• १२ असोज २०८१, शनिबार

सुकदेवको सहादत

blog

जङ्गबहादुर राणाको तीन दशक लामो शासनको अन्त्यतिर उनीविरुद्ध केही विद्रोह भए । लखन थापा मगरले आफूलाई राम शाहकालीन सिद्ध लखन थापा मगरको अवतार घोषित गर्दै जङ्गबहादुरलाई मारेर मुलुकमा सुनौलो युग सिर्जना गर्ने उद्घोषका साथ गोरखामा विद्रोह गरे । उनीसहित उनका समर्थकलाई पक्राउ गरेर छानबिन गर्न काठमाडौँको थापाथली दरबारमा ल्याइयो । त्यसपछि उनीसहित उनका छ जना सहयोगीलाई गोरखाको बुङ्कोटमा लगेर रुखमा झुण्ड्याई मृत्युदण्ड दिइयो । उनीहरूलाई वि.सं. १९३३ फागुन २ गते मृत्युदण्ड दिइएको भन्ने भनाइ रहँदै आएको छ तर इतिहासकार पुरुषोत्तमशमशेर जबराले आफ्नो पुस्तक ‘लुकेछिपेका प्रतिभाहरू’ (२०६८ ः २७)मा लखनलगायत उनका छ जना साथीलाई वि.सं. १९३३ पुस महिनामा झुण्ड्याएर मृत्युदण्ड दिइएको उल्लेख गर्नुभएको छ । 

लखनले मनकामना माताले जङ्गबहादुरको हत्या गरी नेपालमा सुनौलो युग सुरु गर्न आदेश दिएको भन्दै विद्रोह सुरु गरिरहेको बेला गोरखामै अर्का एक जना विद्रोही निस्के । उनको नाम हो, सुकदेव गुरुङ । उनले आफूलाई ‘नौ सरकार बौद्ध बादसाह’ घोषणा गरी गोरखामै विद्रोह मच्चाउन सुरु गरे । वि.संं. १९३३ मा उनले विद्रोह सुरु गरेका थिए । उनले प्रशस्त अनुयायी बटुलेका थिए । विद्रोह सुरु गरेको केही समयपछि नै उनी पक्राउ परे । उनी अदालत इटा चपलीमार्फत कारागार चलान भए । कारावासमै उनको मृत्यु भयो (त्रिरत्न मानन्धर, नेपालको इतिहासमा जङ्गबहादुर, २०४८ः१४५) ।

तत्कालीन सरकारले घोषणा गरेअनुसार उनको मृत्यु ज्वरोको व्यथाले हुन पुग्यो । मानन्धरले उल्लेख गरेअनुसार सुकदेवको मृत्युसम्बन्धी वि.सं. १९३३ साल चैत्र वदी ५ आइतबारको सरकारी कागजको बयान यस्तो छ ः

...अदालत इटा चपलीमार्फत नौ सर्कार बौध वादशाह भञा भन्या मुद्दामा पक्री आई कैद पर्ने गोर्षा बसन्या सुकदेव गुरुं जरोको वेथाले मर्दा फाल्नाके जना २ के ज्याला दिनु भन्या ३३ साल चैत्र, वदी ५ रोज १ को श्री ३ का पुर्जी बमोजीं हस्ते माहाने बलवीर सिं जना १ के २ आनाका दर्ले जम्मा (चारआना) (मानन्धर, २०४८ः१४५) ।

यसरी अदालत इटा चपलीमार्फत कारागार चलान गरिएका विद्रोही सुकदेव गुरुङको मृत्यु भएपछि उनको शव उठाउनका लागि महाने र बलवीर सिंह नामका दुई कामदार खटाइएको माथि उल्लिखित पत्रबाट स्पष्ट हुन्छ । श्री ३ महाराजको आदेशअनुसार प्रतिकामदार दुईआनाका दरले चारआना ती कामदारको पारिश्रमिक पनि छुट्याइयो । कारावास अवस्थामै ज्वरोको व्यथाले सुकदेवको मृत्यु भएको नभई सम्भवतः उनलाई कडा यातना दिइयो । यसैको कारण कारावासमै उनको मृत्यु भयो (मानन्धर, २०४८ः१४५ ) ।

