• १२ असोज २०८१, शनिबार

व्यक्तिगत घटना दर्ता गराउन सास्ती

blog

देवरामप्रसाद यादव

सप्तरी, माघ ३ गते । सप्तरीको महादेवा गाउँपालिकामा व्यक्तिगत घटना दर्ता गराउन सेवाग्राहीले सास्ती खेप्नु परेको छ । पालिका कर्मचारीको अदक्षताका कारण अनलाइनमार्फत घटना दर्ता गराउँदा सर्वसाधारणले सास्ती पाइरहेका छन् ।

एकातिर कर्मचारी अभावका कारण सेवाग्राही पालिका तथा वडा कार्यालय धाउन बाध्य छन् भने अर्कोतिर स्थानीय तहमा राखिएका पञ्जीकरण शाखाका छवटै वडामा जन्म, मृत्यु, विवाह र बसाइँसराइको प्रमाणपत्र बनाउनुपर्ने बाध्यताले ढिलासुस्ती हुने गरेको पीडितको गुनासो छ ।

४५ वर्षीय खटर सदा हप्तौँदेखि कहिले वडा कार्यालय, कहिले गाउँपालिका र कहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल धाइरहनुभएको छ । महादेवा गाउँपालिका–४ का सदाकी १८ वर्षीया छोरी सोमनीकुमारी सदालाई लिएर सम्बन्धित निकाय धाइरहनुभएको हो । 

जेनतेन अटोरिक्साको भाडा जोहो गरी बुवाछोरी कार्यालयहरू धाइरहेका छन् । पटकपटक ती निकाय पुगे पनि उनीहरूले अपाङ्गताको कार्ड बनाउन सकेका छैनन् । उनीहरूलाई वडाले गाउँपालिका र गाउँपालिकाले वडा तथा अस्पताल पठाउने गरेको छ ।

खटरजस्तै वडाका अधिकांश सेवाग्राहीले यसरी नै जन्म, मृत्यु, विवाह र बसाइँसराइजस्ता घटना दर्ता गराउन सास्ती खेप्नु परेको छ । सोही वडाका २७ वर्षीय देवेन्द्र मुखियालाई विवाह दर्ताको प्रमाणपत्र बनाउन झन्झटिलो लाग्न थालेको छ ।

उहाँले १५ दिनअघि नै वडाबाट सूचना फारामसहितको सिफारिस लिई गाउँपालिकामा रहेको पञ्जीकरण शाखामा बुझाउनुभएको थियो । उहाँले अनलाइन प्रणालीमा दर्ता गरेको प्रमाणपत्रको प्रिन्टकपी कहिले पाउने भन्ने थाहा छैन । दिनहुँ शाखामा ताकिता दिँदा पनि प्रमाणपत्र पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

यसैगरी वडा नं. २ का स्थानीय जयनारायण अधिकारीले वडा कार्यालय र गाउँपालिकाले सेवाग्राहीलाई सास्ती दिनुबाहेक केही काम नगरेको आरोप लगाउनुभएको छ । उहाँले कागजी प्रक्रिया नमिलेको भनेर अदक्ष कर्मचारीले ढाँट्ने कार्य गरिरहेको आरोप लगाउनुहुन्छ ।

उक्त गाउँपालिकाको वडा नं. ४ का वडाध्यक्ष जुगेश्वर साहले प्रत्येक वडा कार्यालयमै कम्प्युटर एवं प्रिन्टर भए पनि कर्मचारीको अभावमा ढिलासुस्ती हुने गरेको बताउनुभयो । उहाँले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित कार्यपालिकाले समयमै कर्मचारीको व्यवस्थापन नगरेकाले वडा र पालिकामा समेत ढिलासुस्ती देखिएको बताउनुहुन्छ । 

एक जना वडा सचिव, मुखिया र कार्यालय सहायक गरी जम्मा तीन जना कार्यरत रहेको वडा नं. ४ मा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र लिन महिनौँ कुर्नुपर्ने बाध्यताले सेवाग्राही सास्ती बेहोर्नु परेको सेवाग्राहीको आरोप छ ।

त्यसैगरी वडा नं. ६ का वडा सचिव कृष्णदेव यादवले वडामा कम्प्युटर अपरेटरसहित चार जना कर्मचारी करारमा खटाएकाले विगतको कार्यकालमा वडाबाटै कार्यसम्पादन हुने गरेको तर अहिले करार कर्मचारीको म्याद नथपिएकाले ढिलासुस्ती हुने गरेको बताउनुभयो  ।

यता गाउँपालिका अध्यक्ष सुनीलकुमार मण्डलले कार्यपालिका बैठक बसेर यसै हप्ता आवश्यक कर्मचारीका लागि विज्ञापन खोल्ने बताउनुभयो । महादेवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा करार र ज्यालादारी कर्मचारीका लागि रु. एक करोड ७५ लाख रकम विनियोजन गरेको छ । 

आर्थिक वर्ष सुरु भएको सात महिना बितिसक्दा पनि करार कर्मचारीका सम्बन्धमा कार्यपालिकाले ठोस निर्णय लिन नसक्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य छन् ।

पहिलो कार्यकालबाट नियुक्त गरिएका कर्मचारीको म्याद नथपिएका कारण विगत महिनादेखि गाउँपालिका कार्यालयलगायत विभिन्न वडाको कार्यसम्पादन सन्तोषजनक नभएको स्थानीय बताउनुहुन्छ ।

स्थानीय सरकार सुशासनप्रति संवेदनशील नभएकाले सप्तरीका अधिकांश स्थानीय तहमा यस्तै समस्या रहेको  छ । आधा घण्टामै हुनुपर्ने जन्म, मृत्यु, विवाह, अपाङ्गता र बसाइँसराइ दर्ता प्रमाणपत्र लिन महिनौँसम्म कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउनुहुन्छ ।