स्याङ्जा सतुहमा जन्मनुभएका निर्देशक नारायण पुरीले २०४२ सालमा आरोहणसम्बद्ध रङ्गकर्मबाट आफ्नो करिअर सुरु गर्नुभएको हो। उहाँले २०४५ सालदेखि नेपाल टेलिभिजनको बाल कार्यक्रम र बाल टेलिचलचित्रमा सहायक निर्देशक भएर काम गर्नुभयो। त्यसपछि उहाँले चलचित्रसम्बन्धी अझ बढी ज्ञान हासिल गर्न चलचित्रमा ‘अरुणिमा’ अभिनय गर्नुभएपछि २०४९ मा ‘तपस्या’बाट निर्देशकका रूपमा चलचित्र क्षेत्रमा आउनुभयो। हालसम्म २९ वटा चलचित्र निर्देशन गरिसक्नुभएका पुरीले सयौँ वृत्तचित्र, टेलिचलचित्र तथा विज्ञापन निर्माण गरिसक्नुभएको छ। निर्देशक पुरीसँग नेपाली चलचित्रमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानीको अंश।
हाल केमा व्यस्त हुनुहुन्छ ?
करिब ६ वर्षजति अमेरिका बसियो। फर्केर आफ्नै क्षेत्रको केही टेलिभिजनका काम, केही चलचित्र डकुमेन्ट्री र कला साहित्य लेखनमा लागेको छु।
नयाँ कामबारे केही बताइदिनुहुन्छ कि ?
क्याप्टेन रामेश्वर थापाको बायोपिक डकुमेन्ट्री बनाइरहेको छु। स्क्रिप्टको काम भइरहेको छ। कोरोनाअघि हामीले ‘भकुन्डो’ नामक चलचित्र बनायौँ। त्यसको पोस्ट प्रोडक्सनको अन्तिम तयारीमा जुटेका छौँ।
कोरोनापछिको अवस्थालाई कसरी नियाल्नुहुन्छ ?
पछिल्लो समय चलचित्रमात्र होइन, सम्पूर्ण मानिसको आनीबानी र स्वास्थ्य रूपान्तरित भएर आएको छ। त्यो भयावह अवस्था पार गरेपछि मानिसका सोच्ने तरिका फरक भएका छन्। कतिपयलाई कोरोना त्रासले अझै पनि छाडेको छैन। उनीहरू एक किसिमको डिप्रेसनमा छन्। व्यवसायको आर्थिक तरलतादेखि विभिन्न देशमा युद्धले मानिसलाई कहीँ न कहीँ गहिरो असर पारेको छ। कोरोना र डेङ्गुपछि मानिसका जनजीवनमा मैले आकाश जमिनको फरक पाएको छु।
यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
कविता लेख्ने र कला साहित्यमा रुचि भएका कारणले रङ्गमञ्चमा गएँ। नाटक गर्दागर्दै त्यतिबेलै पत्रकारिताको भोकले छोयो। त्यसपछि पत्रकारितामा लागियो। पत्रकारिता गर्दागर्दै चलचित्र उद्योग छिरेँ। त्यसैले पनि मलाई यी सबै एउटै जराका विभिन्न हाँगा हुन् जस्तो लाग्छ। हामीले चलचित्र बनाउँदा आमदर्शकको अभिरुचि कहाँसम्म चित्त बुझाउन सकिन्छ भन्ने तरिकाले चलचित्र बनाउने कोसिस गर्छौं। कुनै पनि साहित्यिक अभिव्यक्ति दिँदा आफूलाई केमा चित्त बुझ्छ, त्यो कुरा हुन्छ। त्यसकारण यी सबै एउटै जराका विभिन्न हाँगा भए पनि मैले कसका लागि यो बनाउँदै छु, अथवा सिर्जना गर्दै छु भन्नेमा हामीले हेक्का राख्नुपर्छ।
चलचित्र बनाउने तरिकामा के–कस्तो भिन्नता आएको पाउनुहुन्छ ?
मैले यसमा दुई कुरा देख्छु। कथावस्तुका हिसाबले पहिलेभन्दा अहिले चलचित्र बनाउने विषयमा विविधता पाइन्छ। पहिला हामी फर्मुलाका चलचित्र बढी बनाउँथ्यौँ। चलचित्रमा अलिकति बढी कमर्सियल कथावस्तु हुन्थ्यो। त्यो समय अन्तर्राट्रिय बजारमा चलचित्रका ट्रेन्ड जे थियो, त्यहीँबाट प्रभावित भएर चलचित्र बनाउने काम हुन्थ्यो। तर हिजोआज विषयको उठान हुन थालेको छ। सुदूरपश्चिमको चरित्र होस् या स्याङ्जाको एक समुदायको भाषा अथवा अहिले कुनै ठाउँको वेशभूषाको कुरा लिएर चलचित्र बनाइन्छ। अहिले विशेषगरेर जनजाति, एउटा समुदाय र वर्ग त्यो ठाउँका विषयवस्तुमा चलचित्र बन्न थालेका छन्। नेपाली चलचित्र अहिले दुई धारमा बनिरहेका छन्। एउटा व्यावसायिक मुनाफा आर्जन गर्ने हिसाबले अर्को कलात्मक अभिव्यक्ति बोकेको र अन्तर्राष्ट्रिय महोत्सवमा लिएर पहिचान दिलाउनेखालका हिसाबले चलचित्र बनेका छन्। प्रायःजसो सरकारी निकायबाट बनाइएकाबाहेक व्यक्तिगत व्यवसायमा बनाइएका चलचित्रमा सूत्र हुन्थे। अहिले सूत्रमात्र होइन, विषयको उठान पनि गहकिलो हिसाबले उठान गरेको देखिन्छ।
चलचित्र क्षेत्रमा नयाँ कलाकारको हालीमुहाली छ। पुराना हराउँदै जानुभएको हो ?
हराउँदै जानुभएको भन्दा पनि पुराना अभिनेता अहिले चरित्र अभिनेताका रूपमा देखिएकै छन्।
ठूला ब्यानरका चलचित्रभन्दा पनि ‘सर्ट मुभी’ र ‘डकुमेन्ट्री’मा आकर्षण बढेको छ, किन ?
अहिले दर्शकको अभिव्यक्ति परिवर्तन भएको छ। विशेषगरेर कोरोनापछि दुई व्यवसायका मान्छेले अरूलाई झुक्याउने आँट नगरे हुन्छ। संसारका रेष्टुराँमा बन्ने खाना अहिले मानिसले आफ्नो घरमा युट्युबमा हेरेर बनाउन थालिसके। कोरोनाको समयमा संसारभरिका जुनसुकै भाषाका चलचित्र पनि दर्शकले हेर्न भ्याइसके। अहिलेका दर्शकले सबै चीज हेरिसके। अब नौलो चीज के हेर्ने भनेको विषय हो। हाम्रा संस्कार, संस्कृतिमै रहेका कृतिका विसङ्गतिलाई पनि विषय उठान गरेर अन्तर्राष्ट्रिय बजारमा नाम, काम, दाम सबै कमाइरहेका छन्। अहिलेका विषयवस्तु फरक हुनुको मुख्य कारणबारे कोरोनाको समय प्रशस्त अध्ययन गर्न पाइयो। चलचित्र निर्माण गर्नेले र दर्शकले पनि पहिले चलचित्र त्यति हेर्ने गरेका थिएनन्। जुन कोरोनाको समयमा हेरे। कोरोना र डेङ्गुपछि त संसारै रूपान्तरण भइसक्यो। त्यो रूपान्तरण हुने समयमा हाम्रा दर्शकले पनि नयाँ कुरा खोजेका हुन्। नयाँ कुरा के पस्कने भनेर निर्माता गम्भीर बनेका छन्।