सुकदेवले आफूलाई नौ सरकार बौद्ध बादसाह घोषणाको अर्थ के हुन सक्छ ? बादसाह भनेको राजा नै हो । बौद्ध बादसाहको अर्थ बौद्ध धर्म अनुसरण गर्ने राजा भन्ने लाग्छ । त्यो बेला शासन चलाउने श्री ३ थिए भने थपनाको राजा श्री ५ थिए । उनले आफूलाई नौ सरकार भनी घोषणा गरिएकोलाई शाह र राणाभन्दा पनि माथि श्री ९ भएको भन्ने अर्थ लगाउन सकिन्छ ।

यसरी आफूलाई तत्कालीन शासकभन्दा ठूलो स्वघोषणा गर्दै विद्रोहमा उत्रने सुकदेव तत्कालीन निरङ्कुश शासकका लागि सह्य हुने कुरै भएन, फलस्वरूप उनी शासककै हातबाट मृत्युवरण गर्न बाध्य भए । यसरी उनको विद्रोह दबाउन दुष्प्रयास तत्कालीन राणा शासकले गरे । सुकदेवको सहादतको केहीअघि मात्र जङ्गबहादुर सिकारमा गएको समयमा वि.सं. १९३३ फागुन, सुदी १२ मा पत्थरघट्टामा मृत्यु भएको थियो । 

सुपति गुरुङको विद्रोह 

सुकदेव गुरुङ गिरफ्तार भए । कारावासमै उनको मृत्यु (हत्या ?) भएपछि पनि गोरखा, लमजुङ क्षेत्र शान्त हुन सकेन । बरु त्यसको उल्टो असर प¥यो । विद्रोहको आगो झन् दन्कन पुग्यो । 

त्यो बेलासम्म जङ्गबहादुर राणाको मृत्यु भइसकेको थियो । उनको ठाउँमा शासनको बागडोर सम्हाल्न उनका भाइ रणोद्दिप सिंह उपस्थित थिए । गोरखा, लमजुङ र कास्कीको गुरुङ बाहुल्य क्षेत्रमा विद्रोहको आगो दन्किरहेको थियो । सुकदेवपछि विद्रोहको नेतृत्व सुपति गुरुङले लिए । उनले पनि आफूलाई ‘बौद्ध बादसाह’ घोषणा गरे (मानन्धर, २०४८ः१४५) । 

जङ्गबहादुरको मृत्युपछि नयाँ प्रधानमन्त्री भएका रणोद्दिप सिंहले सुपति गुरुङलाई जसरी भए पनि पक्रेर ल्याउन आदेश दिएका थिए । तत्कालीन कमान्डर इन चिफले कप्तान रन्धोज अधिकारीलाई यस्तो आदेश दिएका थिए तर सुपतिलाई पक्राउ गर्न खटिई जाने अधिकारीले उनलाई गोरखा सात घरदेखि लमजुङ कास्की अठारसय खोलासम्म खोज्दा पनि फेला पार्न नसकेको विवशता जाहेर गरेका थिए (मानन्धर, २०४८ः१४६) ।

धार्मिक जनतामाझ बौद्ध बादसाह घोषणा गरेपछि सुपतिका पछि लाग्ने रैतीको कमी थिएन । उनीहरू राजीखुसी अनुयायी बनेर सैनिकको रूप धारण गर्न लागेका थिए (ज्ञानमणि नेपाल, ‘नेपाल निरुपण’ २०५५ः३४०) ।  यसरी सुपतिले सुकदेवको ठाउँमा नेतृत्व लिएर धार्मिक विद्रोहलाई व्यापक पार्न थालेपछि तत्कालीन शासकले यो विद्रोहको दमनका लागि योजनाबद्ध रूपमा सैनिक परिचालन गर्न थाल्यो तर यसअघि सुकदेवले सहन गर्नु परेको यातना र मृत्युवरणबाट सचेत सुपति सम्भवतः ज्यान बचाउन त्यहाँबाट भागे तर धुइँपत्ताल खोजी गर्दा पनि सुपतिलाई फेला पार्ने सरकारी प्रयास सफल हुन सकेन । गोरखाको सात घरदेखि पसी लमजुङ, कास्की अठारसयखोला आदि क्षेत्रमा सुपतिको खोजी गर्न रणोद्दिप सिंहले सेना पठाए । सुकदेवको मृत्युपछि सुपति गुरुङले आफूलाई बौद्ध बादसाह घोषणा गरेको दुई–तीन महिनापछि पनि उनको खोजीलाई व्यापक पारिएको थियो । यसका लागि तत्कालीन कमान्डर इन चिफबाट कप्तान रणध्वज अधिकारीको कमान्डमा पोखराबाट त्यसतर्फ सेना परिचालन गरियो । 

