काठमाडौं, माघ २ गते । प्रदेश–१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । इटहरीस्थित जनता क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–१ ले लुम्बिनी प्रदेशलाई नौ रनले हरायो ।
मतदान आसिलो भएकोले ढिलोगरी नौ ओभरमा झारिएको खेलमा प्रदेश–१ ले लुम्बिनीलाई ६० रतनबो विजयी लक्ष्य दिएको थियो । तर लुम्बिनीले निर्धारित नौ ओभरमा सात विकेटको क्षतिमा ५० रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन बनाउनुभयो ।
अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङमा प्रदेश–१ सङ्गीता राईले तीन विकेट लिनुभयो । सबनम राई, ज्योति दनुवार र रुविना क्षेत्रीले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले नौ ओभरमा चार विकेटको क्षतिमा ५९ रन बनाएको थियो । प्रदेश–१ का लागि काजल श्रेष्ठले २१ रन बनाउनुभयो ।
कप्तान रुविना क्षेत्रीले १७ र अप्सरी बेगमले १२ रन बनाउनुभयो । लुम्बिनीका कृतिका मरासिनी, सरस्वती पुन र बिभष्णा बीसीले एक एक विकेट लिनुभयो । जितसँगै समूह ‘बी’ मा रहेको प्रदेश–१ ले चार अङ्क बनाएको छ । पहिलो हार खेपेको लुम्बिनीको समान खेलबाट दुई अङ्क छ ।
सोमबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले हराएको छ । प्रतियोगितामा सुदूरपश्चिमको पनि यो दोस्रो जित हो । जितसँगै सुदूरपश्चिम प्रदेशले चार अङ्क बनाएको छ ।
आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याटर र बलरलाई जनही २० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।