• १३ साउन २०८१, आइतबार

उर्दु भाषामा ‘नेपालकी आवाज’ प्रकाशन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २६ गते । पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले ‘नेपालकी आवाज’ नामक अनुवाद संग्रह प्रकाशन गरेको छ । त्यसमा मुर्धन्य नेपाली कवि कवयित्रीहरुका प्रतिनिधि कविता समावेश छन् ।

पाकिस्तानको राष्ट्र भाषा उर्दुमा धरणीधर कोइराला, महानन्द सापकोटा, लेखनाथ पौड्याल, गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, केदारमान व्यथित, माधवप्रसाद घिमिरे, विजय मल्ल, भीमनिधि तिवारी, मोहन कोइराला, सारंङ्गी, जगदीश शम्सेर राणाका कविता अनूदीत छन् ।

यसैगरी, पारिजात, भूपी शेरचन, इश्वर वल्लभ, वाशु शशी, द्वारिकालाल श्रेष्ठ, वैरागी काइला, रत्न शम्सेर थापा, कृष्णभक्त श्रेष्ठ, तुलसी दिवस,  कालीप्रसाद रिजालका रचना पनि कृतिमा समावेश गरिएको छ । 

यस्तै, हरिभक्त कटुवाल, उपेन्द्र श्रेष्ठ, भवानी घिमिरे, कुन्दन शर्मा, मदन रेग्मी, विमल कोइराला, एसपी कोइराला, हरि अधिकारी, पुरुषोत्तम सुवेदी, व्याकुल माइला, दिनेश अधिकारी, नवराज लम्साल, मोमिला आदि १०८ वटा कविताको उर्दु भाषामा अनुवाद गरिएको छ । 

कविताको अनुवाद जिया–उल –मुस्तफा तुर्क, सैयद कासिफ रजा, मुनिर फैयाजले गर्नुभएको हो । बहिरी आवरणसहित ३८५ पृष्ठको यस कविता संग्रहको अनुवादमा पछिल्ला १०० वर्षमा लेखिएका नेपालका मुर्धन्य साहित्यकारका कविता समेटिएका छन् । 

पाकिस्तानको राष्ट्रभाषामा नेपालका कवि कवयित्रीहरुका रचना प्रकाशन हुँदा नेपाली साहित्यकारहरुको रचना र पहिचान विस्तार हुने र पाकिस्तानी साहित्यकारलाई नेपाली साहित्यको स्वाद पस्किने अवसर मिलेको छ । 

यसले दुई मित्र देशबीच साहित्यका माध्यमबाट सहयोग अदान–प्रदान हुने एवम द्विपक्षीय समझदारी वृद्धिमा समेत मद्दत मिल्ने देखिन्छ । उक्त कविताको अनुवाद प्रकाशनको कार्यमा नेपाली राजदूतावास, इस्लामाबादले सहजीकरण गरेको जानकारी दुतावासले दिएको छ ।