• १३ साउन २०८१, आइतबार

ओखलढुङ्गामा बन्यो ‘डम्फु पार्क’

blog

शेरबहादुर राई

ओखलढुङ्गा, पुस २४ गते । ओखलढुङ्गाको मूलखर्कमा १० लाख खर्च गरेर ‘डम्फु पार्क’ निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्य रहेको सुनकोसी गाउँपालिका–५ मूलखर्कमा १० लाख खर्च गरेर पार्क निर्माण गरिएको हो । 

सुनकोसी गाउँपालिका केन्द्रसमेत रहेको मूलखर्कमा तामाङ समुदायको जीवन्त सङ्ग्रहालय बनाउने र आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले तामाङहरूको मुख्य बाजा डम्फुको पार्क निर्माण गरिएको वडा अध्यक्ष गोविन्दराम तामाङले बताउनुभयो । 

गत आर्थिक वर्षमा वडा कार्यालयको बजेटबाट पार्क निर्माण गरिएको वडा अध्यक्ष तामाङको भनाइ छ । पार्कका लागि तारजाली लगाउने, सिढी निर्माण साथै डम्फुको प्रतिमा खरिद र स्थापना गर्दा १० लाख खर्च भएको उहाँको भनाइ छ । सडककै बीचमा निर्माण भएको तामाङ समुदायको सांस्कृतिक बाजा पहिचानको प्रतीक ‘डम्फु’ पार्कले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अपेक्षा रहेको वडा अध्यक्ष तामाङको भनाई छ । 

‘डम्फु पार्क’ ले तामाङ समुदायको सांस्कृतिक बाजालाई संरक्षणमा टेवा पुगेको नेपाल तामाङ घेदुङ ओखलढुङ्गाका अध्यक्ष सुवास तामाङले बताउनुभयो । 

डम्फु तामाङ जातिको छेवार, पास्नी, विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाइने सांस्कृतिक बाजा रहेको तामाङको भनाइ छ । जातीय पहिचान झल्काउने झाँकी, बाजा, भाषा संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने अध्यक्ष तामाङले बताउनुभयो । 

मूलखर्कमा डम्फु पार्क नजिकै गुम्बा निर्माण गरिनुका साथै स्थानीय मनकुमार तामाङले आफ्नै खर्चमा पहरामा बुद्धको मूर्ति बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने काम भइरहेको छ ।