• ९ मंसिर २०८१, आइतबार

विद्यार्थीलाई पोषिलो खाना

blog

खाना मानिसका लागि अपरिहार्य वस्तु हो । यदि मानिसलाई खाना खानु पर्दैनथ्यो भने उसले जाडो, गर्मी नभनी बिहानदेखि बेलुकीसम्म वा रातभरि नसुतेर सम्पत्ति कमाउनकै लागि यति धेरै दुःख गर्नु पर्दैनथ्यो । पैसा कमाउनकै लागि मानिसले चोरी, डकैतीसमेत गर्दछ । आफूले कमाएको धेरैजसो पैसा उसले खानामै खर्च गर्ने गर्दछ । खानाले मानिसलाई काम गर्न, हिँडडुल गर्न शक्ति दिन्छ । त्योभन्दा पनि महìवपूर्ण शरीरका अङ्गले आफ्नो नियमित काम गर्नका लागि चाहिने शक्ति खानाबाटै प्राप्त गर्छन् । 

शरीरलाई विभिन्न रोगबाट बचाउन पनि खानाको आवश्यकता पर्दछ । कतिपय मानिस एक दिन पनि भोकै बस्न सक्दैनन् । भोकै बसेको खण्डमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, रक्तचाप घटबढ हुने, कमजोरी अनुभव हुनेजस्ता लक्षण देखा परेका हुन्छन् । खाना नै जीवन भएकै कारण सुत्केरी, बालक, वृद्ध, बिरामीलाई भोकै बस्नु हुँदैन पनि भनिएको छ । तीन दिन खाना नखाएको खण्डमा सुतेको ठाउँबाट उठ्नसमेत सकिँदैन । बिस्तारै शरीरका अङ्गले काम गर्न छोड्छन् र अन्त्यमा मानिस मर्छ । यसकारण बाँच्नका लागि खाना अति नै महìवपूर्ण छ । 

मानिसको जीवन नै खानामा भर परेका कारण उनीहरूले खाने खाना पनि सन्तुलित तथा पोषिलो हुनु त्यति नै आवश्यक छ । मानिसको जीवन आमाको कोखबाट सुरु हुने भएकाले त्यही बेलादेखि नै उसका प्रत्येक अङ्गप्रत्यङ्ग स्वस्थ तथा तन्दुरुस्त राख्नका लागि पोषिलो खानाको आवश्यकता पर्दछ । बच्चा पेटमा हुँदा चुरोट, रक्सी पिउने, पोषिलो खाना नखाने, आफ्नो स्वास्थ्यको ख्याल नगर्ने आमाका सन्तान अस्वस्थ जन्मेका भेटिन्छन् भने आफ्नो तथा बच्चाको शरीरको ख्याल राख्दै पोषिलो 

खानेकुरा खाने आमाका सन्तान स्वस्थ जन्मिने डाक्टरले भन्दै आइरहेका छन् ।

जब स्वस्थ्य बच्चा जन्मन्छ अनि उसको बाँच्ने सम्भावना त्यसै बढेर जान्छ तथा भविष्यमा पनि रोगसँग सजिलै लड्न सक्छ । हामीले पिउने पानी, सास फेर्ने हावा अति नै प्रदूषित, तरकारी तथा दुग्धजन्य पदार्थ, मिठाई सबैमा अखाद्य वस्त मिसावट हुने हुँदा जन्मपश्चात् पनि रोग लाग्ने सम्भावना धेरै हुन्छ । त्यसकारण जन्मपश्चात् पनि सबैले उमेरअनुसार सन्तुलित भोजन लिनु अति नै जरुरी हुन्छ । रोग लागेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिनु उत्तम हो । सुगर, क्यान्सर, थाइराइडजस्ता कतिपय रोग लागिसकेपछि सजिलै ठीक हुँदैनन् । यसकारण आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने हेक्का सबैमा हुनुपर्छ ।

तर आजभोलि खासगरी बालबालिका, स्कुल, कलेजका विद्यार्थीले पोषिलो खाना खाने गरेको कमै देखिन्छ । केही वर्षअगाडि राजधानीको एउटा कलेजमा पढ्ने केटीहरूको रगत जाँच गर्दा त्यसमा अम्लीयपना बढी पाइएको थियो । पछि खोज्दै जाँदा उनीहरूले दिनहुँजसो पानीपुरी, चटपटे खाने गरेको बताइएको थियो । एकचोटि एक जना साथीले सानै हुँदा बिहानै खाली पेटमा पानीपुरी खाँदा पेट दुखेर मर्नु न बाँच्नु भएको बताएकी थिइन् । तुरुन्तै अस्पताल गएर जचाउँदा खाली पेटमा रसायन मिसाइएका यस्ता खाद्यपदार्थ कहिले खान नहुने डाक्टरले भनेको सुनाएकी थिइन् । 

