• ५ असोज २०८१, शनिबार

पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण भएन

blog

साढे पाँच वर्षमा पनि निर्माण पूरा नभएको खजुराको सडक । तस्बिर : सिराज खान नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, माघ १३ गते । बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १८ सय मिटर सडकको निर्माण कार्य पूरा भएन । ठेकेदारले खजुरा बजारको १८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भैरहेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् । 

बाँकेको खजुरा गाउँपालिकाको ईलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर चार लेन सडक निर्माणको काम हुन नसकेको हो । चार लेन सडक निर्माणको काम गर्ने ठेक्का २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा पाएको थियो । 

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएकोेमा ६८ महिना बिते पनि अझै सडक अपुरो छ । विभिन्न बहानामा पटक पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाले बताउनुभयो ।  स्थानीयले सडक निर्माणको माग गर्दै पटक पटक आन्दोलन भए पनि सडक अझै अलपत्र रहेको उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार कोरोना महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमा काम नसकिएको जानकारी गराएर निर्माण कम्पनीले म्याद थप गर्दैआएको छ । 

सडक बारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताउनुभयो । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिनुभएको छ । मन्त्री केसीले ठेकेदार वामदेव रेग्मीलाई फोन गरेर तत्काल फिल्डमा आएर अधुरो सडकको काम पूरा गर्न निर्देशन दिनुभयो ।