• ८ असार २०८१, शनिबार

कोशीमा हात्ती आतंक : एक वर्षमा आठको ज्यान गयो

blog

सुनसरीको कोशी वडा ३ का राजेन्द्र साह भैसी चराउने क्रममा अर्नाको आक्रमणबाट घाइते भएपछि विराटनरमा उपचार गराउनुहुँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, पुस २८ गते । सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा कोशीटप्पु वन्यजन्तु आरक्षका अर्ना र हात्तीको आतंक कायमै रहेको छ । जंगली जनावरको आंतक जारी रहँदा स्थानीयहरु त्रसित बनेका छन् । 

यस हप्तामा मात्रै दैनिक अर्ना स्थानीयको खेतबालीमा आएको दर्जन बढी घटना भएका छन् । त्यसमध्ये बालीको क्षतिसँगै कोशी –३ नम्बर वडाका मनोहर साह र राजेन्द्र साह भैसी चराउने क्रममा कोशीटप्पु बन्यजन्तु आरक्षको अर्नाको आक्रमणबाट घाइते हुनुभयो । 

उहाँसँगै कयौ स्थानीयको बाली खाई कुल्ची क्षति गरेको छ । सामान्यदेखि गम्भीर घाइते हुनेगरी आक्रमण गरेको कोशी गाउँपालिका –३ का वडा अध्यक्ष सुलेमन मन्सुरीले जानकारी दिनुभयो । 

मंसुरीले भन्नुभयो, “यसपाली जति जाडो बढिरहेको छ, त्यति कोशी क्षेत्रमा अर्ना र हात्ती आतंक बढेको छ । अर्ना र हात्तीको तनाव कायमै रहेकाले विपन्न समुदायको बिचल्ली भएको छ ।” पर्यटकीय क्षेत्र भनिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक कम र त्यहाँबाट निस्केर गाउँ पसेका जंगली अर्ना र हात्तीका कारणले तानव र त्रास मात्रै बढाएको उहाँको भनाइ छ । 

सुनसरीको कोशी क्षेत्रमा एकपछि अर्को जंगली जनावरको आतंक र आक्रमण बढेपछि स्थानीय त्रसित बनेका छन् । आर्थिक वर्ष २०७८–७९ मा हात्तीको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ । सोही संख्यामा घाइते भएका छन् । मृतकका परिवारलाई जनही १० लाख रुपियाँका दरले ८० लाख रुपियाँ वितरण गरिएको आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिनुभयो । 

हात्तीले ३०२ वटा घरटहरामा क्षति गरेका छन् भने किसानले लगाएको अन्नबालीहरु ४३१ स्थानमा खाएर नष्ट गरेको तथ्यांक छ । हातीले मात्रै एक वर्षमा मानवीय क्षतिसहित एक हजार १२ वटा घटना गरेको तथ्याङ्क छ ।

आरक्षको अकार्षकको रुपमा रहेका नेपालको मात्रै नभई विश्वमै लोपोन्मुख अवस्थाको जंगली भैसी (अर्ना) को आक्रमणबाट सात जना घाइते भएका छन् । अर्नाले आरक्ष आसपास मध्यवर्ती क्षेत्रका १७५ जना किसानको बालीमा नोक्सानी गरेको छ । 

पुस महिनामा मात्रै दुई जना घाईते भएको र दर्जन बढी किसानको बालीमा नोक्सानी गरेकाले स्थानीयहरु त्रसित बनेका छन् । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले दीर्घकालिन समस्या समाधानका लागि संघीय सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।