• २० असोज २०८१, आइतबार

जिल्लामा करिब २६ हजार निजी धारा निर्माण

blog

नरेन्द्र ढकाल

गोरखा, पुस १७ गते । गण्डकी प्रदेश मातहत जिल्लामा २६ हजार ८८ घरमा खानेपानीका धारा जडान गरिएको छ । ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि जिल्लामा २६ हजार ८८ वटा धारा निर्माण भएका हुन् । 

प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गोरखा र लमजुङ जिल्लामा काम गरिरहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–८० मा ७ हजार निजी धारा निर्माण भइसकेका छन् । यस्तै, आ.व २०७५–७६ मा २ हजार ८ सय ६९, २०७६–७७ मा ९ हजार ४२ घरमा धारा निर्माण सम्पन्न भइसकेको कार्यालयका डिभिजन प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी आर्थिक वर्ष २०७७–७८ मा २ हजार ९ सय ३८ र २०७८–७९ मा ४ हजार २ सय ९९ धारा निर्माण गरिएको उहाँले बताउनुभयो । कार्यालयले गत चार वर्षमा ८३ वटा योजना सम्पन्न गरेको छ  । योजनाको काम स्थानीय उपभोक्ता तथा ठेक्का प्रणाली दुवै तरिकाबाट हुनेगरेको उहाँले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षमा विभिन्न योजनाहरु निर्माणको क्रममा रहेकाले धाराको सङ्ख्या बढ्ने कार्यालयको भनाइ छ । सरकारबाट ठूला प्रकृतिका योजना र स्थानीय तहले साना योजनामार्फत जनताका घर–घरमा पानी लग्ने काम गरिरहेको दाबी गरेका छन् । अब दुई वर्षभित्र जिल्लाका सबै नागरिकलाई स्वच्छ पिउने पानी व्यवस्था गर्ने लक्ष्य राखिएको छ ।