• १३ साउन २०८१, आइतबार

जलविद्युत् केन्द्र बन्दै सङ्खुवासभा

blog

तस्बिर : ध्यान कुलुङ भारतीय जलविद्युत् कम्पनी सतलज जलविद्युत् निगमले निर्माण गर्दै गरेको अरुण तेस्रोको सुरुङ मार्ग ।

ध्यान कुलुङ

सङ्खुवासभा, माघ १ गते । मेन्छ्याम जलविद्युत् परियोजनाको उद्घाटनसँगै सङ्खुवासभा जलविद्युत्को ‘हब’ बन्ने चर्चाले जिल्लावासीमा खुसीको तरङ्ग फैलिएको छ । हुन त मेन्छ्याम जलविद्युत् परियोजना ४.७२ मेगावाटको मात्र हो तर यससँगै सङ्खुवासभामा २२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यसले यहाँको विद्युत् विकासको सम्भावना भने बढाएको छ ।

सङ्खुवासभामा हाल सानो क्षमतामा मात्र विद्युत् उत्पादन हुँदै आए पनि भविष्यमा जलविद्युत्को ‘हब’ बन्ने निश्चित छ । पाँच हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता भएको सङ्खुवासभामा हाल एक हजार १६७ मेगावाट क्षमताको जलविद्युत् परियोजनाको निर्माण भइरहेको छ । विद्युत् विकास विभागको तथ्याङ्कअनुसार हाल १५ वटा प्रवद्र्धक कम्पनीले विद्युत् उत्पादनको इजाजत लिएर निर्माण गरिरहेका छन् ।

एक हजार २५८.१ मेगावाट विद्युत् उत्पादनका लागि पाँचवटा कम्पनीले उत्पादन अनुमति माग गर्दै निवेदन दिएको विभागले जानकारी दिएको छ । सङ्खुवासभामा जलविद्युत्का १८ वटा परियोजनाका लागि सर्भे लाइसेन्स लिएर अध्ययन भइरहेको छ । ती परियोजना सञ्चालन भए दुई हजार ८७.६५ मेगावाट विद्युत् उत्पादन हुनेछ । यसबाहेक छ सय मेगावाट क्षमता भएको लोअर अरुण जलविद्युत् परियोजना अरुण तेस्रो प्रवद्र्धक सतलज जलविद्युत् निगमलाई दिने सरकारले निर्णय गरिसकेको छ । हालसम्मको तथ्याङ्कअनुसार सङ्खुवासभामा पाँच हजार १२५.७५ मेगावाट क्षमताका जलविद्युत् परियोजना निर्माण तथा अध्ययनक्रममा छन् । 

सङ्खुवासभाको अधिकांश विद्युत् उत्पादन माथिल्लो क्षेत्रमा छ । भोटखोला र मकालु गाउँपालिकामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न मकालु गाउँपालिका–४ को हाइटारमा सब–स्टेसन निर्माण गर्न लागिएको छ ।

सिलिचोङ र भोजपुरको उत्तरी क्षेत्रमा उत्पादित विद्युत् सङ्कलनका लागि खाँदबारी–१० को चाँपाबोटे (शीतलपाटी)मा पनि सब–स्टेसन निर्माण गर्न लागिएको छ । हाइटारबाट चाँपाबोटेसम्म ३५ किलोमिटरको प्रसारण लाइन निर्माण प्रक्रिया सुरु गरिएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो प्रसारण लाइन आगामी चार वर्षभित्र सम्पन्न गरिने बताइएको छ ।

चाँपाबोटेबाट तुम्लिङटार सब–स्टेसनसम्मको प्रसारण लाइन निर्माणको कामसमेत सुरु भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण गर्न दुई महिनाअघि भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लिमिटेडलाई ठेक्का दिइएको छ । उक्त कम्पनीलाई ३० महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको प्राधिकरणको तर्फबाट प्रोजेक्ट मेनेजर रघबेन्द्र झाले जानकारी दिनुभयो ।

वसन्तपुर, पिलुवा, बानेश्वर हुँदै तुम्लिङटारसम्म आएको केन्द्रीय प्रसारण लाइन हाल सञ्चालनमा छ । हाइटार, चाँपाबोटे हुँदै तुम्लिङटारमा प्रसारण लाइन जोडिएपछि जलविद्युत् प्रसारण निर्माण कार्य (कोसी कोरिडोर) सम्पन्न हुनेछ । भारतीय निर्माण कम्पनीले निर्माण गर्ने अरुण तेस्रो, अरुण चौथो र तल्लो अरुणबाहेकका सबै उत्पादन यसै प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको एक हजार ६१ मेगावाट क्षमताको अप्पर अरुण जलविद्युत् परियोजनामा ४० प्रतिशत सेयर पाउनुपर्ने माग जिल्लावासीले राख्दै आएका छन् । जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको यो परियोजनाको लागत १९० अर्ब रुपियाँ हुने अनुमान गरिएको छ । सो रकमको ७० प्रतिशत विश्व बैङ्कले ऋण उपलब्ध गराउनेछ ।

बाँकी ३० प्रतिशतबापतको हुन आउने अनुमानित रकम ५७ अर्ब रुपियाँ बराबरको ४० प्रतिशत जिल्लावासीले लगानी गर्न पाउनुपर्ने माग राख्दै आएका हुन् । यसका लागि जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यको संयोजकत्वमा अप्पर अरुण लगानी प्रवद्र्धन तथा निर्माण सहजीकरण समितिसमेत गठन गरिएको छ । समितिले जिल्लावासीको लगानी सुनिश्चितताका लागि ऊर्जा मन्त्रालय र प्राधिकरणमा समेत मागपत्र पेस गरिसकेको छ । 

सङ्खुवासभाका प्रत्येक परिवारलाई सेयर हाल्ने प्रबन्ध मिलाउने, वैदेशिक रोजगारीमा रहेकाहरूले लगानी गर्ने र स्थानीय तहले समेत लगानी गर्दा जम्मा सेयरको ४० प्रतिशत रकम सङ्कलन हुनेमा ढुक्क रहेको सहजीकरण समितिका सदस्यसचिव जलस्रोत विज्ञ डा. बलबहादुर पराजुलीको भनाइ छ ।