वि.सं. १९३४ आषाढ, वदी १२ रोज ७ मा तत्कालीन कमान्डर इन चिफ जगत शमशेरले कप्तान रणध्वज अधिकारीको नाममा यस प्रयोजनका लागि आदेश पठाए । सैनिकहरूले स्वघोषित बौद्ध बादसाह भएको सुपति गुरुङलाई उसको घरनजिकको गाउँ गोरखा सात थरदेखि पारि लमजुङ, कास्की, अठारसयखोलासम्म खोजी गरे तर उनको कतै अत्तोपत्तो लाग्न सकेन । यो कुरा कमान्डर इन चिफ जगत शमशेरमार्फत श्री ३ महाराज रणोद्दिप सिंहसमक्ष जाहेर भयो । रणोद्दिप सिंहबाट उनको घरनजिकैका छरछिमेकबाट सुपतिको पत्तो लाग्नसक्ने हुँदा त्यतातिर पनि सोधीखोजी गर्नू भन्ने हुकुम भएको हुँदा सोहीअनुसार गर्नु भन्ने आदेश कमान्डर इन चिफबाट भएको देखिन्छ । इतिहासकार मानन्धरले सुपति गुरुङको खोजी गर्ने प्रयासलाई जारी राख्न त्यसबेलाका सैन्य कमान्डरले लेखेको पत्र पनि आफ्नो पुस्तक ‘नेपालको इतिहासमा जङ्गबहादुर’ (२०४८ः१४६)मा प्रकाशित गरेका छन् । 

पत्रको बेहोरा यस्तो छ :

दुतिय जेष्ट वदी ९ रोज ३ मुकाम कास्की पोषरा बाट लेष्याको विन्तीपत्र ए सुदी ३ रोज ५ का दिन आइ पुग्यो विस्तार जाहेर भयो उप्रान्त वौध वात्साह भञा भंन्या सुपति गुरुंलाई उस्का घर नजिक गाँउ गोर्षा ७ घर देषी पसी लमजुं कास्की १८०० षोला सम्म षोज तलास ग¥यौं काहीं पत्ता लागेन भनी लेषेका कुरा लाई तिमीहरूले लेष्याको विंती पत्र श्री ३ महाराज दाज्यैज्यूका हजुरमा नजर गराउदा कस्तै पनि तेस्का घर नगीचका मानिसहरूलाई थाहा हुनु पर्छ हाम्रा रीतले बुझि पत्ता लाउनु भंन्या हुकुम भयाको छ हुकुम वमोजीम पत्ता लाउन्या काम गर ।

सुकदेव गुरुङले त मृत्युवरण नै गरे भने उनको विद्रोहको बिँडो धान्न सुपति गुरुङ खडा भए । उनले विद्रोहलाई व्यापक पनि बनाए तर ठूलो सङ्ख्यामा तत्कालीन शासकले सेना परिचालन ग-यो । सुपति भाग्न बाध्य भए । जङ्गबहादुरविरुद्ध विद्रोह गर्नेमध्ये लखन थापा मगरलाई नेपाल सरकारले २०७२ असोज ३ गते नेपालको प्रथम शहीद घोषणा गरिसकेको छ । सुकदेवलाई पनि शहीद घोषणा गर्नुपर्ने माग बेलाबेला उठ्ने गरेको छ । उनको सम्झनालाई ताजा बनाउन भैरहवामा उनको पूर्णकदको सालिक पनि प्रतिष्ठापित गरिएको छ ।