मुगु समाचारदाता
मुगु, असार ५ गते । जिल्ला अस्पताल मुगुमा गत आर्थिक वर्षमा करिब एक हजार चार सय जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आव २०८१÷८२ मा अस्पतालमा दुई हजार ८०५ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पताल शाखा मुगुले जनाएको छ ।
अस्पतालका नर्सिङ प्रमुख मनीषा लामिछानेले जिल्ला अस्पताल मुगुमा १२ हप्तासम्मको गर्भ रहेकामध्ये ४६५ जना महिलाले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन गराएको बताउनुभयो । चिकित्सा पद्धतिमार्फत गर्भपतन गर्ने एक हजार ३७२ जना रहेको जानकारी उहाँले दिनुभयो ।
जिल्ला अस्पताल मुगुको तथ्याङ्क अनुसार छोटो र लामो समयका लागि जिल्लाको छायानाथ रारा नगरपालिकाको स्वास्थ्य चौकीबाट एक हजार ९१५ जना, सोरु गाउँपालिकाबाट २६५ जना, खत्याड गाउँपालिकाबाट ६०५, मुगुमकार्मारोङ गाउँपालिकाबाट ३७७ जना र जिल्ला अस्पतालबाट ६६९ जना महिलाले परिवार नियोजनका साधन प्रयोग गरेका छन् । २१ जनाको गर्भपतनपश्चात् जटिलता आएको नर्सिङ शाखा प्रमुख लामिछानेले बताउनुभयो ।
जिल्लामा सुरक्षित गर्भपतनसम्बन्धी जानकारी पाएर नै अहिले सेवाग्राही सम्बन्धित स्वास्थ्य चौकीबाट उपचार सेवा लिएको तथ्याङ्कले देखाएको छ । अस्पतालमा रहेको मातृशिशु सेवा कक्षले परिवार योजना, खोपलगायत परामर्शको सेवा दिँदै आइरहेको मुगु अस्पतालले जानकारी दिएको छ ।