• १४ पुस २०८१, आइतबार

बर्गम्यान र उनको सेभेन्थ सिल

blog

व्यक्तिगत मानवीय पीडा, मानसिक उथल पुथल र निसहायपन तथा मानव अस्तित्वमाथि ज्यादा केन्द्रित भएर अत्यन्तै गम्भीर चलचित्रहरू बनाउने महान् हस्ती हुन् इङ्गमार बर्गम्यान । सन् १९४६ मा क्राइसिस नामक चलचित्रमार्फत निर्देशनमा हात हालेका बर्गम्यानले जब द सेभेन्थ सिल (१९५७) बनाए चलचित्र क्षेत्रका मसिहा ठहरिए ।

आर्ट हाउस चलचित्रको पर्याय बनेको चलचित्र द सेभेन्थ सिल उभिएको धरातल इसाई धर्म हो तर विषय सबै धर्मावलम्बीको साझा रहेको छ । आफू हुर्किएको समाज र संस्कृितलाई माध्यम बनाएर बर्गम्यानले द सेभेन्थ सिल बनाएका हुन् । 

चलचित्रको शीर्षक (बाइबल) नयाँ करारको ‘प्रकाश’ (बुक अफ रिभिलेसन) नामक पुस्तिकामा रहेको येसुको पुनः आगमनसम्बन्धी कथामा आधारित रहेको छ । बाइबलमाथि आधारित (मिल्टनको) ‘लस्ट प्याराडाइज’ या रेम्ब्रान्टको ‘द स्टर्म अन द सी अफ ग्यालिली’ जति गहन छ त्यो गहनता बर्गम्यानको द सेभेन्थ सिल मा देखिन्छ । चलचित्रले अनेक आध्यात्मिक, दार्शनिक गन्थन छेड्न उक्साउँछ । 

चलचित्रको कथावस्तु मध्ययुगीन युरोपसँग आधारित छ । एघारौँ शताब्दीको अन्त्यको समयदेखि तेह्रौँ शताब्दीको अन्त्यसम्मको अवधिमा युरोपका मुलुकहरूले आफ्ना सिपाहीहरूलाई यर्दन नदीको पूर्वी किनारामा अवस्थित भूमि (आजको इजरायल र प्यालेस्टाइनको भूभाग) जहाँ राजा सुलेमान र हेरोदले क्रमशः पहिलो र दोस्रो मन्दिर बनाएका थिए । ती मन्दिर बनाइनुको कारण इसाई, इस्लाम र यहुदी धर्मसँग सम्बन्धित ईशदूत इब्राहिम (अब्राहाम) थिए । तीनवटै धर्ममा मन्दिर रहेको ‘पवित्र भूमि’को ठूलो महìव रहेको छ । एघारौँदेखि तेह्रौँ शताब्दीको अवधिमा तीनवटै धर्मावलम्बीले उक्त ‘पवित्र भूिम’ आफ्नो पकडमा लिन खोज्नाले धार्मिक युद्ध मच्चिएको कुरा इतिहासमा पढ्न पाइन्छ । यस्तो युद्धमा प्राण त्याग्ने सीधै स्वर्ग जाने विश्वास थियो र छ पनि । चलचित्रमा यस्तै युद्धमा गएर फर्किएका दुई सिपाहीहरूको ईश्वर र स्वर्गप्रतिको विश्वासमा आएको विचलन र प्लेगको आतङ्क मूल कथाका रूपमा आएको छ ।

