• २५ जेठ २०८२, आइतबार

उत्पादक र उपभोक्तालाई जोड्दै पहाडका हाटबजार

blog

फिदिम समाचारदाता

फिदिम, माघ ९ गते । फिदिम नगरपालिका–५ की भीममाया तुम्बापो साताको प्रत्येक शनिबार सदरमुकामको शिवालय मन्दिरछेउमा लाग्ने शनिबारे हटिया आइपुग्नुहुन्छ।

बिहान झिसमिसे उज्यालो नहुँदै सुँगुरका पाठा, कुखुरा र अन्डा ल्याएर बेचेपछि आवश्यकताअनुसार नुन, तेल र बेसार किनेर घर फर्किनुहुन्छ।

“गाँउमा धेरै बिक्दैन, हाटबजार ल्यायो भने सजिलै सबै बिक्छ, त्यसैले हप्तैपिच्छे यहीँ आउँछु,” तुम्बापोले भन्नुभयो।

फिदिम–७ का अगमबहादुुर नेम्वाङ महिनामा एक पटक यो हटिया आइपुग्नुहुन्छ। “अघिल्लो साँझ आएर एक रात बास बसी लाहा, मेवा, लप्सी, बयर र दलहन किनेर साँझपख घर फर्किन्छु। लेकमा फलेको सागसब्जी औलमा बस्ने र औलमा नफल्ने लेकका मान्छेले किनेर खान पाइने भएकाले यो हटिया महिनैपिच्छे आउने गरेको हुँ,” उहाँले सुनाउनुभयो। 

फिदिम–११ फेवादिनका सञ्चबहादुर मग्रातीले यो हाटमा मादल बेच्न थालेको ४० वर्ष पुग्न लाग्यो। “बाबुबाजेले पनि यही हटियामा ल्याएर बेच्नुहुन्थ्यो, अहिले म बेच्दै छु,” मग्रातीले भन्नुभयो। 

पाँचथरको फिदिममा लाग्ने शनिबारेसँगै जिल्लाका विभिन्न स्थानीय तहमा फरकफरक बार र गतेका आधारमा लाग्ने साप्ताहिक र पाक्षिक हाट स्थानीय उत्पादन खरिद बिक्री र विनिमयको भरपर्दो माध्यम बनेका छन्।

आफूले उत्पादन गरेको साग, सिस्नु र किनामा हटियामा बिक्री गरेर घरखर्च चलाउन सँगै पुराना दौँतरीसँग भेटेर भलाकुसारी गर्न पनि हाटबजार माध्यम बनेको स्थानीयवासीको टिप्पणी छ।

हाटबजारमा साग, सिस्नु, गुन्द्रुक, सिन्की, अचार, खुर्सानी, बेसार, दलहन र किनामासहितका स्थानीय उत्पादनसँगै सुँगुर तथा बङ्गुरका पाठापाठी र कुखुरा, बाख्रासम्म किनबेच हुने फिदिम­–१ का वडाध्यक्ष गजाधर भट्टराईले बताउनुभयो। “आआफ्नो रुचि र स्वादअनुसारका वस्तु किनबेच र विनिमय गर्न पाइने भएकाले यस्ता हाटबजारलाई उत्पादक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने माध्यमका बनेका छन,” उहाँले भन्नुभयो। पहाडी जिल्ला पाँचथरसहित ताप्लेजुङ र तेहथुमलगायतका स्थानमा गाउँपिच्छे बार र गतेअनुसार साप्ताहिक र पाक्षिक रूपमा हाटबजार लाग्छन्। पहिले पञ्चमी, सप्तमी, दशमी, औँसी, एकादशी र पूर्णिमाजस्ता तिथिका आधारमा लाग्ने गरेका हाटबजार द्वन्द्वकालमा रोकिएका थिए। अवस्था सहज भएसँगै तिथिका आधारमा लाग्ने बजार गतेका आधारमा लाग्न थालेका हुन्।

पाँचथरको फिदिम र तेह्रथुमको सङ्क्रान्तिमा शनिबार हाट लाग्छ। यसबाहेक फिदिम–५ को जोरसालमा औँसी, पूर्णिमा तथा यासोक रवि र घुर्बिसे पञ्चमीलगायतका स्थानमा गतेका आधारमा पाक्षिक हाट लाग्ने गरेका छन्।