• २० असोज २०८१, आइतबार

नेपाल टी–२० क्रिकेट : लुम्बिनीको सातौं जित

blog

जनकपुरलाई हराएपछि लुम्बिनीका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस १९ गते । लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा सातौं जित निकालेको छ । प्लेअफमा स्थान बनाइसकेको लुम्बिनीले मङ्गलबार भएको खेलमा जनकपुर रोयल्सलाई पाँच रनले हरायो ।

जितका लागि लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रन बनाउनुभयो । कप्तान ट्राभोन ग्रिफिथ, शरफुदिन असरफ र सन्दिप जोराले समान २६/२६ रन बनाउनुभयो ।

समिउल्लाह शिनवारीले १८ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले दुई दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओधभरमा ६ विकेटको क्षतिमा एक सय ७८ रन बनायो । 

लुम्बिनीका लागि हरमित सिंहले ७३ रन बनाउनुभयो । लाहिरु मिलान्थाले ३३, ह्यारी टेक्टरले अविजित १८, कुशल भुर्तेलले १७ र कप्तान दीपेन्द्रसिंह ऐरीले १४ रन बनाउनुभयो । बलिङमा जनकपुरका सरफुदिन असरफले तीन विकेट लिनुभयो । जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो ।

जितसँगै शीर्षस्थानमा रहेको लुम्बिनीले आठ खेलबाट १४ अङ्क बनाएको छ । पराजित जनकपुर समान खेलबाट १० अङ्क जोड्दै दोस्रो स्थानमा छ । पुस २७ गतेसम्म चल्ने लिगमा ६ टोलीको सहभागिता छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।