महान् उपन्यासकार फ्योदोर दोस्तोएभ्स्कीले झैँ मानव मनको भित्री तहसम्म पुगेर अध्ययन अनुसन्धान गर्न सफल निर्देशक बर्गम्यानले द सेभेन्थ सिल मार्फत रास्कोलनिकोभको छटपटीलाई लडाकु आन्तोनियस ब्लक मार्फत पुनः जागृत गराएका छन् । परमेश्वरमा रोपेको आस्थाले नयाँ सिमाना भेटेको र त्यसले झन् ठूलो अभाव खडा गरेको छ । चलचित्रको नायक आन्तोनियस परमेश्वर, स्वर्ग र पुनः जीवनमाथिको चरम आस्थाका कारण पवित्र भूमिमा दस वर्ष बिताएर फर्कन्छन् र मृत्युसँग साक्षात्कार भएपछि उनीभित्रको सम्पूर्ण आस्था डगमगाउँछ र सत्य कुरा थाहा पाउने प्रयास गर्छन् पनि । आन्तोनियससँगै युद्धबाट फर्किएको अर्को लडाकु भने ईश्वर, स्वर्ग, नर्क शैतान केही नभएको कुरामा विश्वस्त हुन पुग्छ । चलचित्रले दोस्रो विश्वयुद्धपछिको युरोपमा धर्म र धार्मिक दर्शनको पकड फुत्किएको र नयाँ जीवन दर्शनको सुरुवात भएकोतर्फ पनि सङ्केत गर्दछ । आजको दिनमा कुनै पनि धर्म नमान्ने नास्तिकहरूको सङ्ख्या युरोपका मुलुकहरूमा उल्लेख्य प्रतिशतका रूपमा देखिएको छ ।  

सेभेन्थ सिलको प्रथम दृश्य देखिनुअघि भयप्रद सङ्गीत सुनिन्छ र त्यसपछि अचानक आकाश देखिन्छ, लगत्तै बाज या चील खानेकुरो देखेर अडिरहेको दृश्य देखा पर्छ । यसरी मृत्युको सङ्केतपश्चात एक अदृश्य मानिसले बालेको सुनिन्छ– र जब पाठोले सातौँ मोहर खोल्यो स्वर्गमा मौनता छायो.... र सात स्वर्ग दूतहरूले आफूहरूसँग भएका सात तुरही बजाउन तयार भए ।

नयाँ करारमा भएको कथा अनुसार जब पनि प्रत्येक स्वर्ग दूतले आफ्नो तुरही बजाउँथे तब पृथ्वीमा भयावह प्रकोप देखापर्दथ्यो । सुरुमा अपूरो छोडिएको यस विपत्तिको कथालाई चलचित्रको अन्त्यतिर आन्तोनियसकी श्रीमतीले बाइबल पढेर सुनाउँछिन् र पूरा गर्छिन् । 

अदृश्य व्यक्तिको आवाजलाई पुष्टि दिनेखाले दृश्य अर्थात् वीर लडाकु आन्तोनियस र उसको सहयोगी जोन समुद्री तटमा निश्चल लडिरहेको देख्दा लाग्छ मानिसहरू मरिरहेका छन् र भयानक कुराको सुरुवात हुँदैछ । तर दुवैजना ज्युँदै हुन्छन् । आन्तोनियस उठेर मुख धुन जान्छ र फर्किएर आई सामान मिलाउँदै गर्दा उसको सामुन्ने केही दूरीमा मृत्यु उभिएको देख्छ । मृत्युले उसलाई लिन आएको कुरा थाहा पाएपछि चेसको समेत राम्रो खेलाडी आन्तोनियसले भन्छ कि चेस खेल अन्त्य नहुन्जेल मलाई लैजान पाउँदैनौँ र यदि मैले तिमीलाई हराएँ भने मलाई तिमीले त्यसै छोडेर जानुपर्नेछ । 

मृत्युले सर्त स्वीकार्छ र चेस खेल्न आफ्नो प्रकृति अनुरूप कालो गोटीको छनोट गर्छ । 

जिउ पूरै कालो कपडाले बेरिएको मृत्युको अनुहार ज्यादै सेतो र कुनै पनि किसिमको अनुभूतिरहित भय उत्पन्न गराउने खाले देखिन्छ । आन्तोनियस प्रफुल्ल र उत्साहित भएर चेस खेल्न थाल्छ ।

