• ९ मंसिर २०८१, आइतबार

चिसोले जनजीवन कष्टकर (फोटो फिचर)

blog

जाडोमा विद्यालयबाट फर्किरहेका बालबालिका। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस २२ गते। कैलालीमा बढेको अत्यधिक चिसोले गर्दा जनजीवन थप कष्टकर बनेको छ। केही दिनदेखि भइरहेको शीतलहर र चलेको चिसो हावाका कारण चिसो बढ्दै गएको हो। हुस्सु र शीतलहरले तापक्रम घट्दै गएको छ। 

चिसो बढेपछि दैनिकीसमेत प्रभावित हुन थालेको छ। चिसोले गर्दा बालबालिका, ज्येष्ठ नागरिक, मजदुर, निम्नवर्ग र सीमान्तकृत समुदायका व्यक्ति प्रभावित भएका छन्। चिसोले अहिले सबैभन्दा बढी समस्या विद्यार्थीलाई भइरहेको छ। उनीहरु कठ्याङ्ग्रिदै विद्यालय गइरहेका छन्। 

चिसो बढेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा धमाधम जाडो बिदा दिए पनि कैलालीका कुनै पनि स्थानीय तहले बिदा दिएका छैनन्। अहिले सामुदायिकसहित संस्थागत विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ। विद्यालयले निर्धारण गरेको पोशाकमा मात्रै विद्यालय जान र फर्किन विद्यार्थीलाई समस्या भइरहेको छ। 

अत्यधिक चिसो बढेकाले विद्यार्थीलाई परेको समस्यालाई विचार गरेर विद्यालयमा जाडो बिदा दिन आवश्यक रहेको कैलारी गाउँपालिका–९ गदरियाका अनिल चौधरीले बताउनुभयो। धेरैजसो विद्यालयले विद्यार्थीलाई पोशाकभन्दा बाहेकको बाक्लो लुगा नलगाउन उर्दी जारी गरेका छन्। जसको कारण विद्यार्थीलाई समस्या भइरहेको छ। शिक्षक बाक्लो ज्याकेट लगाएर विद्यालय गइरहेका बेला विद्यार्थी भने विद्यालयले अनुमति दिएको पोशाक अन्तर्गतका स्वीटर, ट्रयाकसुट र कोटको भरमा पुसको चिसो छल्न बाध्य छन्। 

विद्यालयको आ–आफ्नै नियम भए पनि यस्तो जाडोको बेला ज्याकेटलगायतका बाक्लो कपडा विद्यार्थीलाई लगाउन दिनुपर्ने अभिभावक ओम जोशी बताउनुहुन्छ। ‘विद्यालयहरुले यति कन्सिडर गरिदिएको भए विद्यार्थीलाई त्यति धेरै समस्या हुने थिएन’, उहाँले भन्नुभयो। 

चिसो बढ्दै गएपछि कैलालीका विद्यालयमा जाडो बिदा दिनुपर्ने आवाज उठ्न थालेको छ। स्थानीय तहले विद्यार्थी, बालबालिकाको मर्कालाई दृष्टिगत गरेर बिदा दिनुपर्ने धेरैको जोड छ। जाडोका कारण विद्यार्थी बिरामी पर्न थालेका छन्। 

जाडो बढेपछि मान्छे जताततै आगो तापेको देखिन्छ। आगो ताप्नका लागि केही स्थानीय तहले दाउरा पनि वितरण गरेका छन्। चोकसहित सार्वजनिक स्थानमा आगो बाल्नका लागि जिल्लास्थित सामुदायिक वन र डिभिजन वन कार्यालयले दाउराको व्यवस्थापन गर्नुपर्ने केही दिन अगाडि बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको थियो। 

जाडोका कारण बालबालिका र ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग बढी प्रभावित हुने गर्दछन्। जाडोले निमोनिया, रुघाखोकीलगायतको स्वास्थ्य समस्या हुने गर्दछ। यसैगरी, बालबालिकालाई रोटा भाइरसको प्रकोप हुने गरेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माको भनाइ छ। उहाँले चिसोबाट जोगिन आवश्यक रहेको औंल्याउनुभयो।