• ८ पुस २०८१, सोमबार

सुत्केरी खोज्दै गाउँघरमा स्वास्थ्यकर्मी

blog

रजनी योगी

सुर्खेत, पुस २६ गते । स्वास्थ्यकर्मी घरघरमै आएर सुत्केरीको स्वास्थ्य अवस्था बुझ्न थालेपछि दैलेखको भगवतीमाई गाउँपालिका–३, मेहलतोलीकी सरिता बुढा आश्चर्यचकित हुनुभएको छ। जब कि अघिल्ला वर्षमा स्वास्थ्य संस्थामै जाँदासमेत स्वास्थ्य सल्लाह र सेवा पाउन मुस्किल थियो। 

पालिकाका अधिकांश स्वास्थ्य संस्थाबाट सुत्केरी महिलाको घरघरमै पुगेर स्वास्थ्य हेरचाह र पोसिलो खानाबारे परामर्श दिन थालिएको छ। सुत्केरी सरिताले भन्नुभयो, “घरमै आएर स्वास्थ्यसम्बन्धी परामर्श पाएँ, खुसी लाग्यो।”

भगवतीमाईमा स्वास्थ्य सामग्रीसहितको झोला बोकेर स्वास्थ्यकर्मी सुत्केरी खोज्दै घरघरमै पुग्छन्। सोही वडाकी कालिका चन्दले स्वास्थ्यकर्मी घरमा आउँदा आफ्ना स्वास्थ्य समस्या राख्न सहज भएको बताउनुभयो। भौगोलिक विकटता र यातायातको सहज पहुँच नभएको भगवतीमाईमा गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य चौकीसम्म जान पनि कठिनाइ छ। कालिकाले भन्नुभयो, “आफ्ना समस्याबारे घरमै परामर्श पाइने भएपछि प्राथमिक उपचारका साथै रोगको पहिचान गरेर थप उपचारमा सहयोग पुग्ने गरेको छ।”

भगवतीमाईमा गएको जेठदेखि गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी घरमै पुग्ने अभियान थालिएको हो। पालिकाले यस्तो अभियानको सुरुवात गरेसँगै सबैजसो गर्भवती र सुत्केरी लाभान्वित भएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक टीकाराम विष्टले बताउनुभयो। उहाँका अनुसार पालिकाले सुत्केरीसँग चार पटक स्वास्थ्यकर्मीले भेटघाट गर्ने कार्यक्रम राखेको छ। दुई पटक स्वास्थ्यकर्मी घरमै पुग्छन्। दुई पटक स्वास्थ्य संस्थामै भेटघाट गर्ने कार्यक्रम हुन्छ।

सुत्केरीको घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु भएपछि तोकिएको समयमा नियमित रूपमा गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति हुने तथा बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको जनस्वास्थ्य निरीक्षक विष्टले जानकारी दिनुभयो। उक्त कार्यक्रमका लागि पालिकालाई सङ्घीय सरकारले चालू आर्थिक वर्षमा ४० लाख रुपियाँ बजेट दिएको छ। स्वास्थ्यकर्मीलाई समेत सेवा थप गरेर घरघरमा पठाउने गरिएको उहाँले जानकारी दिनुभयो।

कर्णालीका ७९ वटै स्थानीय तहमा सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत आमा र नवजात शिशुलाई यसरी नै घरदैलोमा सेवा दिन थालिएको छ। आधारभूत मातृशिशु स्याहार कार्यक्रममार्फत मातृ मृत्युदर न्यूनीकरणमा पालिकाहरू सक्रिय भएका हुन्। नवजात शिशु र आमाको स्वास्थ्य अवस्था बुझ्न सुत्केरीको घरघरमा स्वास्थ्यकर्मी पुग्दा सेवा निकै प्रभावकारी भइरहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताउनुभयो। 

उहाँका अनुसार यो कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ र प्रभावकारी पनि मानिएको छ। यसलाई थप प्रभावकारी बनाउन तीन तहकै सरकारको समन्वय र सहयोग जरुरी देखिन्छ।