केही क्षणको चेस खेलपश्चात आन्तोनियस र जोन बाटो लाग्छन् । उनीहरूले घोडामा यात्रा गर्ने क्रममा एक ठाउँमा जोनले एउटा लाससँग साक्षात्कार गर्छ । मृत्युबारे कथाले केही भन्दैन । जोनले पनि यो कुरा आन्तोनियसलाई स्पष्ट कुरा बताउँदैन । उनीहरू कुरा गर्दै अघि बढ्ने क्रममा क्यामेराले एउटा रुखको फेदमा रोकिएको गाडा देखाउँछ । गाडामा टाँगिएको पालमा बाइबल सम्झाउने चित्र (तुरही फुकिरहेका पाठा, स्वर्गदूत, तारा) कोरिएको छ । क्यामेराले अब दुई लडाकुलाई अघि बढ्न छोडिदिन्छ र पालभित्र निदाइरहेका दुई पुरुष र एक महिलालाई देखाउँछ । तीनमध्येबाट योफ नाम गरेको एक पुरुष उठेर बाहिर निस्कन्छ । योफसँग अनौठो गुण छ, ऊ अन्य मानिसले देख्न नसक्ने कुराहरू देख्ने गर्छ । एकाबिहानै उसले बालक येसु र उनकी आमा मर्यमलाई सशरीर हिँडिरहेको देख्छ । योफ र उसकी श्रीमती सोझा र सरल प्रकृतिका छन् । चिन्तारहित बालबालिका जस्ता । रमाइलो मानेर जीवनलाई वर्तमानमा भोगिरहेका । चलचित्रको अन्त्यसम्म नै उनीहरू यही अवस्थामा देखिन्छन् ।

सर्कसवालाहरूबाट क्यामेरा फेरि आन्तोनियसतर्फ मोडिन्छ । आन्तोनियस एउटा सानो चर्चमा पुग्छ र त्यहाँभित्र पस्छ । भित्र एक जना मानिसले चित्र कोर्दै गरेको देखेर जोनले त्यसबारे सोध्दा चित्रकारले जवाफ दिन्छ मृत्युको नाच (डान्स मकाब्रे) । जोनले किन यस्तो वाहियात चिज बनाएको भन्दा चित्रकार भन्छ, “मानिसहरूलाई याद दिलाउन कि तिमीहरू मर्नेवाला छौ” । यस कुराको आफ्नै तर्क निकाल्दै जोनले सोध्छ कि डराएर मानिस पुजारीको शरणमा आऊन् ?

पछि गाउँगाउँमा प्लेग फैलन्छ र हाहाकार मच्चिन्छ । चित्रमा देखिएझैँ मानिसहरूले आफूले आफैँलाई चाबुकले हान्दै ईश्वर पुकार्छन् । कोही क्रस घिसार्दै हिँड्छन् । चलचित्रमा यो एउटा दृश्य विशेष लाग्छ । इतिहास पल्टाउँदा पाप प्रायश्चित गर्न र ईश्वर भक्ति जनाउन आफूलाई रगताम्मे हुनेगरी चाबुकले हिर्काउने चलन युरोपमा एघारौँ शताब्दीमा सुरु भएको र चौधौँ शताब्दीमा निकै प्रचलनमा आएको जानकारी पाइन्छ । 

चलचित्रमा अर्को एउटा भयानक दृश्य छ एक युवतीलाई शैतानको आरोपमा जिउँदै जलाउन गरिएको तरखरको । 

चर्चमा आन्तोनियसलाई असामान्य मनस्थितिमा पुगेको देखिन्छ । ऊ आफ्नो मनोदशाका कारण अन्त्यसम्म पनि अत्यन्तै निराश, एक्लो र कतै हराएको देखिन्छ । येसुको मूिर्तसँग साक्षात्कार गरेपश्चात ऊ पादरीसँग मनभित्रको कुरा खोल्न जान्छ । फलामको झ्यालभित्र पादरीका रूपमा मृत्यु बसिरहेको हुन्छ तर आन्तोनियसलाई थाहा हुँदैन । झ्यालबाहिरको आन्तोनियस कैदीझैँ लाग्छ । पहिलो भेटमा मृत्युले तिमी जानलाई डराएका त छैनौँ भनेर सोधेका बेला मेरो शरीर डराएको छ तर आत्मा डराएको छैन भनेर जवाफ दिने आन्तोनियस अब अनेक शङ्का, दोधार, डर आदिको फलामे कैदमा परेको छ । पादरीका रूपमा खडा भएको मृत्युसँगको आन्तोनियसको गन्थन चलचित्रको मूल आत्मा स्वरूप रहेको छ । ईश्वरमाथि आस्था राख्ने या नराख्ने पृथ्वीका सम्पूर्ण मानिसको भित्री मनोविज्ञान यस गन्थनमा देखा परेको छ । 

जोन आस्था राखे अनुरूप अवस्था अनुभव गर्न नपाएकाले रुष्ट छ र ईश्वर, स्वर्ग, नर्क, शैतान सबको विश्वासबाट मुक्त छ । मृत्युले लैजाने अन्तिम समयसम्म पनि ऊ यही विचार प्रकट गर्दछ भने आन्तोनियस दोधारे मानसिकतामा पनि अन्तिम समयमा ईश्वर पुकार्न पुग्छ । मृत्युले दुवैथरीलाई लैजान्छ । मृत्यु आफू भएको कुरा मात्रै जनाउँछ । अन्य कुरा ऊमार्फत थाहा पाउनु असम्भव छ । आन्तोनियसले मृत्युलाई केही दिन झुलाउँछ तर महान लडाकु, अब्बल चेस खेलाडी भएर पनि जित्न भने सक्दैन । चेसमा लडाकु र बिसपको (मूल पुजारी) गोटीले पनि केही गर्न सक्दैन जसको सहयोगमा आन्तोनियसले मृत्युलाई हराउने योजना बनाएको थियो । यो व्यङ्ग्यात्मक छ । अझ आन्तोनियसले चेस खेल्ने क्रममा निराश हुँदै एउटा निहुँ बनाएर गोटीहरू बिगारिदिन्छ जानाजानी । 

एउटा दृश्यमा सर्कस देखाउने योफको मित्रले आत्महत्याको नाटक गरेर मानिसहरूलाई छक्याउन सफल हुन्छ तर एक छिनपछि साँच्चिकै मृत्यु आएर उसलाई लैजाने समय ऊ केही गर्न सक्दैन । मृत्युलाई ऊ छक्याउन सक्दैन । मृत्यु प्रत्येक मानिससँग टाँसिएर पलपल रहने र जुनसुकै समय जोसुकैलाई लैजान सक्छ । मृत्युले आन्तोनियसलाई जहाँसुकै निरन्तर पच्छ्याइरहन्छ ।

सबैजनालाई मृत्युले लगे पनि योफ र मियालाई भने मृत्युले लैजाँदैन । मर्नुअघि आन्तोनियसले योफ, उनकी श्रीमती मिया र उनीहरूका बालक छोरालाई जङ्गल पार गराउने जिम्मा लिन्छन् र पार गराएर छोड्छन् । राजा हेरोदको हत्याबाट बाँच्न येसुको जन्मपश्चात रातारात मर्यम आफ्ना पति योसेफसँग मिश्र देश भागेझैँ योफले आन्तोनियससँग मृत्युले चेस खेलिरहेको देख्नासाथ सबैलाई छोडेर आफ्नो परिवारसहित बाटो लाग्छन् । 

स्वर्ग, नर्क, देवता आदिबारे मृत्यु पनि बेखबर छ तर उसलाई आफ्नो अस्तित्व र धर्मको (कर्तव्य) ख्याल भने छ । त्योभन्दा उता उसको रुचि देखिँदैन । मृत्युले भन्छ पनि “हुनसक्छ ऊ छैन” तर यो पनि आन्तोनियसलाई स्वीकार छैन । ऊसँग एकपछि अर्को प्रश्नहरू मात्रै छन् । प्रश्नहरूको पछाडि कुदेर वास्तवमा साध्य छैन । आकाशका तारा जत्तिकै छन् प्रश्नहरू । एउटाको उत्तर पाएपछि अर्को देखापर्छ । प्रश्न र मृगतृष्णा एउटै हुन् । दुवैबाट मानिसलाई दुःख मात्रै छ । 

योफ र मिया विश्वास गर्छन् तर तटस्थ छन् । आन्तोनियस जस्तो उनीहरू प्रश्न र प्रमाणको मोहमा छैनन् । योफले येसु देख्नुको कारण पनि त्यही हो । रेम्ब्रान्टको चित्रमा देखिएका येसुझैँ योफको छोरा पनि निश्चिन्त छ ।

