• २० असोज २०८१, आइतबार

ऐतिहासिक ‘गोलकोट’ पुग्ने कलात्मक पदमार्ग निर्माण

blog

कोटघर जाने आकर्षक पदमार्ग । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, पुस १७ गते । बागलुङको गलकोट नगरपालिका –३ स्थित ऐतिहासिक तथा धार्मिक स्थल गोलकोटमा आकर्षक पदमार्ग निर्माण गरिएको छ । गोलकोट जोड्न कोटमैदान आधारभूत विद्यालयदेखि कोट भवनसम्मको करिब डेढ सय मिटर क्षेत्रमा स्थानीय कालो ढुङ्गा प्रयोग गरी पक्की पदमार्ग निर्माण गरिएको हो । 

गलकोट नगरपालिकाको ३८ लाख र गण्डकी प्रदेश सरकारको दश लाख रुपियाँमा पदमार्ग निर्माण गरेको कोटघर पूजा व्यवस्थापन समितिका सचिव गुञ्जबहादुर खत्रीले जानकारी दिनुभयो । पदमार्गमा १४४ सिँढी निर्माण गरिएको छ । 

पदमार्गमा स्थानीय खानीमा पाइने कालो ढुङ्गा मात्रै प्रयोग गरिएको छ । उक्त ढुङ्गा अन्यत्र सहजै पाउन मुस्किल हुने पदमार्ग उपभोक्ता समितिका सचिव सन्तबहादुर खत्रीले बताउनुभयो । गलकोट नगरपालिकाले नगरको गौरवको आयोजना अन्तर्गत अघिल्लो कार्यकालमा रकम विनियोजन गरेको थियो । 

नगरपालिका स्थापना भएको पहिलो वर्षमा नगरले ५० लाख रुपियाँ विनियोजन गरे पनि कोरोना सङ्कटका कारण पूरा काम हुन सकेको थिएन । त्यसबेला आधा सिँढी निर्माण, गोलकोट परिसरमा तारजालीको घेराबन्दी गरिएको थियो । अघिल्लो वर्ष गण्डकी प्रदेश सरकारको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दश लाख रुपियाँ प्रदान गरे पनि पदमार्ग, विश्राम स्थल र घेरबार निर्माणको काम सकिएको हो । 

‘‘पदमार्ग र कोटघर वरपरका संरचनासमेत मल्लकालीन कलाशैली प्रयोग गरेर तयार गरेका छौँ’’ सचिव खत्रीले भन्नुभयो, ‘‘बागलुङमा कालिगड नपाएपछि म्याग्दी र गोरखाबाट ल्याएर ढुङ्गा तयार गरिएको थियो ।’ सिँढीमा माटो प्रयोग गरिएको छैन । बीचबीचमा चपेरा पनि प्रयोग गरिएको छैन । 

कालो रङ्गको कटान गर्न सजिलो भएकाले उपभोक्ताले उक्त ढुङ्गा प्रयोगमा ल्याएका हुन् । पदमार्गमा ढुङ्गाको जडान बिन्दुमा मात्रै बालुवा सिमेन्टको प्रयोग गरिएको छ भने बाँकी सबै संरचना स्थानीय ढुङ्गाको प्रयोगबाट तयार भएका छन् ।

व्यवस्थापन समितिले नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ६० किलोको खुकुरी खरिद गरेर कोटघरमा राखेको छ । वडा कार्यालय र नगरपालिकाको पहलमा प्रदेश सरकारले अपुग रकम विनियोजन गरेपछि पदमार्गले पूर्णता पाएको उपभोक्ता समितिका सचिव खत्रीको भनाइ छ ।

‘मल्लकालीन इतिहास बोकेको कोट घरमा पर्यटक भित्र्याउने हाम्रो लक्ष्य’ वडाध्यक्ष फमबहादुर खत्रीले भन्नुभयो– “कोटघरको मौलिकता नमासिने गरी आकर्षक बनाउँछौँ । कोटघर जीर्ण भएको हुँदा पुनः निर्माण गर्ने उहाँको भनाइ छ । दशैं र चैते दशैंमा लाग्ने मेलामा सर्वसाधारणको भीड लाग्ने गरेको भए पनि पदमार्ग नहुँदा जोखिम थियो’’ खत्रीले भन्नुभयो, ‘‘पौराणिक महत्त्व झल्किने गरी कोटघरलाई तयार गर्दा पर्यटक आउँछन् र यहाँको विकास हुन्छ ।’’ 

‘‘कोटमा बलीपूजाका लागि राँगा, बोका लैजानसमेत कठिन भिरालो जमिन थियो, अहिले सजिलो भएको छ’’ वडा सदस्य तुलसी परियारले भन्नुभयो, ‘‘अब कोटघरको प्रचारको खाँचो छ ।’’ बाइसे चौबिसे राजाका पाला गलकोट राज्यको प्रारम्भ यही कोटबाट भएको इतिहास छ । लामो समय यही कोटमा बसेर राज्य गरेका राजा महाराजापछि गलकोट दरबारमा सरेका थिए । शक्तिपिठको रूपमा गलकोट, ताराखोला क्षेत्रका सर्वसाधारणले यहाँ बर्षेनी पूजाआजा गर्दैआएका छन् ।