• १२ असोज २०८१, शनिबार

सूक्ष्म छानबिन गर्न निर्देशन

blog

दमक समाचारदाता 

दमक, माघ ३ गते । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको दमक–६ स्थित मुख्य बजारमा भएको आगलागीको स्थलगत निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले घटनाको विषयमा सूक्ष्म छानबिन गर्न निर्देशनसमेत दिनुभएको छ । 

उहाँले पीडित व्यापारीहरूलाई पुनस्र्थापना र सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आइतबार बिहान भएको आगलागी स्थलमा आउनुभएका मुख्यमन्त्री कार्कीले पीडित व्यवसायी र स्थानीय व्यवसायीको समस्याबारे जानकारी लिएपछि आगामी दिनमा बजारको सुरक्षा तथा यस्ता प्रकारका घटनाहरू नियन्त्रणका लागि सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान लगाइए पनि प्रहरी अनुसन्धानबाट पसलमा आगो लगाइएको तथ्य खुलेको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

आगजनीबाट त्यहाँका कपडा, जुत्ताचप्पल पसल तथा ट्रेलरिङ सेन्टर गरी नौवटा पसल पूर्ण रूपमा जलेका थिए । व्यवसायीहरूलाई पुनःस्थापना गर्न स्थानीय पालिकासँग गर्ने कार्कीले बताउनुभयो । 

बजार क्षेत्रमा रहेको सीसी क्यामरा फुटेजका कारण आगजनी गराउनेको पहिचान भएको र समयमा नै सबैतिरबाट दमकल आएका कारण ठूलो क्षति हुन नपाएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले मुख्यमन्त्री कार्कीलाई जानकारी दिनुभयो । हामीले चारैतिरबाट दमकल बोलाएका थियौँ र समयमा नै दमकलहरू आएका कारण दमकमा ठूलो क्षति हुनबाट जोगायौँ, थापाले भन्नुभयो ।