• १२ असोज २०८१, शनिबार

नापतौलका यन्त्र परीक्षण

blog

फिदिम समाचारदाता 

फिदिम, पुस २५ गते । पाँचथरमा चार वर्षपछि नापतौलका यन्त्रको जाँचसँगै दर्ता र नवीकरण गरिएको छ। गुणस्तर तथा नापतौल विभागले जिल्ला सदरमुकाम फिदिम, याङवरक र हिलिहाङका बजारमा यस्तो काम गरेको हो। विभागले स्थानीय उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा मिटर, लिटर र ढक तराजुजस्ता यन्त्र मापदण्डअनुसार भए नभएको जाँच गर्दै कम तौल भएका यन्त्र मिलाउने, दर्ता र नवीकरण नभएकाको नवीकरण गर्ने र दर्ता नगरी चलाइएका यन्त्र दर्ता गर्नेलगायतका काम गरेको हो।

यसअघि विभागले स्थानीय उद्योग वाणिज्य सङ्घसँगकै सहकार्यमा २०७६ साल असारमा यो काम गरेको थियो। नापतौलका यन्त्रको बर्सेनि जाँच र गुणस्तर मापनसँगै नवीकरण गर्नुपर्ने भए पनि गुणस्तर तथा नापतौल विभागको शाखा झापामा मात्रै रहेकाले यो काम चार वर्षदेखि हुन सकेको थिएन।

यस पटक २०२ व्यवसायीका नापतौल यन्त्रको परीक्षणसँगै गुणस्तर जाँच गरिएको उद्योग वाणिज्य सङ्घ, पाँचथरका अध्यक्ष नवराज घिमिरेले जानकारी दिनुभयो। परीक्षण गर्दा कम तौल भेटिएका ढकमा सिसा थपेर तौल मिलाइएको थियो।