• १३ साउन २०८१, आइतबार

बुटवलमा फागुन २ गतेदेखि कृषि मेला हुने

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ ९ गते । फागुन पहिलो सातादेखि बुटवलमा कृषि मेला हुनेभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको पहिलो साता बुटवलमा कृषि मेला आयोजना गर्न लागिएको हो । 

सङ्घको कार्यसमिति बैठकले फागुनको २ देखि ६ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको सङ्घका महासचिव विमलराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कृषिको व्यावसायिक विकासका लागि कृषिमा प्रविधिको प्रयोग र व्यावसायिक कृषिलाई जोड दिँदै कृषि मेला आयोजना गरिएको हो । 

पाँच दिनसम्म सञ्चालन गरिने कृषि मेलामा उत्कृष्ट कृषि उत्पादन, आधुनिक कृषि प्रविधि, कृषिऔजार र मेसिनरी, व्यावसायिक कृषि खेती प्रणालीलगायतका करिब ५० स्टल राखिनेछ । कृषि मेलाका लागि सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । 

त्यस्तै, सहसंयोजकमा सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उपसंयोजकमा उद्योग उपाध्यक्ष टङ्कप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, मूल समितिका सदस्य सचिवमा महासचिव विमलराज भट्टराई रहनुभएको छ ।

त्यस्तै, कोषाध्यक्ष नवीनप्रसाद श्रेष्ठलाई आर्थिक व्यवस्थापन, सचिव मुक्ति अधिकारीलाई सचिवालय व्यवस्थापन र कार्यसमिति सदस्य वसन्तप्रसाद ढकाललाई कृषि मेला समन्वय संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकले सङ्घका निवर्तमान अध्यक्ष खिमबहादुर हमाललाई मूल्याङ्कन तथा पुनरावलोकनको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी बैठकले कार्यसमिति सदस्य नरेशकुमार श्रेष्ठलाई स्टल निर्माण समिति, दिनेश श्रेष्ठलाई मञ्च व्यवस्थापन, सञ्जय कलवार जैसवाललाई तालिम तथा गोष्ठी, नेत्रप्रसाद पाण्डेलाई सांस्कृतिक कार्यक्रम व्यवस्थापन, प्रतीक पोखरेललाई गेट व्यवस्थापन, कृष्णप्रसाद श्रेष्ठलाई सुरक्षा व्यवस्थापन, काशिराम पौडेललाई खाजा व्यवस्थापन, मीना श्रेष्ठलाई अतिथि सत्कार, जमुना पौडेललाई प्रचार प्रसार, त्रिविक्रम श्रेष्ठलाई विद्युत तथा साउण्ड सिस्टम, टीकाराम वञ्जाडेलाई स्टल वितरण तथा उत्प्रेरक, दीपक चापागाईँलाई सौजन्यको जिम्मेवारी प्रदान गरिएको छ ।