काठमाडौँ, पुस २१ गते । विद्यालयले जाडो महिनाको बिदा दिएसँगै नृत्य प्रशिक्षण केन्द्रमा बालबालिका र युवाको भीड बढेको छ। केही वर्षअघिसम्म सोखका रूपमा हेरिने नृत्य हाल हरेक मानिसका लागि अनिवार्य बन्दै गएको छ। फुर्सदको समयमा केही नयाँ कुरा सिक्ने उद्देश्यले यस्ता केन्द्रमा भीड हुने नृत्य प्रशिक्षकको अनुभव छ। मनोरञ्जनसँगै शारीरिक तन्दुरुस्तीका लागि नृत्य अनिवार्य बनेको नेपा डान्स एकेडेमीका रिना महर्जन बताउनुहुन्छ।
उहाँले बालबालिका बिदाको समयमा केही नयाँ ज्ञान आर्जन गर्न उत्सुक हुने बताउँदै जाडो महिनामा धेरै नै भीड हुने जानकारी दिनुभयो। उहाँ भन्नुहन्छ, “नृत्य प्रशिक्षण केन्द्रले शास्त्रीय, आधुनिक, लोक, साल्सा, बल, हिपअपलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नृत्य सिकाउने गर्छन्। बच्चाहरूको खाली समयका लागि होस् या स्वस्थ रहनका लागि पनि मानिस नृत्य प्रशिक्षण केन्द्र धाउने गरेको महर्जनको अनुभव छ।
नृत्य प्रशिक्षण केन्द्र धाउनेमा कलाकार, मोडल, व्यापारी, गृहिणी र विद्यार्थी सबैभन्दा बढी हुने गरेको महर्जन बताउनहुन्छ। यता नृत्य प्रशिक्षक रुमन जोशी भन्नुहुन्छ, “कडा परिश्रम गर्नु नपर्ने, मोटोपन भएका र मानसिक तनाव भएका मानिस पनि नृत्य सिक्न धाउने गरेको पाइन्छ।” मधुमेह, उच्च रक्तचाप र मानसिक तनाव नियन्त्रणका लागि नृत्य सजिलो र राम्रो उपाय हो भन्नुहुन्छ उहाँ। उहाँले कतिपय मानिस फुर्सदको समय बिताउन पनि नृत्य सिक्न आउने गरेको बताउँदै बालबालिका बिदाको समयमा बढी सिक्न आउने पनि जानकारी दिनुभयो।
जोशी भन्नुहुन्छ, “नृत्यलाई पेसा बनाएर आफ्नो र परिवारको जीविकोपार्जन गर्न सक्ने कारणले पनि यो कलाको विकास भएको हो।” विभिन्न कार्यक्रममा नृत्य गर्न बोलाउने र यसमा भविष्य छ भनेर आकर्षण बढेको पनि उहाँको अनुभव छ। नृत्यको तालिम लिनेमा पाँचदेखि ६० वर्ष उमेरसम्मका मानिस बढी हुने गरेको नृत्य प्रशिक्षकहरू बताउँछन्। नृत्य प्रशिक्षण लिएका हरेक व्यक्तिले समाजमा यसको माध्यमबाट मनोरञ्जन दिन सक्ने क्षमता विकास गर्ने हुँदा सामाजिक पहिचान बनाउनसमेत मद्दत पुग्ने भएकाले पनि विविध प्रकारको नृत्य सिक्ने क्रम बढ्दो छ।