• १२ असोज २०८१, शनिबार

ललितपुर महानगरले नगरवासीको स्वास्थ्य बीमा गर्ने

blog

महानगरप्रमुख चिरीबाबु महर्जन

गोरखापत्र अनलाइन  

ललितपुर, पुस १७ गते । ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । 

ललितपुर महानगरले आइतबार आयोजना गरेको ‘स्वास्थ्य बीमा कार्यक्रमको कानूनी प्रावधान एवं वर्तमान अवस्था’ विषय कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरले स्वास्थ्य बीमा कार्यक्रम सक्दो छिटो लागू गर्ने बताउनु भएको छ । 

उहाँले भन्नुभयो, ‘‘छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्छ, कार्यक्रम बनाएर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी यो कार्यक्रम लागू गर्छौं ।’’ ललितपुर महानगरमा  स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न ढिला भए पनि अब दिने सेवा उत्कृष्ट हुने महानगरप्रमुख चिरीबाबु महर्जनको दाबी छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्वास्थ्य बीमा कार्यक्रमबाट ललितपुरबासी छिट्टै लाभान्वित हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हामी यो कार्यक्रम प्रभावकारी र सकेसम्म निर्विवादपूर्ण ढंगबाट संचालन गर्छौं।’’

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दोमादर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमले स्वास्थ्य समस्याको कारणले हुनसक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्ने बताउनु भयो । स्वास्थ्य बीमा गर्दा स्वास्थ्य उपचारका क्रममा हुने खर्चको भार पूर्ण रुपमा परिवार वा व्यक्तिमा नपर्ने बताउनु भयो ।   

स्वास्थ्य बीमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले बिमा कार्यक्रममा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार तीन हजार पाँच सय रकम प्रिमियम स्वरुप रकम बुझाउनुपर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘प्रिमियम बराबरको रकम बुझाएपछि एक लाख बराबरको स्वास्थ्य सेवा लिन पाइन्छ ।’’ परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य सात सयका दरले प्रिमियर तिरेपछि बीमा कार्यक्रममा सहभागी हुन सकिन्छ । 

अति गरीब, एच.आइ.भी. संक्रमित, कुष्ठरोगी,एम.डी.आर.टी.बी.अति असक्त अपागङ्गता भएका परिवारलाई प्रिमियम वापतको शुल्कमा छुटका व्यवस्था गरिएको छ । 

महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई प्रिमियम रकममा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । ७० वर्ष पूरा भएका जेष्ठ नागरिकको हकमा प्रिमियिममा पूरा छुटको व्यवस्था गरिएको छ । साथै जेष्ठ नागरिकले स्वास्थ्य बीमाबाट एक लाखसम्मको उपचार सेवा पाउने व्यवस्था छ । 

स्वास्थ्य बीमा कार्यक्रमबाट ओ.पि.डि सेवा, इमरजेन्सी सेवा, अन्तरंग सेवा अर्थात अस्पताल भर्ना भई लिइने सेवा, यस्तो सेवा लिँदा क्याबिनको सुविधा उपलब्ध हुने छैन । (एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, एम.आर.आई, सिटी स्क्यान, रगतको जाँच, एपेन्डिक्स अपरेसन, पत्थरी अपरेसनको सेवा पाइन्छ । 

त्यसैगरी, एक हजार रुपैयाँ बराबरको चस्मा, श्रवणयन्त्र, सेतो छडी, वैशाखी पनि बीमा गरिएकाले पाउँछन् । यसका साथ एक हजार एक सय ३३ थरीका सूचीकृत औषधि पनि उपलब्ध गराइन्छ । स्वास्थ्य बीमा कार्यक्रम सात सय ५३ वटा स्थानीय तहमध्ये सात सय ४५ मा लागू भइससेको छ ।