• ९ मंसिर २०८१, आइतबार

सच्चा शहीदको खोजी

blog

देश तथा जनताको मुक्ति र अधिकारका लागि जीवन बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै देशैभर माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइँदै छ । नेपाली जनतालाई अधिकारसम्पन्न नागरिक बनाउँदै जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यावस्था एवं त्यसपछाडिका विभिन्न अधिकार प्राप्तिका आन्दोलन एवं लोकतान्त्रिक जनआन्दोलनमा प्राण आहुति गरेका वीर सपुतको योगदान स्मरण गर्दै वि.सं. २०१२ देखि प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आइएको छ । 

शहीद त्यस्तो मान्छे हो; जसले मुलुक र जनताको मुक्ति र स्वतन्त्रताका लागि आफ्नो प्राण आहुति गर्न पनि पछि पर्दैन । जीवन रोज्छौ कि मृत्यु ? भनी तत्कालीन राणशासकले दुईमध्ये एक रोज्न दिएको चुनौतीमध्ये आफ्नो मूल्य–मान्यता देश र जनताको मुक्तिका लागि सहर्ष मृत्यु रोज्ने महान् सपुत नै वास्तवमा शहीद हुन् । यसको अर्थ के पनि हुन्छ भने बाटोमा हिँड्ने बटुवा अथवा घरको छत या कौसीबाट रमिता हेरिरहेको गोली लागी सहादत प्राप्त व्यक्ति पनि शहीदको सूचीमा आउँदैन । यस्ता प्रकृतिका घटनाले त वास्तविक शहीदको अपमान हुन्छ । विडम्बना हाम्रो मुलुकमा त्यसरी मृत्यु भएका वा जबरजस्त आन्दोलनमा उतारेर मृत्यु भएकालाई समेत शहीद र त्यसका नाममा राजनीतिक व्यापार गर्ने कुसंस्कार हाबी हुँदै गएको छ । 

आज हजारौँ मान्छेलाई शहीदको दज्र्यानी प्रदान गरेर दसौँ लाख रकम राज्यको ढुकुटीबाट बाँडिएको छ । के यही हो सच्चा शहीदको सम्मान ? के शहीदले आफ्नो बलिदानी निश्चित रकम भुक्तानीका लागि दिएको हुन्छ ? सच्चा शहीदले कहिल्यै पनि निश्चित ज्याला प्राप्तिका लागि अधिकारका आन्दोलनमा होमिएको हँुदैन । मुलुकलाई समृद्धितर्फ डो¥याउने सपना बोकेर लडाइँमा होमिएको हुन्छ । वर्तमान समयमा शहीदले देखाएको बाटो बिर्सिएर राजनीतिको बागडोर सम्हालेका राजनीतिक दल कुबाटोतिर लागेका छन् । शहीदको सपनामा प्रहार गर्दै हिँड्न थालेका छन् । उनीहरूको सुन्दर सपनामाथि राजनीति गर्दै मुलुकलाई बन्धक बनाइरहेका छन् । 

शहीद दिवसलाई औपचारिकतामा मात्रै सीमित गर्न थालिएको छ । अहिले यस्तो विडम्बना छ कि राज्यले धमाधम मूल्यसमेत तोकेर शहीदको पगरी भिराइदिने राजनीतिक कुसंस्कार बढेको छ । निरङ्कुशताकोे जन्जिरले मातृभूमिमाथि रजाइँ गरिरहेको बेला मुलुक र मुलुकबासीलाई स्वतन्त्रता दिलाउनु अपरिहार्य थियो । एकतन्त्रीय जहानियाँ शासन अन्त्यका लागि प्राणको बाजी थापेर हाम्रा अग्रजले महìवपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसैको परिणामस्वरूप आज हामी नेपाली प्रजातान्त्रिक हुँदै गणतान्त्रिक मुलुकका नागरिकका रूपमा गर्वको महसुस गरिरहेका छौँ । 

