• २० असोज २०८१, आइतबार

क्रिकेटमा देखिएको विवाद छानबिन गर्न गृहमन्त्रीको निर्देशन

blog

काठमाडौं, पुस २० गते । गृहमन्त्री रवि लामिछानेले नेपाल टी–२० क्रिकेट लिगमा देखिएको विवाद छानबिन गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै कीर्तिपुरमा जारी फ्रेन्चाईज लिगमा खेल मिलेमतो लगायत घटना र देखाएको विवाद छानबिनका लागि निर्देशन दिएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी लिगमा स्पट फिक्सिङ भइरहेको, विदेशी खेलाडीलाई श्रम स्वीकृति नलिई खेलाइएको, ब्याटिङ र सट्टेबाजीको घटना भइरहेको सूचना आएपछि गृहमन्त्रीको निजी सचिवालयले क्रिकेटमा देखिएको विवाद छानबिनका लागि निर्देशन दिएको हो ।

मंगलबार राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमका खेलाडीलाई फिक्सिङको प्रस्ताव राखेको खुलासा गर्नुभएको थियो । कीर्तिपुरमा घटिरहेको घटनाप्रति राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले पनि खेल मिलेमतोको घटनाले दुःखी बनाएको भन्दै छानबिन गरी कडा कारबाहीको माग गर्नुभएको छ ।

मंगलबार नै लिगको कमेन्ट्री गरिरहनुभएका सचिन तिम्सिनाले खेल मिलेमतो भएको खुलासा गर्दै आफूले कमेन्ट्रीको काम छाडेको घोषणा गर्नुभएको थियो । क्यानले लिगको आर्थिक साझेदारको रूपमा भारतीय कम्पनी ‘सेभेन थ्रीस्पोर्ट्स’ लाई आठ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको थियो ।

भारतीय कम्पनीलाई प्रतियोगिताको अधिकार दिनासाथ नेपाल टी–२० लिग विवादमा परेको थियो । जस बापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले वार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने सम्झौता भएको छ । तर क्यानले पहिलो वर्ष नै सम्झौता अनुसार पाउनु पर्ने रकम समेत नपाएको बताइएको छ । विवादका कारण पटक पटक सर्दै आएको नेपाल टी–२० लिग जारी रहँदै थप विवादमा परेको हो ।