• १२ असोज २०८१, शनिबार

आम्दा अस्पताल तोडफोड

blog

दमक समाचारदाता,दमक, पुस २७ गते । दमकस्थित आम्दा अस्पताल तोडफोड भएपछि अस्पतालले उपलब्ध गराउँदै आएका सेवाहरू अवरुद्ध बनेका छन् । मङ्गलबार बिहान अस्पतालका विभिन्न विभाग तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण हुने अवस्था आएपछि बिरामीको भागदौड मच्चिएको थियो ।

दुई दिनका एक शिशुको मृत्यु भएपछि आक्रोशित बनेका शिशुका परिवार तथा आफन्तले अस्पताल तोडफोड गरेका हुन् । गर्भवती महिलालाई राखेर सुत्केरी गराउने कार्यकक्ष केही दिन सञ्चालन नै गर्न नसकिने गरी तोडफोड भएको अस्पतालले जनाएको छ । सीसी क्यामरा पनि फुटाइएको छ ।

एक्कासि औषधिदेखि लिएर सबै नै तोडफोड र छरपस्ट भएको अस्पताल प्रशासनले जनाएको छ । तोडफोड र होहल्ला मच्चिएपछि सुत्केरी गराउन आएका गर्भवती महिला एम्बुलेन्स चढ्दै अन्य अस्पताल गएका थिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश शर्माका अनुसार अस्पतालमा निकै ठूलो क्षति पुगेको छ । गर्भवती महिलाको जाँच र सुत्केरी गराउने गरिएको वार्डमा कुनै पनि सामग्रीहरू सद्धे अवस्थामा छैनन्, उहाँले भन्नुभयो । अस्पतालमा भौतिक रूपमा लाखौँको क्षति भएको र स्वास्थ्यकर्मीलाई काम गर्न नै डराउने अवस्था आएको भन्दै शर्माले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्यकर्मीमाथि नै आइलागेपछि आफूहरूले माक्स लगाएर भागेको र पहिचान नहोस् भनेर अर्कै लुगा लगाएर बिरामीको कुरुवाजस्तो बनेर ज्यान बचाएको अस्पतालका एक चिकित्सकले बताउनुभयो । अस्पतालले बालक मारेको भन्दै आक्रोशित भीडले शल्यक्रिया कक्षमा समेत पसेर तोडफोड गर्ने प्रयास गर्न सुरु गरेपछि प्रहरी पुगेपछि मात्र आपूmहरूको ज्यान बचेजस्तो लागेको ती चिकित्सकले जनाउनुभएको छ ।

अस्पताल तोडफोडपछि जनपथ र सशस्त्र प्रहरीको टोली पुगेर अस्पताल तथा स्वास्थ्यकर्मीलाई सुरक्षा दिएको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र प्रहरीलाई घटनाको विषयमा ढिला गरी जानकारी भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलीप गिरीले बताउनुभयो ।