• १३ साउन २०८१, आइतबार

अङ्ग्रेजी नयाँ वर्षमा सर्लाहीका पर्यटकीयस्थल भरिभराउ

blog

आइतबार नुनथरमा वनभोज खान आएकाहरुको चहलपहल । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, पुस १७ गते । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन आइतबार सर्लाहीका विभिन्न पर्यटकीय स्थलमा मानिसहरूको भीड लागेको छ ।जिल्लाको बागमतीस्थित निर्माणाधीन ताल, सर्लाही र रौतहटको सीमामा पर्ने नुनथर, चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल, पत्थरकोट, सागरनाथ, कैलाशपुरीसहित जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेको भीड देखिएको हो । नुनथरमा नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरूको समेत घुइँचो छ ।  

नुनथरमा शनिबारदेखि नै मानिसको चहलपहल निकै बढेको बागमतीका स्थानीय भिमशेन थापाले जानकारी दिनुभयो । भारतको बिहारमा मदिरा निषेध गरिएपछि पछिल्ला वर्षमा सीमावर्ती क्षेत्रका भारतीय नागरिक नयाँ वर्ष मनाउन नुनथर आउनेगरेका छन् । 

आइतबार बिहान सदरमुकाम मलङ्गवा नाका भएर ठूलो सङ्ख्यामा भारतीयहरू अङ्ग्रेजी नयाँ वर्ष मनाउन नेपाल भित्रिएका सदरमुकाम मलङ्गवा निवासी नागरिक अगुवा शिवचन्द्र चौधरीले जानकारी दिनुभयो । त्यसरी भारतीयहरू विभिन्न सवारी साधनको प्रयोग गरी यहाँका पर्यटकीयस्थलमा आउँदा भन्सार कार्यालयमा उल्लेख्य राजस्व सङ्कलन हुनुका साथै व्यापार पनि राम्रो भएको नागरिक अगुवा चौधरीले बताउनुभयो । 

पछिल्ला वर्षहरूमा सर्लाहीमा पनि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली नयाँ वर्षझैँ निकै महत्त्व दिएर मनाउन थालिएको छ । त्यस्तै, साथीभाइ, परिवारसहित होटल, रेष्टुरेन्टमा गएर अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरूको सङ्ख्या पनि उल्लेख्य छ ।