• ८ मंसिर २०८१, शनिबार

साझा चाड माघे सङ्क्रान्ति

blog

घिउ, चाकु, तरुल भन्नेबित्तिकै सबैको मुख रसाउँछ । वृद्धवृद्धाहरू पनि लोभिन्छन् । युवकयुवतीलाई त झन् मन नपर्ने कुरै भएन । सबैले रमाई रमाई खाने गर्छन् घिउ, चाकु, तरुल । परापूर्वकालदेखि हाम्रा पुर्खाले ठिहि¥याउने जाडो मौसममा हाम्रो शरीरलाई ठण्डीबाट बचाउन माघे सङ्क्रान्ति मनाउने क्रममा पोषिलो र शक्तिवद्र्धक घिउ, चाकु र तरुल खाने परम्परा चलाएका हुन् भन्न सकिन्छ । 

हाम्रो देश विभिन्न जाति, भाषा, संस्कृति भएको देश हो । यहाँ विभिन्न जातिले विभिन्न तरिकाले माघे सङ्क्रान्तिलाई मनाउँदै आएका छन् । सबै जातिले अत्यन्तै श्रद्धापूर्वक मनाउने यो साझा चाड हो । माघे सङ्क्रान्तिका दिन घिउ, चाकु र तरुल मात्र खाएर पुग्दैन । घिउ, चाकुको साथमा तिलको पनि प्रयोग गर्नुपर्ने अर्थात् तिलको लड्डु पनि खानुपर्ने चलन रहिआएको छ । तिलको लड्डु र तिलकै विभिन्न परिकार पनि खाने चलन छ । पहिले पहिले सेतो तिलको लट्टेपा र तिलहरीको बाजी राखिन्थ्यो । तिलहरी टुक्रा पारेर जोर बिजोरको बाजी लगाइन्थ्यो । त्यो चलन अहिले हराइसक्यो । मोबाइलमा रमेका आजका केटाकेटीलाई यो खेल र खाद्य पदार्थको नाम पनि थाहा छैन होला । नेवारी संस्कृतिमा माघे सङ्क्रान्तिका दिन विभिन्न प्रकारले कालो तिल प्रयोग हुँदै आएको छ । कालो तिलको लड्डु खानुपर्ने, तिल र अमलाको धुलो दलेर बिहानै नुहाउनुपर्ने, छोराछोरीलाई आमाले टाउकोमा तिल राखेर तेल लगाइदिनुपर्ने, पितृ तर्पण पनि तिल राखेर दिनुपर्ने, आगोमा तिल डढाउनुपर्ने, तिल खानुपर्ने अनि तिल दान गर्नुपर्ने परम्परा रहिआएको छ । यसरी विभिन्न प्रकारले तिलको प्रयोग गरिँदै आएकाले यस सङ्क्रान्तिलाई ‘हाम्वः संल्हू’ अर्थात् तिल सङ्क्रान्ति पनि भन्ने गरिन्छ । 

यो दिन नेवारले देवीदेवताको पूजामा पनि घिउ, चाकु, माछा र समेबजी चढाउने गर्छन् । यस्तै पितृलाई पनि घिउ, चाकु, तरुल, माछा, समेबजी, चामल, पालुङ्गो, मास पनि राखेर दान दिने परम्परा छ । घरमा पनि पितृभाग भनेर भोजभाग राखेर चढाइन्छ । यो दिन आफन्त र साथीलाई बोलाएर भोज खुवाउने परम्परा छ । 

नेवारहरूमा माघे सङ्क्रान्ति मनाउँदा बिहे भइसकेका छोरीले बच्चा नजन्माएसम्म श्रीमान्को घरमा घिउ, चाकु खान हुँदैन भन्ने मान्यता छ । त्यसैले उनीहरू माइतीमै आएर घिउ, चाकु खाएर माघे सङ्क्रान्ति मनाउँछन् । घिउ, चाकु र समेबजीका साथै सिद्रा माछा पनि खानुपर्छ भन्ने चलन छ । सिद्रा माछा खाएमा शत्रु कमजोर हुन्छ र हरियो लसुनको टाउको टोकेमा शत्रुको टाउको टोके बराबर हुन्छ भन्ने मान्यता रहिआएको छ । घिउ, चाकु र समेबजीका साथै थलथले मासु, सिद्राको पनि थलथले खाने गरिन्छ । यसरी रमाइलो गरी माघे सङ्क्रान्ति मनाउने क्रममा बिहान मकलमा आगो बालेर घिउ, चाकु, तरुल र पाकेका खाद्य पदार्थ एक÷एक टुक्रा चढाइन्छ भने सिद्रा माछा पनि आगोमा चढाइन्छ । 

यस दिन सनातनीहरूले बिहानै नदी, खोला, तलाउजस्ता पवित्र स्थानमा स्नान गर्छन् र पितृलाई तर्पण दिन्छन् । आफ्नै किसिमले माघे सङ्क्रान्ति मनाउँछन् । सनातनीहरूले पनि आफ्नो संस्कारअनुरूप घिउ, चाकु, तरुल र अन्य खाद्य परिकार पकाएर खाने गर्छन् । 

तराईका थारूहरूले चाहिँ माघे सङ्क्रान्तिलाई माघी पर्वका रूपमा धुमधामसँग मनाउँछन् । थारूले यस दिनलाई नयाँ वर्षका रूपमा पनि मनाउँछन् । पाँच दिनसम्म रमाइलो गर्दैै धुमधामसँग माघी पर्व मनाउँछन् । थारूले यस दिन सुँगुरको मासु खाएर धमार गीत गाउँदै धुमधामले यो चाड मनाउँछन् । 

यस्तै मगरले पनि माघे सङ्क्रान्ति धुमधामले मनाउँछन् । यस अवसरमा खास गरेर धनुषवाण खेल्ने, छेलो हान्ने, वनको तरुल, भ्याकुर र माछामासु खाइन्छ । मासको दाल, चामल र नुन एकै ठाउँमा राखी पकाई खिचडी पनि खाने गरिन्छ । पितृलाई पिण्ड पनि खिचडी नै दिइन्छ । यो दिन मगरले आफ्ना चेलीबेटी र साथीलाई बोलाई भोज खुवाउँछन् । नेपाल सरकारले २३ पुस, २०६५ मा माघे सङ्क्रान्ति मगर जातिको राष्ट्रिय पर्व भनी निर्णय गरेको पनि थियो । 

माघे सङ्क्रान्तिकै दिन पनौतीमा मकर मेला लाग्छ । यो मेला लिच्छवि राजा मानदेवले चलाएका हुन् भनिन्छ । यो दिन देशका विभिन्न तीर्थमा माघ स्नानको मेला नै लाग्छ । माघ स्नान गरी मेला भर्ने सन्दर्भमा त्रिशूली र तादी नदीको दोभान देवीघाट, बागमती नदी र मनहरा खोलाको सङ्गम शङ्खमूल, त्रिशूली र कालीगण्डकीको नदीको सङ्गम देवघाटमा मेला लाग्छ । देवघाटमा मेला भर्न नेपाल र भारतका हजारौँ भक्तजनको भीड लाग्छ । माघे सङ्क्रान्तिका दिन मेला भर्न र पितृ तर्पण दिन हजारौँको सङ्ख्यामा एक दिनअघि नै देवघाटमा बास बस्न पुग्छन् ।