अध्यात्म 

चलचित्रमा अध्यात्म पक्षको विश्लेषण गर्दा राभाल र जोन्सको व्यवहारलाई लिन सकिन्छ । युद्धबाट फर्किएको जोन्समा धर्म, स्वर्ग, देवता जस्ता कुराले बिदा लिइसकेको तर सत्कर्मबाट भने ऊ पलायन भएको छैन र सांसारिक कर्तव्य (धर्म) पनि उसमा निहित नै छ ।

ऊ आफूभित्रको हिंसा भावलाई दुरुपयोग गर्दैन । स्वर्ग र देवता छैन भन्ने दृढ निश्चय भएपछि बलको आधारमा जे जस्तो पनि कुकर्म गर्न सकिन्छ । तर जोन्स त्यसो गर्दैन । उसले बरु दस वर्षअघि आफू र आफूमाथिको आन्तोनियसलाई युद्धभूमिमा जान उक्साउने धर्मभीरु राभालबाट (राभाल अहिले चोर बनेको छ) एक युवतीलाई बलात्कृत हुनबाट जोगाउँछ । पछि जोन्सले युवतीलाई भान्सेको काम गर्न आफूसँगै हिँड्न अनुरोध गर्दै यो पनि भन्छ कि म तिमीलाई बलत्कार गर्न सक्छु तर त्यस्ता कार्यहरूबाट म अघाइसकेको छु । अब ऊ त्यस्ता कार्यमा रुचि राख्दैन । बुद्धको वैराग्य दर्शन उसमा देखिँदैन ।

ऊ पुरानो करारमा लेखिएझैँ अपराधीलाई दण्डको दर्शनमा अडिग छ । युवतीलाई बलत्कार गर्न लाग्दा पक्राऊ पर्दा राभाललाई उसले सम्झाएको हुन्छ कि अब अर्को पटक तँसँग भेट भयो भने म बाँकी राख्दिनँ । दोस्रो पटक योफलाई सताइरहेको समयमा जोन्सले राभाललाई फेलापार्छ र उसको अनुहारमा आफ्नो चक्कुको प्रहार गर्छ ।

धर्मभीरु मानिसमा अध्यात्म चेत विकास भएको भए ऊ शैतान कर्ममा लिप्त हुने थिएन । धर्म र अध्यात्म बिलकुल अलग विषय हुन् । सबै आध्यात्मिक मानिस धर्ममा आस्था नराख्ने हुन सक्छन् र धार्मिक मानिसमा अध्यात्म नहुन सक्छ । धर्मले अध्यात्मिक विकासभन्दा पनि स्वर्गको र पुनर्जन्म तथा धन दौलत र फलिफापप्रतिको लोभ, नर्कको त्रास ज्यादा विकास गराउँदछ । मूर्ति, मन्दिर निर्माण, पूजा, बलि, भजन आदिमा मानिस लाग्ने कारण यही हो । आन्तोनियसले भन्छ पनि डरका कारण हामी मूर्ति बनाउँछौँ र त्यसलाई ईश्वर भन्छौँ । वास्तवमा ईश्वर त कसैले देखेको छैन । 

अध्यात्मले मानिसको आत्मा शुद्ध गराउँछ । राभालको प्रतिनिधित्व गर्ने पात्रहरू मानव समाजमा धेरै छन् । अध्यात्मले मानिसमा अहिंसा, सौहाद्र्रता, भातृत्व, प्रेम, ममता, करुणा, ज्ञान आदि विकास गर्न सहयोग गर्छ । अध्यात्मको बाटो फरक छ ।

