• १५ कात्तिक २०८२, शनिबार

‘मोनोपोल’ जडान अन्तिम चरणमा

blog

बुटवल समाचारदाता 

बुटवल, कात्तिक १५ गते । सडकको बिचमै हाइटेन्सन लाइनका कारण विद्युतीय दुर्घटनाको जोखिम बढिरहेका बेला बुटवलको कालिकानगरमा ‘मोनोपोल’ जडानको काम अन्तिम चरणमा पुगेको छ । ‘मोनोपोल’ जडानको काम सकिएपछि उक्त क्षेत्रमा विद्युतीय जोखिमको समस्या कम हुने छ भने सडक दुर्घटनामा समेत कमी आउने भएको छ । बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथको योगीकुटीदेखि होराइजन चोकसम्मको सडकखण्डमा प्रसारण लाइनको ‘मोनोपोल’ जडान कार्य अब अन्तिम चरणमा पुगेको हो । नेपाल विद्युत् प्राधिकरणले चारखम्बे प्रसारण लाइनले जग्गा बढी ओगट्ने र त्यसकै कारण सडकमा दुर्घटनाको जोखिमसमेत बढिरहेका बेला एकखम्बे ‘मोनोपोल’ राख्ने काम सुरु भएकाले अब दुर्घटनाको जोखिमसमेत कम हुने जनाएको छ । 

प्राधिकरणका बुटवल ग्रिड डिभिजन महाशाखाका प्रमुख अनिल बन्जाडेले करिब एक किलोमिटर क्षेत्रमा रहेका चार वटा टावर हटाएर ‘मोनोपोल’ जडान कार्य थालिएको र अब जडानको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले सडकखण्डमा ३०/३० मिटरका दुई वटा र ३२/३२ मिटरका दुई वटा ‘मोनोपोल’ जडान गरिने योजना अनुसार अबको तीनचार दिनभित्रै काम सकिने बताउनुभयो । प्रसारण लाइनलाई सात दिन ‘सटडाउन’ गरी ‘मोनोपोल’ जडान र तार प्रतिस्थापन गत सातादेखि सुरु गरिएको हो । ‘मोनोपोल’ जडानका लागि तीन करोड ६५ लाख रुपियाँमा ठेक्का सम्झौता भएको हो । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले सडक किनारमा राखिएका ठुलो आकारको १३२ केभिए प्रसारण लाइनको चारखम्बे विद्युत् टावरले सडक किनारको जग्गा बढी लिएका कारण दुर्घटनाको जोखिमसमेत बढेको अवस्थामा अब एकखम्बे ‘मोनोपोल’ ले दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो ।