• १३ साउन २०८१, आइतबार

पूर्वी नवलपरासीमा एक वर्षमा २१ करोडको माछा बिक्री

blog

फाइल तस्बिर

मीना कंडेल

कावासोती, पुस २० गते । पूर्वी नवलपरासी माछापालनमा आत्मनिर्भर जिल्लाका रूपमा विकसित हुँदै गइरहेको छ । माछापालन व्यवसाय फस्टाएकै कारण यो वर्ष पूर्वी नवलपरासीका किसानले २१ करोड रुपियाँको बिक्री गरेका छन् । 

नवलपुरका मत्स्य विकास अधिकृत सन्दीप लामिछानेका अनुसार जिल्लामा माछापालन व्यवसायबाट एक हजार पाँचसय किसान लाभान्वित भएका छन् । पूर्वी नवलपरासीमा व्यावसायिक रूपमा माछा पालन गर्ने र यो पेसा अँगाल्ने किसानका लागि यो व्यवसाय भरपर्दो बन्न सफल भएको लामिछानेको भनाइ छ । 

पूर्वी नवलपरासीमा विशेषतः कावासोती, देवचुली र मध्यविन्दुको ११.३ हेक्टर क्षेत्रफलमा व्यावसायिक कृषि उत्पादन केन्द्र माछा ब्लक कार्यक्रम अन्तर्गत नयाँ पोखरी निर्माण गरी माछा पालन गरिएको छ ।

जिल्लाको त्रिवेणी, कावासोती, कुमारबर्ती, अग्र्यौली, कोल्हुवा, रजहर, देबचुली, मध्यविन्दुलगायतका २८ सय ४५ रोपनीमा व्यावसायिक रूपमा माछा पालन गरिँदैआएको छ । 

यहाँका किसानहरूले अहिले यो पेसालाई आम्दानीको मुख्य स्रोत बनाउन सफल हुनुमा आफ्नो पौरख र परिश्रमलाई मुख्य कर्म ठानेको कावासोती १० का माछापालक कृषक शिवराम थारुले बताउनुभयो । जिल्लाको त्रिवेणी, कावासोती, कुमारबर्ती, अग्र्यौली, कोल्हुवा, रजहर, देबचुली, मध्यविन्दुलगायतका २८ सय ४५ रोपनीमा व्यावसायिक रूपमा माछा पालन गरिँदैआएको छ । यसबाट आर्थिक वर्ष २०७८/७९ मा ७२२ मेट्रिक टन उत्पादन बाट एक्काइस करोडभन्दा बढीको माछा विक्री भएको नवलपुरका मत्स्यविकास अधिकृत लामिछानेले जानकारी दिनुभयो ।

तीन वर्ष अघिसम्म माछापालन गर्ने कृषकहरूले माछा बिक्रीका लागि बजारको राम्रो व्यवस्था, प्राविधिक तालिम नहुँदा समस्या भए पनि अहिले सबै पाइएको बताएका छन् । अहिले हरेक दृष्टिले गण्डकी प्रदेशमै अग्रणी जिल्लाका रूपमा रहेको नवलपुरमा कृषकलाई दिने ज्ञान र अनुदानले किसानलाई थप टेवा भएको माछापालक कृषकको भनाइ छ ।

वार्षिक २१ करोडभन्दा बढीको माछा विक्री हुनेगरेको पूर्वी नवलपरासीबाट काठमाडौं, बुटवल, नारायणगढ मुख्यबजार रहेको बताइएको छ । तीन वर्ष अघि सरकारले माछा पालन गरेका कृषकलाई दुई करोड बढी अनुदान समेत उपलब्ध गराएको थियो । अहिले पनि कृषकले ५० प्रतिशत अनुदान पाउन थालेपछि माछामानतर्फ आकर्षित भएका छन् ।