अमेरिकालाई अहिलेको दुनियाँमा धेरैले सपनाको देश मान्छन् । विशेषगरी बेरोजगार युवाका निम्ति अमेरिका सपनाकै देशकै हो । वैध, अवैध तवरले अमेरिका प्रवेशका निम्ति लाखाैँ खर्चेर विकासोन्मुख देशका मानिस अमेरिका पुग्छन् । नेपाल त्यसमा अपवाद छैन । अवैध तवरले मानव तस्कर एजेन्टका चङ्गुलमा फसेर कैयौँ नेपालीले ज्यान गुमाइसकेका छन् र यो क्रम टुङ्गिने कुनै सङ्केत देखिँदैन । अवैध किसिमले मेक्सिको, पनामा इत्यादि मुलुक हुँदै अमेरिका प्रवेश गर्ने सिलसिलामा नेपाली युवाले ती देशका जङ्गललगायतका स्थानमा प्राण त्यागेका समाचार पनि त्यत्तिकै बाहिरिएका छन् । यसै क्रमममा मुलुककै कान्छो जिल्ला रुकुमपश्चिमका युवाको रोजगारीको रोजाइमा अमेरिका पर्न‘ अस्वाभाविक होइन । अवैध तवरले अमेरिका प्रवेशको चाहनामा यसै जिल्लाका कैयौँ युवा पनामाको जङ्गल र समुद्री यात्राका क्रममा दुर्घटनामा परेर मारिएका छन् । कतिपयले मलेरिया रोगबाट ग्रस्त भएर अस्पतालमा उपचार गर्दागर्दै प्राण गुमाउनु परेका दुःखदायी घटना सार्वजनिक भएका छन् ।
अमेरिकी सपनाले धेरैको ज्यान लिएको छ । अमेरिका जसरी भए पनि पुग्ने अभिलाषामा नेपालका ७७ जिल्लाका बासिन्दा लगभग यस्तै किसिमका घटना तथा दुर्घटनाबाट गुज्रिरहनु परेको तितो सत्य हामीसामु छ । यी तथ्यबाट नेपालका प्रत्येक कुनाकाप्चाबाट युवाशक्ति अवैध तरिकाबाटै भए पनि अमेरिका हानिने क्रम वर्तमान प्रवृत्तिका रूपमा स्थापित रहेको देखिन्छ । वैध, अवैध जुनसुकै तवरबाट पनि अमेरिकी भूमिमा प्रवेश पाउनु अधिकांश नेपाली युवाको उद्देश्य रहेको प्रतीत भइरहेको छ र यस सम्बन्धमा कुनै स्थानीय निकायसँग आधिकारिक तथ्याङ्क पनि छैन । सम्भवतः यस्तो तथ्याङ्क राखिनु जरुरी पनि ठानिँदैन । अवैध तवरले अमेरिका प्रवेश जीउ ज्यानका निम्ति मात्र जोखिम नभएर पारिवारिकमा आर्थिक पाटोबाट समेत घातक रहेको छ । अमेरिका प्रवेशका निम्ति एक जनाले पचासौँ लाख रुपियाँ ऋण लिएको भनाइबाट समेत यो तथ्य प्रमाणित हुन्छ । अनेकौँ वैध, अवैध प्रयासपश्चात् अमेरिका प्रवेश पाउनेले नेपालमा लिइएको ऋण फिर्ता गर्न सक्षम होलान् तर बीच बाटोमै मृत्युवरण गर्न पुगेका परिवारले यति ठूलो धनराशिको ऋण कसरी भुक्तान गर्लान् ? सोचनीय पाटो हो । यसको प्रत्यक्ष असर सो परिवारको आर्थिक, सामाजिक पक्षमा पर्ने निश्चित हुन्छ ।
आफ्नो जन्मभूमि, घरपरिवार, समाज छोडेर रोजगारीका निमित विदेशिनु सबैका लागि पक्कै पनि खुसीको विषय होइन । तर मुलुकको आर्थिक अवस्था, रोजगारीको अवसरको कमी, भ्रष्टाचारको अवस्था, नातावाद कृपावाद, राजनीतिक पक्षमा देखिएका कमीकमजोरी जस्ता प्रमुख कारक तत्वले विदेशिनुलाई बाध्यात्मक परिस्थितिका रूपमा खडा गरिदिएको तथ्यलाई बेवास्ता गर्न सकिँदैन । निश्चित रूपमा अमेरिका वा अन्य विदेशी भूमिमा पनि भुँइमा पैसा छरिएको हुँदैन । श्रम, मेहनत तथा योग्यताको महत्वपूर्ण भूमिका हुन्छ । नेपालमा रोजगारीको कमी छ तर रोजगारी सिर्जनाको कैयौँ क्षेत्र विद्यमान छन् । कृषिप्रधान मुलुकले बर्सेनि अर्बौंको धान चामल, फलफूल, तरकारी तथा मासुजन्य पदार्थको आयात गरिरहेको तथ्याङ्क छ । यी यस्ता क्षेत्र हुन्, जसमा सामान्य मेहनत तथा प्रविधिको उपयोग नै पर्याप्त हुन्छ । यी क्षेत्रमा संलग्न हुन नेपालीलाई प्रेरित गर्ने कार्य कतैबाट पनि हुन नसकेको तथ्य निर्विवादपूर्ण हो ।
कृषिका निम्ति किसानलाई कृषि अनुदानका अतिरिक्त आवश्यक पर्ने उन्नत बीउबिजन, मलखाद, सिँचाइ आदिको प्रबन्ध उनीहरूका निम्ति प्रोत्साहनका कदम हुन सक्छन् । तीनै तहका सरकारले आमनेपालीलाई यस्ता क्षेत्रमा संलग्न हुन उपयुक्त नीति तथा कार्यक्रमसहित प्रोत्साहन गरे मुलुकले बर्सेनि गर्न‘पर्ने अर्बौंको आयात प्रतिस्थापन हुने मात्र होइन रोजगारी सिर्जनाका साथै अर्थतन्त्र उँभो लाग्ने तथ्यमा दुईमत छैन । कृषिका साथै उद्योग व्यापार, विकास निर्माणजस्ता अन्य विविध क्षेत्रमा समेत मुलुकमा विभिन्न अवसर विद्यमान छन् र मात्र तिनीहरूका सम्बन्ध अध्ययन, अनुसन्धान तथा विश्लेषणको खाँचो छ । यी प्रयासहरू सफल भएमा अवैध तवरले विदेशिने युवा पलयानलाई रोक्न महत्वपूर्ण कदम हुनेछ । यसका निम्ति सरकारले उपयुक्त नीति तथा कार्यक्रम तर्जुमा गरेर कार्यान्वयन गर्न सक्नुपर्छ । विदेशिन खर्चिनुपर्ने लाखौँको रकमबाट स्वदेशमा नै विदेशमा हुने आम्दानीभन्दा कम हुँदैन भन्ने सन्देश प्रवाहित गर्न पनि त्यत्तिकै जरुरी छ । बाहिर जाने युवालाई रोक्न देशभित्रै अवसर सिर्जना गर्ने नीति र योजना ल्याउनु वाञ्छनीय छ ।