• २० असोज २०८१, आइतबार

आगो तापेर जोगिने बाध्यता

blog

दार्चुला समाचारदाता

दार्चुला, पुस १८ गते । हिमाली जिल्ला दार्चुलामा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ। केही दिनयता ह्वात्तै बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्।

चिसोबाट जोगिन दिनभरि आगो तापेर बस्नु परेको अपिहिमालका स्थानीय कलावती रोकायले बताउनुभयो। बिहान बेलुकी दैनिकी काम गर्नसमेत नसकिने अवस्था आएको उहाँको भनाइ छ। 

व्यास, अपिहिमाल, दुहुँ, लेकम, नौगाड, मार्मालगायत सबैजसो स्थानीय तहमा चिसोले जनजीवन प्रभावित भएको छ। विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विभिन्न कार्यालयको सेवा प्रवाहमा समेत समस्या भइरहेको छ। 

अपिहिमाल गाउँपालिकाका कर्मचारीले कार्यालय परिसरमै दाउरा बालेर आगो ताप्दै काम गर्ने गरेका छन्। “राम्रोसँग घाम लागेको छैन,” अपिहिमाल गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख मदनराज जोशीले भन्नुभयो, “चिसोका कारण कोठाभित्र बसेर निरन्तर काम गर्न कठिन हुने भएकाले छिनछिनमा बाहिर निस्केर आगो ताप्ने गरेका छौँ।”

स्थानीयसमेत चिसोबाट जोगिन गाउँतर्फ दाउराको आगो र बजार क्षेत्रमा हिटर बालेर बसिरहेका छन्। दिउँसोको समयमा समेत चिसो हावा चलिरहेकाले घरबाहिर निस्कन समस्या भएको अपिहिमालका अर्का स्थानीय दमन कार्कीले बताउनुभयो।

हिमाली क्षेत्रमा घाम लागेको दिन विद्यार्थीले घाममा बसेर पठनपाठन गर्ने गरेकोमा घाम नलागेको दिन विद्यालयमै आगो बाल्नुपर्ने अवस्था आएको छ। हिमपात हुने क्षेत्रमा हिउँ परेको बेला विद्यालय बिदा हुने गरेका छन्। विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पसले हिउँदे बिदा दिए पनि पठनपाठन प्रभावित हुने भन्दै माध्यमिक तहसम्मका विद्यालय सञ्चालनमै छन्। विद्यालय खुले पनि चिसोका कारण विद्यार्थीको उपस्थिति कम हुने गरेको छ। 

चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ। चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रमा रुघाखोकी, दमलगायत रोगका बिरामीको सङ्ख्या बढेको हो। लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन्। 

बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुन्निने, दुख्नेलगायतका समस्या देखिने जोखिम रहेकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले अनुरोध गर्नुभयो। जाडोले विद्यार्थी, बालबालिका, गरिब, असहाय, मजदुर र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेका छन्।

“बिहान बेलुकीको समयमा धेरै चिसो हुने गरेको छ,” लेकमका स्थानीय केशव जोशीले भन्नुभयो, “हिजोदेखि पारिलो घामसमेत लाग्न छोडेको छ।” बिहानको समयमा सडकमा सवारीसाधनसमेत चल्न निकै गाह्रो हुने गरेको चालकहरू बताउँछन्। 

जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न हुँदा विकासे कामसमेत प्रभावित भएका छन्। घाम लाग्न छाडेको र चिसो ह्वात्तै बढेकाले हिमपातको समेत सम्भावना रहेको हिमाली क्षेत्रका बासिन्दाको भनाइ छ।