अविनाश चौधरी
धनगढी, पुस २२ गते । रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी)मा हिउँदे आगन्तुक चराको चहलपहल बढेको छ।
हजारौँ किलोमिटर यात्रा तय गरेर हरेक वर्षजसो आउने हिउँदे आगन्तुक जलपन्छीले कैलालीका सिमसार तथा तालतलैया क्षेत्र ढाक्न थालेको छ। जाडो छल्नका लागि साइबेरियाबाट हाँस प्रजातिका विभिन्न प्रकारका जलपन्छी कैलाली आउने गरेका छन्।
साइबेरियालगायत उत्तरी क्षेत्रमा अत्यधिक जाडो भएपछि विभिन्न प्रजातिका चरा जाडो छल्न हिउँदमा यहाँ आउने गर्छन्। घोडाघोडीसहित विभिन्न तालमा मरुल हाँस, खरखरे, हरियो टाउके, सिन्दुरे हाँससहित ठूलो जलेवा आउने गरेका छन्। चराविद् हिरूलाल डङ्गौराका अनुसार हाँस प्रजातिका हिउँदे आगन्तुक चरा छ हजारभन्दा बढी किलोमिटर दूरी पार गरेर साइबेरियाबाट कैलाली आएका हुन् तर यी जलपन्छी यहाँ आउने क्रममा विभिन्न ठाउँमा बस्दै आइपुग्ने गर्छन्। यसैगरी चीन, तिब्बततिर प्रजनन गर्ने ठूलो जलेवा जाडो यामभरि यहाँका सिमसारमा रमाउने गर्दछन्।
घोडाघोडीसहित नकरोड, महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोडतालसहित कर्णालीको तल्लोतटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा रहेका जनाइएको छ। डङ्गौराले भन्नुभयो, “यी चरा छ महिनासम्म यहाँ बसोबास गर्ने गर्छन्। अक्टोबर अन्तिमसम्म यहाँ आइपुगेका चरा मार्चमा फेरि आएकै ठाउँतिर फर्कन्छन्।”
कैलालीसहित कञ्चनपुरमा रहेको सिमसार क्षेत्रमा आएका आगन्तुकसहित जलपन्छीको हरेक वर्ष गणना पनि हुँदै आएको छ। पुस २३ देखि माघ ८ गते (जनवरी ७ देखि २२ सम्म) जलपन्छीको गणना हुने कार्यक्रम रहेको जनाइएको । दुवै जिल्लाको मुख्य तालतलैयादेखि लिएर कर्णाली नदीको तल्लोतटीय क्षेत्रसम्म हिउँदे आगन्तुक चरा र जलपन्छीको गणना हुने डङ्गौराले जानकारी दिनुभयो।
कैलालीमा ४९६ प्रजातिका चरा पाइने गरेका जनाइएको छ। जसमध्ये राज लाहाँचे, डङ्गर गिद्ध, गरुडलगायत विश्वबाटै लोप हुने अवस्थाका चरा पनि यहाँ रहेका छन्। यसैगरी नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा ३६० प्रजातिका चरा पाइने गर्छन्। कैलालीमा सबैभन्दा बढी चरा प्रजाति घोडाघोडीमा पाइने गरेको तथ्याङ्कले देखाउँछ। घोडाघोडी सिमसारमा पाइने चराको व्यवस्थित तरिकाले संरक्षण गर्ने उद्देश्यले गत वर्ष फागुन २७ गते सुदूरपश्चिम सरकारले घोडाघोडीलाई नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो।
घोडाघोडी क्षेत्रमा संरक्षणसम्बन्धी थप सचेतना फैलाउने उद्देश्यका साथ यस वर्ष नेपाल लाटोकोसेरो उत्सव पनि गर्न लागिएको छ। संरक्षणमा क्रियाशील संस्था फ्रेन्ड्स अफ नेचरले यस पटक कैलालीको घोडाघोडीस्थित माघी होमस्टेमा लाटोकोसेरो उत्सव आयोजना गर्न लागेको हो।
माघ २० र २१ गते दुई दिनसम्म उत्सव हुने जनाइएको छ। यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा यो उत्सव गरिएको थियो। पछिल्लो समय कैलालीमा चरा प्रजातिको सङ्ख्या थपिँदै गएको छ।
यद्यपि बसोबास स्थानको विनाश, सिमसार क्षेत्र मासिदै जानु, चराको सिकार, कृषिमा बढ्दो विषादीको प्रयोगलगायतका कारणले संरक्षण चुनौती कायमै रहेको छ। प्राकृतिक तालतलैयासहित सिमसार क्षेत्रको प्राकृतिक अवस्था बिग्रिने गरी भइरहेको दोहनले चराचुरुङ्गीलाई असर गरिरहेको संरक्षणकर्मी बताउँछन्। प्राकृतिक तालतलैयाको प्राकृतिक स्वरूप र पारस्थितिकीय प्रणाली नबिग्रिने गरी सदुपयोग र व्यवस्थापन गर्न आवश्यक रहेको संरक्षणकर्मी भोजराज ढुङ्गाना बताउनुहुन्छ।