• १२ असोज २०८१, शनिबार

श्रीमतीद्वारा स्वर्गीय श्रीमानको काजकिरिया

blog

शेरबहादुर राई

ओखलढुङ्गा, पुष २२ गते । नेपाली हिन्दु संस्कारअनुसार छोराले बुबाआमाको काजकिरिया गर्ने चलन छ । पछिल्लो समय छोरीले पनि आफ्नो बुवाआमाको मृत्यु पश्चात काजकिरिया  गर्न थालेको सुनिन्छ । तर श्रीमतीले आफ्नो श्रीमानको काजकिरिया  गरेको घटना कमै सुनिन्छ । ओखलढुङ्गामा सिद्धिचरण नगरपालिका –१२ की ५८ वर्षीया सुमित्रादेवी श्रेष्ठले आफ्नो ५४ वर्षीय श्रीमान तिलकबहादुर श्रेष्ठकोे काजकिरिया गर्नुभएको छ । 

करिब २२ वर्ष पहिले दोस्रो विवाह गरी एक्लै बसेका श्रीमान सुमित्रा आफैँले १३ दिने मृत्यु संस्कार गर्नुभएको हो । मानेभञ्ज्याङ्ग गाउँपालिका –४ धुसिने बस्दै आएका तिलक बहादुरको गत पुस ९ गते छिमेकीको घरमा मृत्यु भएको थियो । 

करिब दुई वर्ष पहिले सुमित्राको छोरा राजु श्रेष्ठको पनि २८ वर्षको उमेरमा निधन भएको थियो । श्रीमानको काजकिरिया  गर्ने छोरासमेत नभएकाले आफैँले श्रीमानप्रतिको कर्तव्य पालन गरेको सुमित्राले बताउनुभयो । 

जेजस्तो भए पनि, जति दुःख दिए पनि श्रीमानकाे आत्माको चिरशान्तिका लागि कर्तव्य पूरा गरेको सुमित्राको भनाइ छ । दाजुभाइ पनि छैनन्, काका बडाबाहरुले बुवाको काजकिरिया  गर्न नमानेकाले आमा आफैँले बुवाको काजकिरिया  गर्नुभएको छोरी रन्जु श्रेष्ठले बताउनुभयो ।