• १२ असोज २०८१, शनिबार

मानेभन्ज्याङमा आँखा केन्द्र

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, पुस ३० गते । मानेभन्ज्याङ गाउँपालिकामा आँखा केन्द्र स्थापना गरिएको छ । ओखलढुङ्गा सामुदायिक आँखा केन्द्रको शाखाका रूपमा मानेभन्ज्याङमा मोतीराज राई ग्रामीण आँखा केन्द्रको स्थापना गरिएको हो । 

बिहीबार सामुदायिक आँखा केन्द्रका अध्यक्ष मोहनकुमार श्रेष्ठ र मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले केन्द्रको औपचारिक उद्घाटन गर्नुभएको छ । 

आँखाको जाँच तथा उपचारका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष रुम्दालीले बताउनुभयो । गाउँ गाउँमा आँखा परीक्षण शिविर सञ्चालन गर्ने गरिएको ओखलढुङ्गा सामुदायिक आँखा केन्द्रका अध्यक्ष श्रेष्ठको भनाइ छ । मानेभन्ज्याङ बजारमा स्थापना भएको ग्रामीण आँखा केन्द्रको विकासका लागि निवर्तमान गाउँपालिका अध्यक्ष मोतीराज राईले तीन लाख रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको छ । उहाँकै नामबाट आँखा केन्द्र स्थापना गरिएको हो । 

केन्द्रमार्फत स्थानीय नागरिकले आँखा जाँच, चस्मासम्बन्धी सेवा, आवश्यक औषधि व्यवस्था तथा आँखासम्बन्धी समस्याको बारेमा परामर्श दिने काम गरिने ओखलढुङ्गा सामुदायिक आँखा केन्द्रकी इन्चार्ज टीका राईले बताउनुभयो । 

नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुङ्गा र मानेभन्ज्याङ गाउँपालिकाको संयुक्त सहकार्यमा मानेभन्ज्याङमा मोतीराज ग्रामीण आँखा केन्द्रको  स्थापना गरिएको हो ।