• १२ असोज २०८१, शनिबार

अख्तियारमा सङ्घीय मामिलासम्बन्धी सबैभन्दा बढी उजुरी

blog

कविराज घिमिरे 

धनकुटा, पुस २५ गते । गत आर्थिक वर्षमा एक नम्बर प्रदेशमा सङ्घीय मामिलासम्बन्धी सबैभन्दा बढी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा २ हजार २४ उजुरी मध्ये सङ्घीय मामिलासम्बन्धी ९ सय ५९ उजुरी रहेकाे तथ्याङ्क छ । 

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रममा २ हजार २४ उजुरी परेको जानकारी दिइएको हो । त्यस्तै शिक्षासम्बन्धी ३ सय ७६, भूमिसुधारसम्बन्धी १ सय २१, बनसम्बन्धी ९१, स्वास्थ्यसम्बन्धी ८८ र अन्य ३ सय ८९ वटा रहेको जनाइएको छ । परेका उजुरीमाथि छानबिन भइरहेको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा धनकुटा नगरपालिकाको काम कारबाहीको विरुद्धमा परेका उजुरी २२ वटा रहेको इन्जिनियर शैलेश दासले बताउनुभयो ।

कार्यक्रममा सहभागीले उजुरी परे पनि कारबाही नभएको, सानालाई कारबाही गरे पनि ठूलालाई संरक्षण गरेको आरोप लागेका कारण अख्तियारमा शुद्धता हुनुपर्ने सुझाव दिएका थिए । कार्यालयका उपसचिव नितेश राईले विश्वको १ सय १७ औँ भ्रष्टाचार हुने देशमा नेपाल सूचीकृत भएको बताउँदै सार्वजनिक निकायमा हुने आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणको कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।