर गरेका छन्। 

यथार्थमा माक्र्सले राज्य न आदिम साम्यवादमा थियो न त भविष्यमा नै हुनेछ भन्ने परिकल्पना गर्दै राज्यविहीन संसार र वर्गविहीन समाजको मत अघि सारेका थिए। लेनिनको कथन सर्वहारा वर्गको अधिनायकत्वमा रहने ‘सेन्ट्रलाइज स्टेट पावर’को अपरिहार्यता औँल्याउँदै कर्मचारीतन्त्रको सट्टा ‘वर्कर्स काउन्सिल’को अभ्यासमा तल्लीन थिए तर त्यो सम्भव र व्यावहारिक नहुँदा स्टालिन सत्तामा आएपछि त्यसको प्रयोग गरेनन्। 

माक्र्सले भोगेको, देखेको र बुझेको समकालीन जीवन संसारमा ठूलै परिवर्तन आएको छ। सधैँभरि प्रवासमा भाैँतारिएका पुँजीवादको चरम चपेटामा परेका माक्र्सलाई आर्थिक अभावले गाँजिरह्यो। औद्योगिक क्रान्तिले गरेको औद्योगिक विकासमा श्रमिकको चरम शोषणलाई नजिकबाट नियालेका थिए माक्र्सले। कसरी पँजीपति वर्गले श्रमिकलाई अतिरिक्त मूल्य दिँदैनन्, आफैँले कुम्ल्याउँछन् भन्ने कुरो पनि बुझेर ‘अतिरिक्त मूल्यको सिद्धान्त’ पनि प्रतिपादन गरेका थिए। तसर्थ पुँजीवादप्रतिको माक्र्सको आक्रोश समकालीन विश्वमा स्वाभाविक थियो। आफ्नै अघिल्तिर श्रीमती सन् १८८१ मा र छोरी सन् १८८२ मा बितेपछि १८८३ मार्च १४ मा बेलायतमा प्रवासनकै क्रममा उनले अन्तिम सास लिए। मूल माक्र्सवादी दर्शन वर्तमान युगसम्म आउँदा भोल्गामा, हाङ्सी, गङ्गा र बागमतीमा धेरै पानी बगिसक्यो। हिंसाबाट जनआन्दोलन र तरबारबाट मतपत्रसम्मको अवस्थाले धेरै पाठ सिकाएको छ। 

नेपालको संविधानले परिकल्पना गरेको समाजवाद कुनै जडतामा आधारित होइन होला र हुनु हुँदैन बरु त्यो प्रजातान्त्रिक समाजवाद हुनुपर्छ। चीनमा कम्युनिस्ट पार्टीको माओकालीन सैद्धान्तिक जडतालाई त्याग्दै देङ्ग स्यायो पिङ्गले चीनमा लिएको नीतिले ठूलो आर्थिक प्रगति गर्न सम्भव भएको हो। जुन पाठ नेपालका वामपन्थीका लागि अनुकरणीय छ। सन् १९९० को दशकतिर वामपन्थी ध्रुवको नेतृत्व लिने र सिङ्गो कम्युनिस्ट आन्दोलनको अभिभावकत्व ग्रहण गर्ने सोभियत सङ्घको पतनपश्चात् विश्व कम्युनिस्ट आन्दोलन प्रतिरक्षाको अवस्थामा रहँदा जननेता मदनकुमार भण्डारी प्रतिपादित जबजले नुतन दिशा निर्देश ग¥यो। जबजका विशेषतालाई छोटोमिठो रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ : 

संविधानको सर्वोच्चताको स्वीकार्यता, बहुदलीय खुला समाजको पक्षपाती, बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको अनुसरण, शक्ति पृथकीकरण सिद्धान्तको अनुसरण, मानव अधिकार रक्षाको प्रत्याभूति, आवधिक निर्वाचन प्रणाली अङ्गीकार, बहुमतको सरकार तथा अल्पमतको प्रतिपक्षको स्वीकारोक्ति, कानुनको शासनको अवलम्बन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरणलाई जबजको मुख्य विशेषताका रूपमा लिइन्छ। यसका साथै क्षतिपूर्तिको व्यवस्था (समानतामा आधारित भूमि व्यवस्थालाई कायम गर्न क्षतिपूर्तिको व्यवस्था), विदेशी पुँजी र प्रविधिको राष्ट्रिय हितमा प्रयोग, पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति, श्रमजीवीको जनताको जनवादी अधिनायकत्वको स्थापनार्थ लक्षित, जनताको बहुदलीय जनवाद, जनवादी सत्ता स्थापना गर्ने साझा कार्यक्रमका रूपमा पनि जबजलाई बुझिन्छ। माथि उल्लिखित जबजका विशेषताका आधारमा यसका विलक्षणतालाई निम्नानुसार विश्लेषण गर्न सकिन्छ : 

