• १२ असोज २०८१, शनिबार

चोरी पैठारी आरोपमा एघार जनाविरुद्ध मुद्दा

blog

रङ्गेली समाचारदाता

विराटनगर, पुस २५ गते । विराटनगर भन्सार कार्यालयले खुला सीमा क्षेत्रबाट चोरी तस्करी गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । 

गत महिना विराटनगर महानगरपालिका–१५ को ३ नम्बर ढाटमा भन्सार गस्तीमाथि आक्रमण गर्नेविरुद्ध भन्सार कार्यालयले मुद्दा दर्ता गरेको हो । भन्सार कार्यालयका कर्मचारीमाथि मङ्सिर २३ गते राति आक्रमण प्रयास भएको थियो । त्यसको तीन दिनपछि विराटनगर–१७ का मोहमद सदाम मियाँलाई सीसीटीभी फुटेजका आधारमा प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएको थियो । 

अवैध चोरी निकासी र पैठारी गरेको आरोपमा भन्सार कार्यालयले सदामलाई सात लाख ५० हजार रुपियाँ धरौटी लिएर तारेखमा छोडेको छ । भन्सार कार्यालय विराटनगरको मुद्दा शाखाका अधिकृत प्रेम सुवेदीका अनुसार अनुसन्धानका क्रममा देखिएका बाँकी १० जना अहिलेसम्म फरार रहेका छन् । एक जनालाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानबाट भारतबाट अवैध रूपमा तस्करीमा संलग्न रहेकाले भन्सार कार्यालयका कर्मचारीमाथि आक्रमण गरेको खुलेपछि एक पटक ११ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

फरार रहेका बाँकी १० जनालाई नियन्त्रणमा लिएर बुझाउन जिल्ला प्रहरी कार्यालय, मोरङलाई पत्राचारसमेत गरेको भन्सार अधिकृत सुवेदीले जानकारी दिनुभयो । पत्राचार भएको लामो समयसम्म पनि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर नबुझाएपछि पुनः ताकिता गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

अधिकृत सुवेदीले भन्नुभयो, “संलग्नहरूको नाम र ठेगाना खुलाएर पक्राउका लागि भन्सार कार्यालयले आग्रह गरेको छ । सीमा क्षेत्रबाट तस्करी गरेर राजस्व असुली प्रभावित पार्नेहरूको विषयमा सूक्ष्म रूपले अनुसन्धान हुनेछ ।” भन्सार कार्यालयले बढी तस्करीको लाइन चल्ने विराटनगर–१५ को तीन नम्बर ढाटसमेत पूर्ण रूपमा बन्द गरेको छ । 

भारतीय बजार जोगबनी गएर मालसामान खरिद गरेर फर्कनेहरूलाई साबिक रानी भन्सार नाकामा अनिवार्य भन्सार बुझाउने अवसर दिएर आसपासमा थप कडाइ गरिएको हो । 

यसैगरी मोरङ प्रहरीले भन्सार छलेर अवैध रूपमा भिœयाएको साढे सात लाख रुपियाँ बराबरको सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । जिल्लाका विभिन्न स्थानमा भारतबाट अवैध रूपमा भिœयाइएको सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।