• ११ असार २०८१, मङ्गलबार

काठमाडौं–तराई / मधेश द्रूतमार्ग

भौतिक प्रगति २१ प्रतिशत मात्र

blog

सांकेतिक तस्बिर ।

काठमाडौं, पुस २८ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गकाे २१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । नेपाली सेनाकाअनुसार मङ्सिर मसान्तसम्मको तथ्याङ्कअनुसार २१ प्रतिशत मात्र काम सम्पन्न भएको हो । नेपाली सेनाले निर्माणको जिम्मा पाएको यस आयोजनाको २१.६४ प्रतिशत भौतिक प्रगति भएको छ भने २०.०४ प्रतिशत वित्तीय प्रगति भएको प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।

२०८१ मङ्सिर महिनासम्म यस आयोजना सक्ने लक्ष्य छ । तर, अझै ७९ प्रतिशत नै काम बाँकी रहेकाले यस आयोजना निर्माणकार्य तोकिएकै समयमा सम्पन्न नहुने देखिएको छ । सरकारले २०७४ सालमा यसको जिम्मा नेपाली सेनालाई दिएको थियो । दुई वर्षपछि २०७६ साल भदौ १ मा सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको थियो ।

नेपाली सेनाका प्रवक्ता भण्डारीले भन्नुभयो, ‘२०८१ सालको मङ्सिर महिनामा यो निर्माण कार्य सक्ने लक्ष्य रहेअनुसार काम तीव्र गतिमा भइरहेको छ । तर, कार्य प्रगति अहिले २१ प्रतिशत मात्र काम सम्पन्न भएकाले काम तोकिएकै समयमा सक्न भने चुनौती छ ।’

आर्थिक तथा व्यापारिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको यस आयोजनाको काम तोकिएकै समयमा सम्पन्न नहुँदा समयसँगै लागत पनि बढ्ने देखिएको छ । काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको यस मार्गका कारण तराईमा उत्पादित वस्तु तथा सेवाहरु राजधानी ल्याउन र राजधानीबाट तराई आवतजावत तथा वस्तुको व्यापार गर्न पनि सहज हुने अपेक्षा गरिएको छ ।

 ८७ वटा पुल

यस आयोजनामा कुल ८७ वटा पुल रहनेछन् । जसमध्ये सुरुङखण्डको ४५ वटा पुलको ठेक्का प्रक्रिया सम्पन्न भई निर्माणकार्य चलिरहेको र बाँकी ४२ वटा पुल ठेक्का लाग्ने प्रक्रियामा रहेको प्रवक्ता भण्डारीको भनाइ छ । यस आयोजनामा सुरुको दिनमा सार्वजनिक खरिद ऐनका कारण खरिद प्रक्रियामा नै समस्या भएकाले निर्माण कार्यमा केही बाधा परेको उहाँको भनाइ छ ।

फास्टट्रयाक निर्माणको क्रममा रुख कटानको लागि केही प्रक्रिया हुने भएकाले पनि निर्माण कार्य ढिलाइ भएको उहाँको भनाइ छ । पहिले रुख कटानका लागि वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति लिनुपर्ने र काटिएका रुखहरुको सट्टा अन्य रुखहरु रोप्नुपर्ने भएकाले पनि ढिलाइ भएको फास्टट्रयाक निर्माणलाई गति दिन सेनाका प्रवक्ताको संयोजकत्वकाे समिति गठन भएको छ ।

तीनवटा सुरुङमार्ग

यस राजमार्गमा तीनवटा सुरुङमार्ग  रहनेछन् । कुल ६.४१ किलोमिटर रहेने उक्त सुरुङमार्ग  महादेवटारमा ३.३५ किलोमिटर, धेन्द्रे सुरुङमार्ग  १.६३० किलोमिटर, लेनडाँडा सुरुङमार्ग  १.४३० किमी रहेको छ । यस सुरुङमार्ग अन्तर्गत प्याकेज न १ अन्तर्गत महादेवटार सुरुङमार्गका निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ् कम्पनी चाइना र प्याकेज २ अन्तर्गत धेन्द्रे तथा लेनडाँडा सुरुङमार्ग  निर्माणका लागि पोली चन्दा इन्जिनियरिङ् कम्पनी चाइनासँग आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भई दुवै प्याकेजको निर्माण कार्य भइरहेको सेनाका प्रवक्ता भण्डारीले बताउनुभयो ।

महादेवटारको सुरुङमार्ग खण्डको प्रवेशद्वारको दायाँतर्फ २०३ मिटर, बायाँतर्फ २३७ मिटर तथा बाहिरिनेको दायाँतर्फ १९४ मिटर र बायाँतर्फ २५३ मिटर सुरुङमार्ग  खन्ने कार्य सम्पन्न भएको छ । धेन्द्रेतर्फको प्रवेशद्वारको दायाँतर्फ १५६ मिटर, बायाँतर्फ ३३३ मिटर तथा बाहिरिनेको दायाँतर्फ प्रवेशद्वार निर्माणको काम भइरहेको छ ।

यस्तै, लेनडाँडा सुरुङमार्गको सुरुङमार्गतर्फ दायाँ र बाँया तर्फ क्यानोपी कन्स्ट्रक्सन सम्पन्न भई उत्खननकाे कार्य सुरु भएको छ । बाहिर निस्कनेको दायाँतर्फ १५९ मिटर तथा बाँयातर्फको १३० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । पौने दुई खर्ब लागत अनुमान रहेको द्रुतमार्ग ७२.५ किलोमिटरको हुनेछ ।


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।