• १२ असार २०८१, बुधबार

शव परीक्षण चाँडो गर्न निर्देशन

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बिहीबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका शव पहिचानको स्थितिबारे जानकारी लिनुका साथै मृतकका आफन्तसँग भेट गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ, माघ ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगी यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाका परिवारसँग भेट गर्नुभयो। 

शव परीक्षण गरी परिवारलाई बुझाउन ढिलाइ भइरहेको सन्दर्भमा उहाँले शव परीक्षण (पोस्टमार्टम)को कार्य चाँडो गराउने पनि वचन दिनुभयो। 

उहाँले शव पहिचानको काम शीघ्र सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र परिवारलाई छिटो हस्तान्तरण गर्न निर्देशन दिनुभयो। त्यसका लागि आवश्यक पर्ने सहयोग सरकारसँग माग्न पनि अस्पताल पदाधिकारीलाई उहाँले आग्रह गनुभयो। केही दिनदेखि पोस्टमार्टमको कामले गति लिन नसक्दा गुनासो बढेको सन्दर्भमा प्रधानमन्त्रीले यो निर्देशन दिनुभएको हो।  

अहिले त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग अगाडि मानिसको भीड लाग्ने गरेको छ। बुधबार र बिहीबार शिक्षण अस्पताल फरेन्सिक विभाग पुग्दा मानिसहरू निराश हुँदै फोन गरिरहेका भेटिन्थे। शिक्षण अस्पतालमा पोखरामा माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेका आफन्तको भीड लाग्ने गरेको छ। दुर्घटनामा परेकाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम हुन नसकेपछि काठमाडौँ ल्याइएको छ। विमान दुर्घटनामा मृत्यु भएकाको शव पोस्टमार्टम गर्न ढिलाइ भइरहेको सन्दर्भमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले लामो फेहरिस्त सुनाउनुभयो। उहाँले भन्नुभयो, “यो सामान्य पोस्टमार्टम होइन, आम नागरिकको चासो छ, बीमाको विषय छ, विदेशी नागरिकको समेत विषयलाई सामान्य रूपमा लिनु हुँदैन।”

पोस्टमार्टम छिटो गरिदिन आफूलाई उच्च ओहदामा बसेका व्यक्तिदेखि मन्त्री, सचिवको समेत बारम्बार फोन आउने गरेको उहाँले गुनासो गर्नुभयो। डा. काफ्लेसँग दुर्घटनाका विषयमा कुराकानी गरिरहेका बखत पनि पोस्टमार्टममा किन ढिलाइ भयो भन्दै फोन आइरहेको थियो। 

केही वर्षअघि जहाज दुर्घटना हुँदा विदेशी भनेर बेलायत पठाइएको शव नेपालीको भएर पुनः नेपाल फिर्ता ल्याइएको थियो।  डा. काफ्लेले भन्नुभयो, “पोखरा दुर्घटनामा पनि धेरै जना विदेशी हुनुहुन्छ, ती शव पनि चिन्न सक्ने अवस्थामा छैनन्। यदि विगतको घटना दोहोरियो भने के हुन्छ ?” त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले आफूले छिटै गरेर पोस्टमार्टम छिटो नहुने बताउनुभयो। अधिकांश शव जलेर चिन्न सक्ने अवस्थामा छैनन्, उहाँले भन्नुभयो, “उनीहरूको दाँत बनावट, शरीरभित्र राखिएको इम्प्लान्ट, दुर्घटनाअघि गरिएको शल्यक्रिया, फिङ्गर प्रिन्ट सबै मिलेर शवको पहिचान भएपछि मात्र आफन्तलाई शव बुझाउनुपर्ने हुन्छ।”

यसैबीच हालसम्म २५ वटा शवको पोका खोलेको र २५ मध्ये १६ शवको पहिचान भएको हो। १२ जनाको शव आफन्तलाई बुझाइएको छ भने चार जनाको बाँकी छ। त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमु्ख डा. गोपाल चौधरीले १६ शवको पहिचान भएको जानकारी दिनुभयो। बाँकी २३  शवको पोको अझै खोलिएको छैन, प्रमुख डा. चौधरीले भन्नुभयो, “शनिबारसम्म सबै शवको पोस्टमार्टम सक्ने लक्ष्य रहेको छ।”

पोका खोलिएकामध्ये नौ जनाको अझै पहिचान हुन नसकेको उहाँको भनाइ छ। सकभर डीएनए गर्न नपरोस् भन्ने उद्देश्यका साथ पोस्टमार्टम भएको छ, डा. चौधरीले भन्नुभयो, “डीएनए गर्नुअघि पनि धेरै वैज्ञानिक तरिकाबाट पोस्टमार्टम गर्न सकिन्छ।” 

डा. काफ्लेका अनुसार बुधबारदेखि पाटन अस्पताल, भक्तपुर अस्पताल, भरतपुर अस्पतालमा कार्यरत फरेन्सिक विशेषज्ञ झिकाएर पोस्टमार्टम गर्न सुरु गरिएको छ। प्रहरीले कपडा वा अन्य वस्तुको आधारमा सनाखत गरेका शव आफन्तलाई दिन मिल्दैन। विदेशीको भनिएको शव नेपाली परे वा नेपाली भनिएको शव नेपाली परेमा ठूलो मेडिकल इस्यु बन्ने भएकाले पोस्टमार्टममा ढिलाइ भएको काफ्लेले बताउनुभयो। पोखरामा एउटै शवलाई तीन पक्षले दाबी गरेका थिए। त्यो शव तीन जनामध्ये कसलाई दिने भन्दै ठूलो इस्यु भएकाले ढिलाइ हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो।

 

  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।