सन्तोष दहित
दाङ, कात्तिक १५ गते । लुम्बिनी प्रदेश सभाले जनमत पार्टीका तर्फबाट रिक्त रहेको समानुपातिक सदस्यमा निलम पासवानलाई नियुक्त गरेको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ की पासवान जनमत पार्टीका कार्यकारिणी सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उहाँलाई प्रदेश सभा सदस्यमा नियुक्त गर्नुभएको हो ।
यसैबिच, पासवानले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । निर्वाचन आयोगले जनमत पार्टी नेपालको समानुपातिकतर्फको बन्द सूची–४ मा दलित क्लस्टरको १ नम्बरमा रहेकी पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको थियो ।
यसअघि आदिवासी जनजाति क्लस्टरका प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो स्थान रिक्त बनेको थियो । जनमत पार्टीले क्लस्टरअनुसार नाम सिफारिस गरेपछि पासवान निर्वाचित हुनुभएको हो । लुम्बिनी प्रदेशमा हाल ८७ जना प्रदेश सभा सदस्य रहेका छन् ।