माक्र्सवादको नवीनतम् भेद –  जबजलाई नव–माक्र्सवादीहरू, इमानुअल, वालरस्टाइन र ए.जी. फ्य्राङ्कको क्रमशः ‘वल्र्ड सिस्टम’ र ‘डिपेन्डेन्सी’ सिद्धान्तसँग तुलना गर्न सकिन्छ। जबजले प्रजातान्त्रिक परिपाटीबाट पनि कम्युनिस्ट पार्टीले सरकार गठन गर्न सक्छन् भन्ने कुराको वा तथ्यको पुष्टि गरेको छ। यथार्थमा कुनै पनि कथन वा तथ्यको पुष्टि भयो भने त्यो तथ्य वा कथन नै सिद्धान्त बन्ने दिशातर्फ उन्मुख हुन्छ। 

जीवनका लागि सिद्धान्त – पुरातन माक्र्सवादी जडताबाट मुक्त हुँदै जबजले जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने मान्यताको विकास ग-यो। जबजको ध्येय माक्र्सवादलाई यान्त्रिक बनाउनेभन्दा पनि जीवन्त र सफल बनाउने रहेको छ। जसबाट मानव जीवन सुखमय होस्। यसको अभिष्ट मानव समाजको हितसँग सम्बन्धित छ। 

व्यावहारिक तथा युगसुहाउँदो – व्यावहारिकताको धरातलमा उभिएर, युगसुहाउँदो प्रजातान्त्रिक समाजवादको वकालत तथा लक्ष्य नै जबजको ध्येय हो। फलतः रक्षात्मक र धराशायी भएको विश्व कम्युनिस्ट आन्दोलनलाई दिशानिर्देश गर्दै ब्यालेटबाट बामपन्थीहरूको सरकार सम्भव बनायो। 

कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरण – आजको बदलिँदो विश्व परिवेशमा जनमतलाई आकर्षित गर्दै बहुदलीय व्यवस्था अनुसरण गरी जनअनुमोदित सरकारको माध्यमबाट जनताको जनवादी राज्य व्यवस्थाको स्थापना गर्न सकिन्छ भन्ने जबजको मूल विशेषता हो। 

आरम्भमा नेपाली क्रान्तिको कार्यक्रमका रूपमा प्रस्तुत गरिएको जबजपछि सैद्धान्तिक दर्शनका रूपमा व्याख्या गरिन थालिएको छ। जबजद्वारा आन्तरिक रूपमा समाजमा व्याप्त गरिबी, अभाव तथा सबै प्रकारका शोषण र असमानतालाई अन्त्य गरी प्रगतिशील, विकसित, सम्पन्न र समृद्ध राष्ट्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद वा साम्यवादमा पुग्ने लक्ष्य राखिएको छ। बाह्य रूपमा साम्राज्यवादी शोषण उत्पीडन समाप्त पार्दै पञ्चशीलको सिद्धान्तको आधारमा भारत र चीनसँग विशिष्ट तथा समदूरीको प्रगाढ सम्बन्ध बनाउने तथा राष्ट्रिय हितको आधारमा विश्वका सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गरिनेछ भन्ने कुराको उल्लेख छ। 

यस प्रकारको मुलुकको राष्ट्रिय जीवनका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, वैदेशिक, धार्मिक आदि समष्टिगत कुरा समावेश गरिएको दस्ताबेजका रूपमा रहेको जबजको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’सँग तुलना गर्न सकिन्छ। युगसापेक्ष मुलुक र जनताको हकहितमा दुवै दस्ताबेज विशिष्टऔँ विहङ्गम रूपमा समर्पित भएको अनुभूति हुन्छ। यस प्रकारका दस्ताबेज ‘राष्ट्रिय नीधि’का रूपमा राखिने व्यवस्था गर्नुपर्छ। यसमा अग्रसरता लिने कार्य वर्तमान सरकारले गर्नुपर्छ। 

लेखक त्रि.वि. अनुसन्धान निर्देशनालयका उप–प्राध्यापक हुनुहुन्छ।