माथिका दुइटै घटनामा पानीपुरीका लागि बनाइने पानीमा अत्यधिक रसायनयुक्त अमिलो हालैकै कारण यस्तो भएको निचोड निकालिएको थियो । स्कुल जाने बेला बिहानतिर स्कुल वरिपरिका किराना पसलमा झुम्मिएर कुरकुरे, लेज, चाउचाउ, बिस्कुट, चुइगम, चकलेट किनिरहेका विद्यार्थी धेरै देखिन्छन् । घरबाट खाजा बोकेर नजाने तर स्कुलको क्यान्टिनमा खानु है भनेर अभिभावकले पैसा दिएर पठाए पनि बाटोबाटै जङ्कफुड किनेर खाने गरेका विद्यार्थी बढी हुन्छन् । धेरै गुलिया चकलेट, बिस्कुट, चुइगम खानाले विद्यार्थीका दाँतमा कीरा लाग्ने गरेको भेटिन्छ । अस्पतालमा पनि कीरा लागेर उपचार गर्न गएका बालबालिका प्रशस्तै भेटिन्छन् । यस्ता खानेकुरा खाएपछि दाँतमा टाँसिने र बालबालिकाले दाँत पनि राम्रोसँग सफा नगर्ने, गुलियो खाएपछि कुल्ला नगर्ने हुनाले दाँत बिग्रिने सम्भावना धेरै हुन्छ । 

अर्कोतिर लामो समयसम्म प्याकेजिङ गरिएका लेज, कुरकुरे, चिजबलजस्ता खानेकुरा खानाले बालबालिकाले एकदमै न्यून मात्रामा पोषण प्राप्त गर्छन् । बरु लामो समयसम्म स्टोर गरेर राख्नका लागि यस्ता खानामा मिसाइएका रसायनले शरीरलाई रोगी बनाउँछ । ८० प्रतिशत फाइबर नष्ट भएका मैदाबाट बनाइएका पाउरोटी, कुकिज, बिस्कुट, समोसा, पुरी, चाउमिन आदिले शरीरलाई कार्बोहाइड्रेट त धेरै दिन्छन्; जसले मधुमेह गराउँछ तर यस्ता खानाले शरीरमा क्याल्सियमको कमी गराउने हुँदा हड्डी कमजोर बनाउँछ साथै रोगप्रतिरोधी क्षमता घटाउने हुँदा बिस्तारै शरीर विभिन्न रोगको चपेटामा समेत पर्न सक्छ ।

अहिले बजारमा विभिन्न चाउचाउका विज्ञापन खुबै सुनिन्छन् । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अनुसन्धानअनुसार पिरो चाउचाउको अत्यधिक सेवनले हृदयाघात, मधुमेह, स्ट्रोकजस्ता समस्या हुने बताइएको छ । यस्ता पिरो चाउचाउ खानाले स्कुल, कलेजका विद्यार्थी पेट पोल्ने, पायल्स, आन्द्रामा घाउ हुने, कब्जियतजस्ता समस्या लिएर अस्पताल आउने गरेको पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउनुहुन्छ । पाचन प्रणालीसम्बन्धी यस्ता समस्या खुर्सानीको पिरोभन्दा पनि स्वाद बढाउन यस्ता खाद्यपदार्थमा मिसाइने मोनोसोडियम ग्लुटामेट, बेकिङ सोडाजस्ता पदार्थले भएको उहाँको भनाइ छ ।

जाडो भन्दै स्कुल, कलेज अफिसका क्यान्टिनतिर पनि चाउचाउको सुप खाने चलन बढ्दै गएको देखिन्छ । यसले युवामा समेत पोषक तìवको कमी हुँदै गएको छ । स्कुल, कलेज, अफिस, अस्पतालका क्यान्टिन; जहाँ एकै दिनमा हजारौँ विद्यार्थी, कर्मचारी, बिरामी, डाक्टरले खाजा, खाना खाइरहेका हुन्छन्, यस्ता क्यान्टिनमा समेत मैदाबाट बनेका चाउचाउ, चाउमिन, समोसा, पुरी, दुनट, केक, बिस्कुट नै बढी मात्रामा बेच्नका लागि राखिएका हुन्छन् । दिनहुँ खाइने यस्ता खानाले शरीरलाई हानि पु¥याउने सबैलाई थाहा भए पनि यसका विरुद्ध कसैले मुख खोलेको देखिँदैन । हजारौँ विद्यार्थीले खाना खाने स्कुल, कलेजका क्यान्टिनमा चना, गहुँको पिठोको हलुवा, सुक्खा गहुँ, कोदो, फाँपरको रोटी, आलु पराठा, खीर, गेडागुडी, अण्डा आदि पकाएर राखेको भने एकदमै कम देखिन्छ । आफ्नो स्वास्थ्यको ख्याल गर्ने केहीले आवाज उठाए पनि धेरैजसोलाई आफूले के खाँदैछु भन्ने मतलबसमेत हँुदैन । 

