• १३ साउन २०८१, आइतबार

जनताप्रतिको उत्तरदायित्व र जबाफदेहिता पहिलो प्राथमिकता : सभामुख

blog

सभामुख देवराज घिमिरे

काठमाडौं, माघ ७ गते । सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जबाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने बताउनुभयो ।

सभामुख घिमिरेले सांसदहरूलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गर्नुभयो । उहाँले विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताउनुभयो । उहाँले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरूको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले प्रतिनिधि सभा सांसदहरूलाई सभामा प्रस्तुत हुँदा रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि आग्रह गर्नुभयो ।