बर्गम्यानका अघिल्ला चलचित्रहरूमा झैँ द सेभेन्थ सिलमा पनि प्रकृितको काखमा बसेर मानिसले एउटा क्षणलाई आनन्द मानेर भोगिरहेको दृश्य छ । वास्तवमा प्रकृति या ईश्वरबाट हामीलाई जे जति प्राप्त छ त्यसको आनन्दपूर्वक उपभोग गर्न र रमाउनलाई हो । बैराग्यमा डुब्न, आफूअघिको यथार्थबाट आँखा चिम्लनलाई होइन । बालकजस्तो निर्दोष रहेर जीवन जिउने येसुको दर्शनमा ठूलो आशय लुकेको छ । ईश्वर प्राप्ति नै त्यही हो । वैराग्यमा जानु धर्मबाट (कर्तव्य, प्रकृति) पलायन हुनु हो । ब्रह्माण्डमा कुनै पनि वस्तु आफ्नो धर्मबाट पलायन भएका छैनन् । पलायन भयो भने गडबडी हुन्छ । 

मिया बच्चाको प्रेममा पनि चुर्लुम्म छे । ऊ बच्चा शारीरिक गन्ध मन पराउँछे । गन्धले नै कुनै पनि आमाले आफ्नो बच्चा चिन्न सक्छन् । शृङ्गारबिनाको उसको हँसिलो अनुहारको आन्तोनियस तारिफ गर्छ । 

कर्तव्य र अध्यात्मको पहिलो पाठशाला आमा हुन् । 

चलचित्रमा एउटा दृश्य छ घाम डुब्नुअघिको साँझमा योफ, मिया, दुई लडाकुहरू खुला स्थानमा घाँसमाथि बसेर सारा कुरा बिर्सिएर गफ गर्छन्, योफ बाजा बजाउँछ । मियाले सबैका लागि जङ्गली स्ट्रबेरी र गाईको दूध लेराइदिन्छे । आन्तोनियस स्ट्रबेरीको गन्ध सुँघ्छ र दूध पिउँछ । सबैले एउटै भाँडोबाट दूध पिउँछन् । लाग्छ सबै एकै घरका जहान हुन् । एउटा गजबको स्नेहले बाँधिएका छन् सबैजना । 

दूध आमाको प्रतीक हो, आमा भनेको जीवनको अर्को प्रतीक । दूध सामान्य खाद्य वस्तु होइन त्यसको सम्बन्ध मातृत्वसँग छ । पोथी जातिसँग कुनै पनि जीवलाई दिन सक्ने महान चिज दूध हो । दूध ममता, प्रेम, स्नेह, जीवन आदि धेरै कुराको प्रतीक हो ।  

दस वर्षदेखि आजसम्मकै महान समय लाग्छ त्यो साँझ सायद आन्तोनियसलाई । उसले सबैलाई सुनाउँदै भन्छ पनि म हाम्रो गफ सम्झनेछु र यो ताजा दूधको भाँडो जस्तै दुई हातका बीच म यो (साँझको) सम्झनालाई बिर्सन सक्दिनँ । 

बर्गम्यानले जीवनको परिभाषा र जिउनुको अर्थ यही दृश्यमार्फत देखाएझैँ लाग्छ । जीवनको स्वाद ठीक तरिकाले लिन नजान्ने बेवकुफलाई मूल पात्र बनाएर, प्रेम र जङ्गली स्ट्रबेरीको स्वादमा जीवनको महìव खोज्दै सेभेन्थ सिल बनाएकै वर्ष वाइल्ड स्ट्रबेरी बनाएका थिए बर्गम्यानले । 

जीवनको मीठो पक्ष र स्ट्रबेरीको स्वादको प्रसङ्गमा यहाँ इरानी निर्देशक अब्बास किरोस्तामीको चलचित्र टेस्ट अफ चेरी याद आउँछ । किरोस्तामीलाई बर्गम्यानको चलचित्रले असर नगरेको भन्न सकिन्न । 

चलचित्र सेभेन्थ सिलको अन्त्यमा जब मृत्युले ६ जनालाई लैजान्छ । यस्तो लाग्छ कि हुनुको नाममा जीवन र मृत्यु मात्रै छ । जीवन रहुञ्जेल जीवनको लक्षणमा रहने र मृत्यु आएपछि खुसीसाथ नाच्दै जाने । मृत्यु पनि जीवनकै पाटो हो । जीवनमा आउनुअघि मृत्युमै थियौँ सबै । जे हाम्रो पहुँचमा छ त्यसमा मात्रै सीमित हुने हो कि ? चलचित्रले सोध्छ ।