कलेज, स्कुलका क्यान्टिन; जहाँ धेरै विद्यार्थीले एकैचोटि खाजा, खाना खान्छन्, ती धेरै महँगा पनि छन् । कक्षा दससम्म चलेका विद्यालयका क्यान्टिन केही सस्ता भए पनि ११ कक्षादेखिका क्यान्टिन अति नै महँगा छन् । ६, ७ तलामा पढाइ हुने कलेजका क्यान्टिन धेरै माथिसम्म सामान बोक्नुपर्छ भन्दै अति नै महँगोमा खाजा बेच्ने गुनासो विद्यार्थीबाट सुनिन्छ । भुइँतलामा क्यान्टिन भएका स्कुलका क्यान्टिनमा ५० रुपियाँमा दुईटा समोसा र एक कचौरा तरकारी दिन्छन् भने पाँच तला पुग्दा त्यसको ६० रुपियाँ त सात तलामा पुग्दा ८५ रुपियाँ पुगेको पाइएको छ । तला चढ्दै जाँदा थपिने महँगीले विद्यार्थी या त दिनभर भोकभोकै बस्छन् या पसलबाट बीस, तीस रुपियाँमा सजिलै पाइने जङ्कफुड खाएर भोक मेटाउने प्रयास गर्छन् । महँगा कलेजमा त्यही खाजा महँगोमा बिक्री गरेको पाइन्छ भने सस्ता कलेजमा त्यही खाजा सस्तोमा पाइन्छ । जसलाई जे मन लाग्यो त्यही रेट राख्ने, त्यही पकाउने गरेको पाइन्छ क्यान्टिनमा । 

यस्ता क्यान्टिनमा अभिभावक, सरकार वा अन्य निकायका तर्फबाट खानाको गुणस्तर, सरसफाइको कहिल्यै पनि निरीक्षण भएको पाइँदैन । घरमा पनि त्यही चाउचाउ, बिस्कुट खाएर स्कुल जाने तथा स्कुलमा पनि त्यही खाना खाने विद्यार्थीको सर्वाङ्गीण विकास कसरी 

होला ? यस्ता खानाले उनीहरूलाई पोषणको कमी भएर रोग लाग्ने त छँदै छ, त्यसबाहेक पनि पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने, पढ्नमा रुचि नदेखाउने, अल्छी हुँदै जाने, खेल खेल्न अरुचि देखाउने, खेलमा कमजोर नतिजा ल्याउने, खेल्दाखेल्दै ढलेर बेहोस हुनेजस्ता लक्षण देखापरिरहेका छन् । कक्षा आठका विद्यार्थीको शैक्षिक उपलब्धि औसतभन्दा पनि कम पाइएको छ । यसमा उनीहरूले दैनिक खानाबाट पाउने पोषणले पनि असर गरेको हुनुपर्छ । 

विश्वप्रसिद्ध भनाइ रहेको छ– ‘हेल्थ इज वेल्थ’ अर्थात् ‘स्वास्थ्य नै धन हो ।’ रोग लागिसकेपछि शरीर कमजोर त हुन्छ नै, यसले परिवारमा अशान्ति ल्याउँछ । आर्थिक रूपमा मान्छेलाई कमजोर बनाउँछ । कतिपयलाई रोग लागिसकेपछि सजिलै सञ्चोसमेत हँुदैन । कतिपयले रोग लागेकै कारण ज्यान नै गुमाउनुपर्ने अवस्था हुन्छ । यसकारण शरीरलाई स्वस्थ राख्न खानेकुरामा ध्यान दिनु जरुरी देखिन्छ । आफूले खाने दैनिक खानामा बजारमा प्याकेजिङ गरिएका खानाभन्दा पनि मौसमअनुसारका हरिया सागपात, तरकारी, फलफूल, माछामासु, गेडागुडी, दूध तथा दुग्धजन्य पदार्थ, सलादजस्ता फाइभरयुक्त खानेकुरा समावेश गर्नुपर्छ । यस्ता खानेकुराले नै मानिसलाई निरोगी बनाउँछ ।