काठमाडौं, माघ ९ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले बलियो टोली म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले युनाइटेडमाथि ३–२ गोलको पुनरागमन जित निकालेको हो । आर्सनलको जितमा इडवार्ड एनकेटिहले दुई तथा बुकायो साकाले एक गोल गर्नुभयो । युनाइटेडका मार्कुस रासफोर्ड र लिसान्द्रो मार्टिनेजले गोल सान्त्वना बन्यो ।
१७औँ मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको उत्साह जगाउनुभयो । २४औँ मिनेटमा आर्सनलका इडवार्ड एनकेटिहले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
५३औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अगाडि बढाउनुभयो । ५९औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याउनुभयो ।
त्यसपछि इन्जुरी समयमा एनकेटिहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई रोचक जित दिलाउनुभयो । जितसँगै शीर्षस्थानमा यथावत् रहेको आर्सनलले १९ खेलबाट ५० अङ्क बनाएको छ ।
एक खेल बढी खेलेको पराजित युनाइटेड ३९ अङ्कसहित चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ४५ अङ्क पुगेको छ ।
आइतबार राति नै भएको खेलमा सिटीले वल्भ्सलाई उसैको मैदानमा ३-० गोलले हराएको थियो । सिटीको जितमा एर्लिङ हालान्डले ह्याट्रिक गर्नुभयो । अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफर्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी