शारदा समाचारदाता
शारदा (सल्यान), असार ५ गते । पिउने पानीको अभावले गर्दा पुस्तौँदेखि भयावह समस्यामा रहेको जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ स्थित बाङ्गेसल्ला बस्तीमा विगतमा दैनिक दुईदेखि चार घण्टासम्म उकालो ओरालो गर्दै पानी ल्याउनुपर्ने बाध्यता हटेको छ ।
हाल लिफ्ट प्रणालीमार्फत घर घरमा धाराको सुविधा पुगेको छ । मुख्यमन्त्री रोजगार कार्यव्रmम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाले १४ लाख ७० हजार रुपियाँ तथा थप अपुग रकम एक लाख रुपियाँ गरेर १५ लाख ७० हजार अनुदानमा र स्थानीयको श्रमदानबापत एक लाख ४७ हजार रुपियाँ लागतमा ३५० मिटर तलबाट लिफ्ट प्रणालीमार्फत विकट बस्ती बाङ्गेसल्लामा खानेपानीको सुविधा पु¥याइएको हो । आफ्नै घरको धारामा खानेपानी आएपछि यस बस्तीका उपभोक्ता खुसी भएका छन् । ७२ वर्षीय सुकलाल घर्ती विगत सम्झँदै भन्नुहुन्छ, “कहिले राति, कहिले दिनमा पानीका लागि चार घण्टासम्म खर्चिन्थ्यौँ । तलको पानी घरमै आउँछ भनेर कहिल्यै सोचेको थिइनँ तर गाउँपालिकाले त्यसलाई सम्भव गराइदियो ।”
गाउँपालिका र स्थानीयको साझेदारीमा योजना सफलतापूर्वक सम्पन्न भएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विकट, दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर नागरिकको आवश्यकता अनुसारका विकास निर्माण योजना आफ्नो दक्षता, क्षमताले भ्याएसम्म र हामीसँग रहेको स्रोतसाधनले पुगेसम्म गरिरहेका छौँ ।”
खानेपानी उपभोक्ता तथा योजना निर्माण समितिका अध्यक्ष अम्बर विकले ४३ दिनको अवधिमा योजना सम्पन्न भएको र उपभोक्ताले १६÷१६ दिनसम्म श्रमदान गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कुल १४ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् भने गाउँका सबै नागरिकको जीवनस्तरमा प्रत्यक्ष फाइदा पुगेको छ ।