• १२ असोज २०८१, शनिबार

हात्तीबाट बस्तीमा सास्ती

blog

दमक समाचारदाता

दमक, माघ ४ गते । हम्सेदुम्से सामुदायिक वनमा रहेका जङ्गली हात्ती बस्तीमा पसेपछि हात्ती नियन्त्रणका लागि समस्या भएको छ। सोमबार राति वन उपभोक्ता समितिका अध्यक्ष चन्द्र गुरागाईंसहित स्थानीयको घरमा जङ्गली हात्तीको बथानले क्षति पु-याएको छ। 

एक सातादेखि निरन्तर रूपमा बस्तीमा हात्ती प्रवेश गरेर क्षति पु-याउँदै आएको र गत राति आफ्नो घरको पर्खाल भत्काएको अध्यक्ष गुरागाईंले जनाउनुभयो। हात्तीले स्थानीयको घरका विभिन्न संरचना भत्काएको र बालीनालीसमेत खाएर नष्ट गरिदिएको गुरागाईंको भनाइ छ। स्थानीय तुलसी पुरीका अनुसार दिनहुँ हात्ती आउन थालेपछि ज्यान जोगाउन नै मुश्किल बन्न थालेको छ। दिनभर हम्सेदुम्से सामुदायिक वनभित्र रहने हात्ती बेलुका भएपछि गाउँमा पस्ने गरेको उहाँले बताउनुभयो।

केही वर्षयता दमकको वडा नं. ३ र २ हात्तीबाट सबैभन्दा बढी प्रभावित बनेको छ। सामुदायिक वन रहेका यी दुई वार्डमा हात्ती नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन स्थानीयले बारम्बार माग पनि गर्दै आएका छन्। वडा नं. ३ का वडाध्यक्ष नविन बरालका अनुसार भारतबाट आउने जङ्गली हात्ती पूर्वी नाका मेचीनगरको बाहुनडाँगी हुँदै चुरेको फेदी जङ्गलको बाटो यहाँसम्म आएको हुनसक्ने अनुमान गरिएको छ। केही हात्ती यही जङ्गलमै पनि छन्।