प्रजातन्त्र र स्वतन्त्रताका लागि लडेका योद्धाका लागि मृत्यु सामान्य हुन्छ । तत्कालीन राणा शासनको समयमा प्रजातन्त्र र स्वतन्त्रताको कुरा गर्नु भनेको गाथगादी ताकेजस्तै हुन्थ्यो । त्यसैले प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा आवाज उठाउने चार जना अगुवा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई राणा शासकले गाथगादी ताकेको आरोपमा वि.सं. १९९७ को माघ महिनामा मृत्युदण्ड दियो । यसले जनतामा झन् आक्रोश बढायो र सशक्त आन्दोलन गर्ने साहस थपिदियो । फलस्वरूप १०४ वर्षसम्मको जहानियाँ शासन ढलिछाड्यो ।

वि.सं. १९९० को दशकमा विश्व राजनीतिमा परिवर्तनका लहर देखा पर्न थालेका थिए । छिमेकी राष्ट्र भारतमा ‘स्वतन्त्रता सङ्ग्राम’को प्रभाव पनि नेपाली राजनीतिमा परेको थियो । यसबाट नेपालमा विद्रोहको स्वर उठ्नु पनि स्वाभाविक थियो र भयो पनि त्यस्तै । जनताको स्वतन्त्रताप्रतिको तीव्र चाहनालाई तत्कालीन राजा त्रिभुवनको अग्रसरताले पनि बढी ऊर्जा थपेको थियो । त्यसैले राजा र प्रजा दुवैको संयुक्त प्रयासले जहानियाँ शासनलाई धराशायी बनाउन सहयोगी भूमिका निर्वाह ग¥यो । सशङ्कित राणाले सुब्बा कृष्णलाल अधिकारीलाई ‘मकैको खेती’ नामक पुस्तक लेखेको आरोपमा शब्दको गलत अर्थ लगाएर जेलमा नै सडाएर मारेका थिए । उक्त पुस्तक परम्परागत खेती प्रणालीबाट कसरी आधुनिक प्रणालीतर्फ आउने भन्नेबारेमा लेखिएको थियो । यसरी कैयौँ निर्भीक योद्धाको बलिदानीबाट मुलुकमा प्रजातन्त्र स्थापना भइछाड्यो । 

जहानियाँ शासनका अगाडि शुक्रराज कहिल्यै झुकेनन् । क्रुरता र अत्याचारसँग उनीहरूले कहिल्यै सम्झौता गरेनन् । कृष्णलाल, भीमदत्त, भीमनारायण, दुर्गानन्द झा र यज्ञबहादुरहरूले कहिल्यै जीवनको भीख मागेनन् । रत्नकुमार वान्तवा, रामलक्ष्मण, दिवान सिंह, सरोज, रामनाथ र लीलाहरूले पनि कहिल्यै दयाको भिख मागेनन् । यसरी प्रथम शहीद लखन थापादेखि अहिलेसम्म शहीद हुने क्रम रोकिएको छैन । शहीदका सहस्र अनुहार देखिएका छन् । 

शहीदले एउटा निश्चित लक्ष्य प्राप्तिका लागि रगत बगाएका हुन्छन् तर आपसी खिचातानी र निहित स्वार्थले गर्दा सच्चा शहीदले बगाएको रगतको अवमूल्यन भइरहेको छ । राज्यले राजनीतिक दलको दबाबका भरमा अहिले एकपछि अर्को गर्दै शहीद घोषणा गर्दै जाँदा सच्चा शहीदको मानमर्दन भएको छ । आजभोलि जो कोहीले हाम्रा शहीद कति छन् भनेर यकिनसाथ भन्न नसक्ने अवस्था छ । शहीदको परिभाषा के हो भन्ने नै टुङ्गो छैन अहिले । शहीदका मापदण्ड के हुन् ? कस्तो मृत्युवरणले एउटा मानिस शहीद कहलाउँछ ? हुलदङ्गा, तोडफोड, आगजनी र दोहोरो भिडन्तमा मारिने शहीद हुन् कि होइनन् ? देशको सुरक्षामा तल्लीन सेना, प्रहरीका जवान सिमानामा मारिएकालाई के भन्ने ? कुनै राजनीतिक दलविशेषको झन्डा बोकेर मुठभेडमा मारिएका व्यक्तिलाई के भन्ने ? 

