• १० जेठ २०८१, बिहिबार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

blog

फाइल तस्बिर

काठमाडौं, माघ १५ गते। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भएको छ। 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८३ अङ्कले ओरालो लागेर चार सय १० दशमलब ३१ मा सीमित भएको छ। नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

कारोबार भएकामध्ये कूल ४८ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने एक सय ६१ कम्पनीको मूल्यमा गिरावट भएको छ। त्यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

कुल ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर रू. तीन अर्ब एक करोड ७० लाख ६३ हजार नौ सय ५६ मूल्यमा कारोबार भयो। आइतबारको कारोबारपछि बजार पुँजीकरण रु. ३१ खर्ब २९ अर्ब ३० करोड ८५ लाख एक सय ७४ पुगेको छ।

कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्षस्थानमा छ। कम्पनीको रु. नौ करोड ९९ लाख चार हजार तीन सय ९२ बराबरको कारोबार भयो। हिमालयन ऊर्जा विकास कम्पनी नौ करोड २१ लाख १८ हजार सात सय ४२, एनआइसी एशिया बैंकको सात करोड १३ लाख १८ हजार तीन सय एक, आँखुखोला जलविद्युत् कम्पनीको छ करोड ८३ लाख ७० हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको छ करोड ६२ लाख ४७ हजार सात सय ९३ बराबरको शेयर कारोबार भएर शीर्ष पाँचमा परेका छन्।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सूर्योज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

त्यस्तै, समृद्धि फाइनान्स छ दशमलव शून्य नौ, सिभिल लघुवित्त छ दशमलब शून्य आठ, सूर्योदय बोमी लघुवित्त पाँच दशमलव २८, ग्रीनलाइफ इन्स्योरेन्स पाँच दशमलव शून्य सात र गणपति लघुवित्तका लगानीकर्ताले चार दशमलब ६८ प्रतिशतले गुमाएका छन्।रासस