काठमाडौं, माघ १० गते । शहीद सप्ताहको पहिलो दिन आज (मङ्गलबार) शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ ।
काठमाडौंको टेकु मचलीस्थित शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौं महानगरका प्रमुख एवम् शहीद सप्ताह मूल समारोह समितिका संयोजक बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले शहीदको सालिकमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो ।

त्यस अवसरमा कार्यपालिका सदस्य, वडा सदस्य, महानगरका कर्मचारीसहित सर्वसाधारणले पुष्पगुच्छा चढाउनुभएको थियो । यो स्थानलाई वि.सं २०३५ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।
शास्त्रीले नागरिक स्वतन्त्रताका लागि शासकबाट प्राण बक्सिस माग्नुभन्दा प्राणदण्ड स्वीकार गर्नुभयो । यो अहिलेका पुस्ताका लागि ठूलो सिकाइ हो । सभामा संक्षिप्त मन्तव्य राख्नुहुँदै महानगरका उपप्रमुख डङ्गोलले शास्त्रीको योगदानका विषयमा चर्चा गर्नुभयो ।
‘‘नेपाल भाषालाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान छ । शास्त्रीले नागरिक जीवनको सहजताका लागि गर्नुभएको योगदानका विभिन्न आयाम छन् ।,’’ उपसभामुख डङ्गोलले भन्नुभयो ।

यसैगरी, वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले एक दिन शहीद सम्झिएर नपुग्ने धारणा राख्नुभयो । उभिएर बोलेको कसुर लगाएर प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको योगदानको सम्मानमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
बोलेको भरमा मृत्युदण्ड दिने त्यो समय मन लागेको कुरा बोल्न पाइने यो दिनमा कसरी रूपान्तरण भयो ? त्यसका लागि कसले के योगदान गरेका थिए ? इतिहासको त्यो पक्ष बिर्सिन मिल्दैन भनाइ नेपाल आर्य समाजका अध्यक्ष डा. माधवप्रसाद उपाध्यायको छ । त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका प्रमुख समेत रहनुभएको डा. उपाध्यायले शहीदहरूको बलिदानकीको सम्मानमा समन्वयात्मक कामको खाँचो रहेको बताउनुभयो ।
पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउन बलिदानी दिने शहीदको योगदानको सम्मानमा काठमाडौं महानगरको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् ।
यस क्रममा माघ १३ गते सिफलमा शहीद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा हुनेछ ।
महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार शहीदहरूको पूर्ण कदको सालिक उहाँहरूले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको सालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ साल स्थापना गरिएको हो । माथेमाको सालिक उनको जन्म स्थान ओमबहालमा पनि स्थापना गरिएको छ ।
यस वर्षको माघ १६ गते शान्तिबांटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित शहीद पार्कमा पुग्नेछ । सङ्घीय मन्त्री तथा प्रदेश मन्त्रीहरू, सांसदसहित उच्च पदस्थ पदाधिकारीहरू प्रभातफेरीमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री सिँधै शहीद पार्कमा जानुहुनेछ । त्यस अवसरमा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गर्नेछ ।