• ८ पुस २०८१, सोमबार

सिमकोट गाउँपालिकाको प्रगति २२ प्रतिशत

blog

राजन रावत

हुम्ला, पुुस २३ गते । आर्थिक वर्ष सुरु भएको छ महिना बित्नैलाग्दा सिमकोट गाउँपालिकाले वित्तीय खर्च २२ प्रतिशत मात्र गरेको छ । गाउँपालिकाले पहिलो र दोस्रो त्रैमासिक समीक्षा कार्यक्रम आयोजना गरेर सो खर्च विवरण सार्वजनिक गरेको हो ।

गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले आर्थिक वर्ष सुरु भएको ६ महिना बित्नैलाग्दा समेत वित्तीय प्रगति २२ दशमलव ४७ प्रतिशत रहेको बताउनुभयो । गाउँपालिकाले वार्षिक तयगरेका कार्यक्रमहरू समयमै सञ्चालन हुन नसक्दा प्रगति कम देखिएको उहाँको भनाइ छ । 

चालु आर्थिक वर्षको कुल बजेट ५९ करोड ८५ लाख ९७ हजार रहेकोमा हालसम्म १२ करोड ८४ लाख दुई हजार खर्च भएको छ । यता निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले भौतिक प्रगति समेत न्यून रहेको बताउनुभयो । वर्षभरि गर्नुपर्ने कार्यक्रममध्य ६० वटा योजनाको मात्र हालसम्म सम्झौता भएको र तीमध्ये २६ वटाको मात्र नियमअनुसार पेस्की गएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष विजया भण्डारीले कार्यक्रम कार्यान्वयन ढिलाइ भएको स्वीकार गर्दै अब वार्षिक कार्ययोजना अनुसार काम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । दशैं तथा निर्वाचनका कारण पहिलो र दोस्रो त्रैमासिक काम गर्न नसकिएको उहाँले बताउनुभयो । नयाँ जनप्रतिनिधि भएको कारण सिक्ने काम जारी रहेका कारण नियमअनुसार गर्नुपर्ने काम अबदेखि समयमै गर्ने प्रतिबद्धता जनाउनुभयो । 

यसअघि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाका अनुसार गाउँपालिकाले वार्षिक रूपमा तय गरेको कार्यक्रम बारेमा प्रस्तुतीकरण गर्नुभयो । जसमा गाउँपालिकाले वार्षिक रूपमा तय गरेका कार्यक्रमको नाम र बजेट समेटिएको थियो । प्रमुख जिल्ला अधिकारी सीता परियारले समीक्षा गर्नु पारदर्शिता र सुशासनका लागि राम्रो भएको बताउनुभयो । समीक्षा कार्यक्रममा सेवाग्राही र सरोकारवाला पक्षलाई समेत सहभागी गराउनु पर्ने उहाँले सुझाव दिनुभयो ।