आज देशका सच्चा शहीद को हुन् भनेर खोज्नुपर्ने विडम्बनापूर्ण अवस्था छ । सरकारले पनि माघ १६ लाई औपचारिकतामा मात्रै सीमित राखेको देखिन्छ । आज शहीदगेटका चार दिशामा राखिएका शहीदका अर्धकदका सालिक खुसी देखिँदैनन् । उनीहरूका परिवार आज उपेक्षित र अपहेलित भएका छन् । शहीदले देखाएको बाटोमा हाम्रो राजनीति हिँडेको भए जनताको मुहारमा हाँसो र खुसीको उमङ्ग देख्न सकिन्थ्यो । नेताहरूको बोली र व्यवहार भिन्न देखिन्छन् । शहीदले कहिल्यै पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि लडेको हँुदैन । उसले देखेको सपना सारा नेपालीको साझा सपना हो । 

विडम्बना आजसम्म आइपुग्दा शहीदको सपनाको मर्मसमेत भुलेर शहीद दिवस केवल औपचारिकतामा मात्र सीमित बनेको छ । जसलाई आफ्नो अधुरो सपना पूरा गर्ने जिम्मेवारी दिएर शहीद बिदा भए, तिनीहरू नै आज मुलुकका सबैभन्दा धनाढ्य र शक्तिशाली भएका छन् । शहीदको बलिदानीबाट प्राप्त स्वतन्त्रताको रथ हाँक्ने जिम्मा पाएका शासक नै व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित राजनीतिमा लिप्त भइदिँदा शहीदका सपना मूर्छित बन्न पुगेका छन् । मूर्छित सपना सार्थक बनाउन सबैले व्यर्थको तर्क–बितर्क छोडेर सहमति र सहकार्यको संस्कारलाई आत्मसात् गर्नुपर्छ । शहीदको सपना साकार पार्ने हो भने बाँच्नेहरूले उनीहरूको रगतको मूल्य र महìवलाई मनन गर्नुपर्छ । उनीहरूको विचार भावना मर्न दिनु हँुदैन । 

मुख्य कुरा आज जो पनि शहीद, जसलाई पनि शहीद घोषणा गर्नुपर्ने, सूचीकृत गर्नुपर्ने र त्यसबापत क्षतिपूर्ति पाउनुपर्ने कुसंस्कार हाबी भएको छ । शहीदको जीवनको मूल्य तथा उसले गरेको त्याग र बलिदान केका लागि थियो भन्ने प्रश्न अहिले नेपाली राजनीतिका खेलाडीले बुझ्नु जरुरी छ, किनभने आज एकातर्फ देशमा शहीदका अनुहार थपिएका छन् भने उनीहरूले पाउने इज्जत र सम्मान भने दिन प्रतिदिन घट्दो छ । त्यसो भए के राष्ट्र, समाज वा निश्चित विचारका लागि शहीद हुनुको कुनै अर्थ छैन त ? सत्ता र शक्तिका आडमा करोडौँ कुम्ल्याउने, अनेक बहानामा अधिक आर्थिक लाभ लिने कुसंस्कारले गर्दा नेपालमा शहीद र बेपत्ताका नाममा ठगी गर्नेहरूको लर्को छ । कहिलेसम्म यस्तो गरिरहने ? शहीदले हामीलाई दिलाएर गएको स्वतन्त्रता र त्यही स्वतन्त्रताको जगमा टेकेर प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नयाँ नेपाल निर्माणमा हामी सबैले आफ्ना ठाउँबाट आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्यौँ भने मात्र शहीदप्रति सच्चा सम्मान हुनेछ ।